काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः आमरण अनसन (सत्याग्रह) बस्ने चेतावनी दिएका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले आफ्ना तीनबुँदे मागहरू आगामी साउन ५ गतेभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउने घोषणा गरेका हुन् ।
डा केसीले यसअघि असार २५ गतेसम्म चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त नगरे अनसन बस्ने चेतावनी दिएका थिए । सरकारले असार २४ गते आयोगमा उपाध्यक्ष नियुक्त गरेपछि डा केसीले अनसनको कार्यक्रम स्थगन गरेका थिए ।
डा. केसीले शुक्रबार पुनः विगतमा विषयहरू सम्झाउँदै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक र सार्वजनिक सेवाका क्षेत्र हुनुपर्नेमा वर्तमान सरकारले निजी मेडिकल माफिया र स्वार्थ समूहको प्रभावमा परेर निर्णयहरू गरिरहेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा डा. केसीले अमेरिका जस्ता विकसित पुँजीवादी मुलुकहरूमा समेत स्वास्थ्य र चिकित्सा शिक्षा व्यापारिक स्वार्थभन्दा माथि उठेर सरकारी वा गैरनाफामूलक गुठी मातहत सञ्चालन हुने गरेको स्मरण गराएका छन् ।
तर, नेपालमा न्यूनतम मापदण्ड समेत नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको सङ्ख्या अत्यधिक रहेको र सरकारको नीति निर्धारण तथा पदपूर्तिमा समेत मेडिकल माफियाका प्रतिनिधिहरूको प्रत्यक्ष प्रभुत्व देखिएको उनको दाबी छ ।
नियमनकारी निकाय र विश्वविद्यालयहरूमा स्वार्थ समूहका व्यक्तिहरूलाई नियुक्त गर्दा समग्र स्वास्थ्य प्रणालीमा दूरगामी नकारात्मक प्रभाव पर्ने डा.केसीले उल्लेख गरेका छन् ।
यस्तो छ उनको विज्ञप्ती :
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक र सार्वजनिक सेवाका क्षेत्र हुन्। अमेरिका लगायतका विकसित पूँजीवादी मुलुकहरूमा समेत व्यापारिक स्वार्थले सेवाको गुणस्तरमा ह्रास आउने भएकाले यी क्षेत्रहरू अधिकतर सरकारी स्वामित्व वा गैरनाफामूलक गुठी मातहत सञ्चालित हुन्छन्। नेपालको सन्दर्भमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने मार्गचित्र तय गरेको छ। तर, दुर्भाग्यपूर्ण कुरा के छ भने यसको कार्यान्वयनका लागि वर्तमान सरकार र सरोकारवाला निकायहरूबाट कुनै ठोस गृहकार्य वा चासो देखाइएको छैन। विडम्बनापूर्ण कुरा के छ भने मुलुकमा सरकारीभन्दा न्यूनतम मापदण्ड समेत नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको संख्या धेरै बेसी छ। वर्तमान सरकारको चिकित्सा शिक्षा र स्वास्थ्य नीति निर्धारण, कार्यान्वयन तथा सार्वजनिक संस्थानहरूको पदपूर्तिमा समेत निजी मेडिकल माफिया र तिनका प्रतिनिधिहरूको प्रत्यक्ष प्रभुत्व स्पष्ट देखिन्छ। हाम्रो बारम्बारको चेतावनी र अनुरोधका बाबजुद, सरकारले स्थापित नियम र मूल्य-मान्यता विपरीत निजी शिक्षण संस्थाहरूमा आवद्ध स्वार्थ समूह (Conflicting Interest) का व्यक्तिहरूलाई चिकित्सा शिक्षा सम्बन्धी नियामक निकाय तथा विश्वविद्यालयमा (मेडिकल विश्वविद्यालयलगायत) नियुक्त गर्ने क्रम जारी राखेको छ। यसले मुलुकको चिकित्सा शिक्षा र समग्र स्वास्थ्य प्रणालीमा पार्ने दूरगामी नकारात्मक प्रभावको कल्पना समेत गर्न सकिँदैन। हाम्रा मागहरू: १. स्थापित नियम, मूल्य र मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षाका नियमनकारी निकायमा नियुक्त गरिएका पदाधिकारीहरूको नियुक्ति तुरुन्त खारेज गरियोस्। २. चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार विना नै निजी कलेजहरूलाई पुनः सिट वृद्धि गर्ने प्रस्तावहरू तत्काल खारेज गरियोस्। ३. चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामुलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्।
चेतावनी: हाम्रा यी जायज मागहरूलाई २०८३ साउन ५ सम्म सम्बोधन नगरिएमा विगतमा स्थगित गरिएको सत्याग्रह लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउन बाध्य हुनेछौँ। त्यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुने कुरा यसै प्रेस विज्ञप्ति मार्फत स्पष्ट पार्दछु। प्रा.डा.गोविन्द केसी काठमाडौं, साउन १, २०८३।












प्रतिक्रिया