‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’ « Khabarhub

अन्तर्वार्ता

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

‘दुईजनाको कुरा भए मिल्छ, पार्टी विभाजन हुँदैन’


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्। उनी कांग्रेसभित्र देखिएको पछिल्लो विवाद समाधानका लागि दुवै पक्षले तोकेको महाधिवेशन स्थगित गरेर संवादमा बस्नुपर्ने बताउँछन्।

लेखकले पूर्वसभापति देउवा पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन्। सभापति गगन थापा पक्षले भोलिका लागि तय गरेको महाधिवेशन स्थगित गरेर संवादमा आए पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सकिने देउवाको धारणा रहेको उनले बताए।

‘देउवा दाइको चाहना गगनजीहरूले भोलिको महाधिवेशन रोकेर संवादमा आइदिए हुन्थ्यो भन्ने छ। शेरबहादुर दाइ पटक्कै पार्टी विभाजनको पक्षमा हुनुहुन्न। संवाद गरेर पार्टीलाई एक बनाएर जान पाए हुन्थ्यो भनेर उहाँ गम्भीर चिन्तन गरिरहनुभएको छ,’ लेखकले भने।

देउवा समूहका धेरै नेताहरू अहिले गगन थापा पक्षमा जोडिए पनि देउवासहित लेखक, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, डा. शशांक कोइराला, दीपक खड्का, कान्छाराम तामाङ, मोहनबहादुर बस्नेत र सीता गुरुङलगायत नेताहरू देउवाको साथमा छन्।

पूर्वगृहमन्त्री लेखकले गगन थापा पक्षले तोकेको महाधिवेशन र देउवा पक्षले तोकेको महाधिवेशन दुवै स्थगित गरेर संवाद र छलफलमा बस्नुपर्नेमा जोड दिएका छन्। गगन थापा संवादमा आए पार्टी एकता कायम गर्न सकिने उनको भनाइ छ। त्यसका लागि नेतृत्वमा रहेका गगन थापाले बढी लचकता देखाउनुपर्ने उनको सुझाव छ।

कांग्रेसको पछिल्लो अवस्थाबारे लेखकसँग खबरहबका लागि ज्ञानु घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरू छुट्टाछुट्टै जाने हुनुभयो कि केही नयाँ कुरा विकास भएको छ ?

अहिलेसम्म केही विकास भएको जानकारी छैन। सभापतिज्यूले पनि त्यस्तो केही कुरा गर्नुभएको छैन। गगनजीहरू पनि संवाद गर्न तयार हुनुहुन्न।

उसो भए तपाईंहरू छुट्टै महाधिवेशन गर्ने हो ?

होइन, उहाँहरूले भोलिको महाधिवेशन स्थगित गरेर छलफल गर्नुभयो र सकारात्मक कुरा गर्नुभयो भने ठीकै छ। नत्र हामीले तयारी गरिराखेकै छौँ। उहाँहरूले भोलि महाधिवेशन गर्नुभयो भने मिल्न गाह्रो हुन्छ, मिलिँदैन। अन्यायपूर्ण अवस्थामा त शीर्ष नेता र सभापति जानुहुन्न नि।

त्यसो भए आज कुरा मिले पनि तपाईंहरू भोलिको महाधिवेशनमा सहभागी नहुने ?

उहाँहरू तयारै हुनुहुन्न। तयार नभएपछि कसरी कुरा मिल्छ ? कुरा मिल्नका लागि छलफल हुनुपर्‍यो, संवाद हुनुपर्‍यो। उहाँहरूले भोलिको महाधिवेशन रोकेर संवाद गरेर कांग्रेस एक बनाउन लाग्नुभयो भने कुरा मिल्छ। कुरा मिल्नका लागि त छलफल गर्नुपर्‍यो नि।

अहिलेसम्म सभापति थापाले पूर्वसभापति देउवालाई भेट्ने कुनै सेड्युल बनेको छैन ?

छैन। मलाई जानकारीमा छैन। सभापतिज्यूलाई सोध्दा पनि त्यस्तो केही कुरा आएको भन्नुभएको छैन। गगनजीहरू एकलौटी जान खोजिरहनुभएको छ। उहाँहरू संवाद, वार्ता र सहकार्य गर्ने पक्षमा देखिनुहुन्न।

तपाईं त निरन्तर सम्पर्कमा हुनुहुन्छ। खासगरी पूर्वसभापति शेरबहादुर देउवा चाहिँ के भन्नुहुन्छ ?

देउवा दाइको चाहना गगनजीहरूले भोलिको महाधिवेशन रोकेर संवादमा आइदिए हुन्थ्यो भन्ने छ। दाइ पार्टी विभाजनको पक्षमा पटक्कै हुनुहुन्न। संवाद गरेर पार्टीलाई एक बनाएर जान पाए हुन्थ्यो भनेर उहाँ गम्भीर चिन्तन गरिरहनुभएको छ। दाइको ठूलो चाहना नै गगनजीहरू संवादमा आइदिनुहोस् भन्ने छ।

धेरैजना साथीहरू त गगन थापालाई नै साथ दिन पुग्नुभयो नि ?

उहाँहरू के भनेर जानुभयो, त्यो उहाँहरूको कुरा भयो। तर शीर्ष नेता लगायतका व्यक्तिलाई पाखा लगाएर गरिएको महाधिवेशनको औचित्य हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारण अझै पनि मेरो सुझाव के छ भने छलफल र संवाद गरौँ। भोलिको महाधिवेशन रोकेर गगनजीले संवाद सुरु गर्नुहोस्।

संवाद भयो भने एकता हुन्छ ?

संवाद भयो भने मज्जाले एकता हुन्छ। संवाद गर्नका लागि मैले भनिरहेको छु, दुवै पक्षले आआफ्ना महाधिवेशन स्थगित गरेर संवाद गर्नुहोस्, छलफल गर्नुहोस्।

गगनजीहरूले भोलिको महाधिवेशन स्थगित गर्नुहोस्। यतापट्टिबाट पनि तोकिएको महाधिवेशन स्थगित होस्। दुवै स्थगित भएपछि बीचमा बसेर छलफल, संवाद र विमर्श गरौँ। किनभने कांग्रेस भनेको संवाद, विमर्श, छलफल र विधिमा चलेको पार्टी हो।

आआफ्नो महाधिवेशन स्थगित गरौँ, बसेर छलफल गरौँ, कुरा मिल्ने सम्भावना रहन्छ भनेर मैले शेरबहादुर देउवा दाइलाई पनि भनेको छु। गगनजीहरूलाई पनि मेरो सुझाव त्यही छ।

उसो भए भोलिको अधिवेशन स्थगित गरेर गगन थापा संवादमा आउनुभयो भने मिल्न सक्छ ?

मिल्ने पूरा सम्भावना हुन्छ। त्यसका लागि उहाँ तयार हुनुपर्‍यो। हामी तयारीमै छौँ। तर उहाँले बढी इच्छा जाहेर गर्नुपर्छ, किनभने उहाँ नेतृत्वमा हुनुहुन्छ।

शेरबहादुर दाइ पनि गगनजीहरूले भोलिको महाधिवेशन स्थगित गरेर संवादमा आउनुभयो भने मिलनबिन्दु आउँछ भन्ने पक्षमा हुनुहुन्छ। मेरो आग्रह के छ भने गगनजीहरूले देउवा दाइसँग एकपटक संवाद गरून्। पार्टी एक बनाउन साँच्चिकै उहाँहरू चाहनुहुन्छ भने एकपटक उहाँले संवाद गर्नैपर्छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ११ : ३६ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष