काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू भर्खरै सन्चो भएको बताउँदै सांसदहरूलाई आफ्नो अनुभव सुनाएका छन् ।
चुनावको धपेडीका कारण पानी पिउनसमेत नभएको र पिसाब फेर्न जानसमेत नपाएको उल्लेख गर्दै लामिछानेले सांसदहरूलाई आफ्नो अनुभव सुनाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने प्रशिक्षणको समापनमा बोल्दै लामिछानेले सुरुमै सांसदहरूलाई यसबारे जानकारी गराए ।
‘आज म यहाँहरूलाई तीता र मिठा अनुभव सुनाउन गइरहेको छु। लुकाउनुपर्ने कुरा केही छैन । पारदर्शी राजनीति नै मूल कडी हो । सँधै तितो कुरा गर्न पनि सकिँदैन, सँधै मीठा कुरा गर्न पनि सकिँदैन। आज म तीता र मीठा कुरा गर्न गइरहेको छु’, उनले भने
लामिछानेले अगाडि भने, ‘प्रशस्त पानी पिउनुहोला र काहीँ जाँदा पिसाब नरोक्नुहोला। मचाहिँ न्यूरो इन्फेक्सनबाट ग्रसित भए भर्खरै । पानी कम पिउने चुनावी दौडमा ट्वाइलेट जानुपर्ला भनेर रोक्ने कुराले गर्दा मलाई अलि बढी नै स्वास्थ्यमा समस्या भयो। अहिले म त्यसबाट बाहिर निक्लिने क्रममा छु। तपाईँहरूको खटाई अनुहारले देखाएको छ तर तपाईंहरूको अनुहार जहिले यस्तै हुनुपर्छ ।’
उनले सधैँ भिजेको, असिनपसिन भएको र जनतासँग सधैँ गाँसिएको अनुहार आफूले सांसदहरूको देख्न चाहेको उल्लेख गरे।
करिब ३२ मिनेटको भाषणमा रविले सांसदहरूलाई कुनै हिसाबले पार्टीमा आँच आउने काम नगर्न र अरू लक्षित टिप्पणी नगर्नसमेत आग्रह गरेका छन्।













प्रतिक्रिया