गोप्य मतदानमै घात गर्ने कार्यकर्ता किन चाहियो ? « Khabarhub

गोप्य मतदानमै घात गर्ने कार्यकर्ता किन चाहियो ?



नेपाली राजनीतिको इतिहासले समय–समयमा दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ । जब जनताले पुरानो शैली, पुराना सोच र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्छन्, तब दलहरूले आफ्नो नीति, नेतृत्व र संगठनलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखिन्छ ।

गत भदौ २३ र २४ को जेञ्जी आन्दोलनपछि देशको राजनीतिक परिस्थितिले समाएको बाटोले नेपाली कांग्रेसभित्र पनि नयाँ नीति र नेतृत्वको आवश्यकता औँल्यायो। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन मागेर बसेको ठूलो युवा तप्काले पनि लगत्तै परिस्थितिको गम्भीरता बुझेर विशेष महाधिवेशन मार्फत नीति र नेतृत्व परिवर्तन गर्‍यो।

यसले कांग्रेसको समयअनुसार आत्म समीक्षा गर्न सक्ने एउटा महत्त्वपूर्ण विशेषता आम कार्यकर्ता र जनताले देख्न र बुझ्न पाए । अहिले पनि त्यही ऐतिहासिक चेतना आवश्यक छ । वर्तमान नेतृत्वका सबै धारहरू, चाहे देउवा पक्ष होस् वा शेखर पक्ष, सबैले संगठनको वास्तविक अवस्थालाई इमानदारीपूर्वक बुझ्नुपर्ने बेला आएको छ ।

नीति र नेतृत्व त परिवर्तन भयो तर त्यसले परिपक्वता देखाउन नपाउँदा आएको फाल्गुन २१ को चुनावी परिणामले अर्को गम्भीर प्रश्न उठाएको छ ।

नेपाली कांग्रेससँग ठूलो संख्यामा क्रियाशील सदस्य हुँदाहुँदै निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘रुख’ ले अपेक्षाकृत कम मत किन प्राप्त गर्‍यो ? कैयौँ स्थानमा क्रियाशील सदस्य संख्या भन्दा कम मत किन आयो ?

यसले विभिन्न गम्भीर संकेत गरेको छ । कतिपय क्रियाशील सदस्यले पार्टीलाई मत नै दिएनन् । केही सदस्य निष्क्रिय बसेका छन् । निर्वाचनमा कुनै प्रचार प्रसार वा पार्टीलाई विजयी बनाउने कुनै काम नै गरेनन् । केही सदस्य त केवल कागजी रूपमा मात्र छन् भने केही दोहोरो वा विवादित सदस्य रहेका हुन सक्छन् । पार्टी परित्याग गरी अन्य दलमा सक्रिय भइसकेकाहरू समेत अझै कांग्रेसको क्रियाशीलको सूचीमा हुन सक्छन् । मतदान गोप्य हुन्छ, तर राजनीतिक सन्देश स्पष्ट हुन्छ ।

कसले रुखमा मत दियो र कसले अन्तै दियो भन्ने कुरा गोप्य मतदानका कारण औपचारिक रूपमा पहिचान गर्न सकिँदैन । तर समग्र परिणामले संगठनको स्वास्थ्यबारे स्पष्ट संकेत गरेको छ । कागजमा सदस्य धेरै हुनु मात्र पर्याप्त हुँदैन । वास्तविक रूपमा पार्टी प्रति प्रतिबद्ध, सक्रिय र वैचारिक रूपमा निष्ठावान सदस्य आवश्यक हुन्छन् ।

१५औँ महाधिवेशनको तयारीसँगै सदस्यता नवीकरणको प्रक्रिया धेरै हदसम्म अगाडि बढिसकेको अवस्थामा पनि चुनावी परिणामले संगठनको आधार माथि प्रश्न उठाइसकेपछि त्यसलाई सम्बोधन गर्न आवश्यक पर्छ । त्यसैले सदस्यताको पुनः परीक्षण, वास्तविक सक्रिय सदस्यको पहिचान, निष्क्रिय सदस्यको छानबिन,अन्य दलमा गएकाहरूको नाम हटाउने, केवल आन्तरिक अधिवेशन प्रभावित गर्न बनाइएका सदस्यता खारेज गर्ने जस्ता कदम अत्यावश्यक देखिएको हो ।

‘जरा अभियान’ को सार संगठनको जरो बलियो बनाउनु हो। यसको उद्देश्य कसैलाई अनावश्यक रूपमा निशाना बनाउनु भने होइन । यसले त पार्टीलाई शुद्ध बनाउन मद्दत गर्छ । सदस्यतालाई विश्वसनीय बनाउछ अनि आन्तरिक लोकतन्त्रलाई सुदृढ पनि गर्छ ।

अब हुने महाधिवेशन हामीले चाहेको जस्तो एकताको महाधिवेशन हुने कुरामा कुनै सन्देह छैन । हामी पूर्वाग्रह रहित भएर यसलाई निष्पक्ष र प्रतिनिधिमूलक बनाउन आजैदेखि लाग्नु आवश्यक छ । यदि कुनै सदस्यले लगातार पार्टी विरुद्ध काम गरिरहेको छ, अर्को दलमा सक्रिय छ वा केवल अवसरका लागि नाम राखेको छ भने त्यस्ता सदस्यलाई पुनर्मूल्यांकन गर्नु स्वाभाविक संगठनात्मक प्रक्रिया हो ।

संगठनको बल सदस्यताको कागजी संख्याले मात्र निर्धारण हुँदैन। वास्तविक शक्ति समर्पित, वैचारिक रूपमा स्पष्ट र सक्रिय सदस्यबाट आउँछ । ‘थोरै होस्, तर असली र खाँटी होस्’ भन्ने दृष्टिकोणले संगठनलाई विश्वसनीय बनाउँदै नेतृत्व चयन प्रक्रियालाई स्वच्छ बनाउँछ । जनतासँगको सम्बन्धलाई मजबुत बनाउँछ ।

यदि हाम्रो उद्देश्य पार्टीलाई बलियो बनाउने, सदस्यता शुद्धिकरण र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने हो भने यस्तो अभियानको विरोध गर्नुको सट्टा सबै पक्षले यसलाई सहयोग गर्नु उपयुक्त हुन्छ । संगठन शुद्धीकरण कुनै गुट विशेषको स्वार्थ होइन । यो पार्टीको दीर्घकालीन हितसँग सम्बन्धित विषय हो ।

फागुन २१ को निर्वाचनको परिणामले नेपाली कांग्रेसलाई एउटा स्पष्ट सन्देश दिएको छ । कागजी सदस्यता भन्दा वास्तविक निष्ठा महत्त्वपूर्ण छ । १५ औँ
महाधिवेशन अघि सदस्यता अद्यावधिक र छानबिन गर्नु समयको माग हो ।

जो पार्टीसँग छन्, तिनलाई सम्मानपूर्वक संगठित गरौँ । जो पार्टीबाट अलग भइसकेका छन्, तिनको स्थिति स्पष्ट गरौँ र जो केवल आन्तरिक समीकरणका लागि जोडिएका छन्, तिनबारे निष्पक्ष निर्णय गरौँ।

(लेखक कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । )


 

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १० : २० बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले