काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड दिएका छन् ।
भोटेकोशीमा आएको महाविपद्को सन्दर्भमा बढ्दो जलवायु संकटबारे राजधानीमा आयोजित उच्चस्तरीय नीति संवादका वक्ताहरुले शोध र अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने समेत बताए ।
काठमाडौंको दरबारमार्गमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको नीति संवादलाई सम्बोधन गर्दै एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष एवम् नेपाल विश्वविद्यालयका उपकुलपति विन्दुनाथ लोहनीले हिमाली भेगमा उत्पन्न विपद्का घटना हिमाली भेगमै मात्र सीमित नहुने बताए ।
त्यसैले यस्ता विपदको जोखिम न्यूनीकरणका लागि नेपालले पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यको पहल गर्नुपर्ने उल्लेख गरे ।
जलवायु संकटको मुद्दामा दक्षिणी प्रशान्त क्षेत्रमा अवस्थित मुलुकहरु एकजुट रहेको उल्लेख गर्दै उनले नेपालले पनि क्षेत्रीय मुलुकहरुसँग सहकार्य बढाउनुपर्ने सुझाव दिए ।
हिमालमा २ अर्बभन्दा धेरै मानिसहरु निर्भर रहेको जानकारी दिँदै हिमाली वातावरणमा भइरहने परिवर्तनबारे नियमित अध्ययन र अनुसन्धान हुनुपनेमा जोड दिए ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक राम मनोहर श्रेष्ठले भोटेकोशीको विपद्बाट पाठ सिक्दै विपद् प्रतिकार्यको तरिकामा पुनर्विचार गर्नुपर्ने उल्लेख गरे । भोटेकोशी विपदका कारण मानवीय र आर्थिक मात्रै नभइ सांस्कृतिक हिसाबमा समेत हानि पुगेको उनको भनाइ छ ।
उनले हानि नोक्सानी कोषबाट प्राप्त हुने भनिएको क्षतिपूर्तिबाट भोटेकोशीमा आएको विपद्मा परी घाइते र अङ्गभङ्ग भएकाले समेत सहयोग पाउनुपर्ने जनाए । उनले भविष्यमा पूर्वाधारको विकास गर्दा यो विपद्बाट पाठ सिक्नुपर्ने बताए ।
प्राध्यापक श्रेष्ठले जलवायु न्यायका नाममा छिमेकी र तेस्रो मुलुकलाई नबिच्काई अन्तर्राष्ट्रिय सद्भावका आधारमा यसबारे कुरा राख्नुपर्ने धारणा राखे ।

त्यस्तै, कार्यक्रमका अर्का वक्ता इन्स्टिच्युट फर सोसल एण्ड इन्भारोन्मेन्टल ट्रान्जिसन–नेपालका कार्यकारी निर्देशक कञ्चनमणि दीक्षितले विपद् जोखिम न्यूनीकरणका कार्यमा युवाहरुलाई संलग्न गराउनु आवश्यक रहेको बताए ।
कुनै पनि विपद्को घटना जलवायु परिवर्तनकै कारण भएको पुष्टि गर्न कठिन हुने भएकाले शोध अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने उनले जाेड दिए । यसका लागि विश्वविद्यालय र थिंकट्याङकलाई सबल बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा युवा वातावरणविद् सन्ध्या ढुंगानाले जलवायु परिवर्तनबारे शोध अनुसन्धानका लागि शोधकर्ताहरुमा लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै आईएसएसआरकी सदस्य हरिमाया दाहालले विपद आएपछि व्यवस्थापन गर्ने भन्दा पनि विपद् आउनै नदिने उपाय अवलम्बन गर्नुपर्ने बताइन् ।

वातावरण मन्त्रालयका पूर्वसचिव प्रेम कँडेलले सहजीकरण गरेको कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानमा विपद अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीले कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रमको समापन सत्रमा मन्तव्य राख्दै आईएसएसआरका अध्यक्ष शंकरदास वैरागीले हानि नोक्सानी कोषबाट भोटेकोशी विपदको क्षतिपूर्ति प्राप्त गर्नका लागि मानवीय, आर्थिक, पूर्वाधार र सांस्कृतिक क्षतिको समग्र हिसाब खोजिनुपर्ने र त्यसका लागि गम्भीर अनुसन्धान आवश्यक रहेको बताए ।

उनले कोषबाट क्षतिपूर्ति प्राप्त गर्नका लागि नेपालका तर्फबाट वार्ता गर्ने क्षमता पनि अभिवृद्धि गर्नुपर्ने खाँचो औँल्याए । यसका लागि तथ्यमा आधारित शोध हुनुपर्ने उनको भनाइ छ ।
उनले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले विपद्का घटनालाई भूराजनीति भन्दापनि मानवीय सुरक्षाका हिसाबले हेर्नुपर्ने बताए ।





















प्रतिक्रिया