मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति « Khabarhub

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समितिमार्फत समुदायमा सचेतना जगाउन थालिएको छ । 

यहाँस्थित धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो । 

८ नं वडामा रहेका १७ वटा टोल विकास संस्थामा १७ वटा स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन् । 

साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडाअध्यक्षको नेतृत्वमा वडास्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो । 

सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बच्ने उपायबारे जानकारी दिने गरेका छन् । 

जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण मानिसमा देखापर्ने स्वास्थ्य समस्याबारे समुदायलाई सचेत गराउन थालिएको स्वास्थ्य चौकीले जनाएको छ । 

त्यसपछि वडा स्तरीय समितिमा तीन/तीन महिनामा सरोकार समितिका स्वास्थ्यसम्बन्धी भएका काम र समस्याबारे छलफल गर्ने गरिएको छ । 

स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य चौकीले दिएका १४ बुँदा सरसफाइ, खानपान, दैनिक जीवनशैली, स्वस्थकर व्यवहार आदिबारे स्वास्थ्य सरोकार समितिमा छलफल हुने गरेको स्वास्थ्य सरोकार समितिका अध्यक्ष मालती साउँदले बताए । 

‘हरेक महिना टोल विकास संस्थाको बैठकमा स्वास्थ्यका फरक फरक विषयमा छलफल गर्छौं, विशेषगरी सरसफाइलाई प्राथमिकता दिएका छौँ’, उनले भनिन्, ‘शुद्ध खानेपानी, सफा शौचालय, हरेक घरमा करेसाबारी लगाउने, बिरामी भएपछि लिइने उपचार सेवा, लागूऔषध, बालविवाहका विषयमा पनि छलफल गर्ने गरेका छौँ ।’

सरोकार समितिमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरिएको छ । समितिलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिनेछ । ‘विगत पाँच वर्षदेखि वडा कार्यालयको सहयोगमा यो कार्यक्रम सञ्चालनमा छ’, धनसिँहपुर स्वास्थ्य चौकीका इञ्चार्ज यमबहादुर शाहले भने, ‘चार वर्ष नागरिकलाई सचेत गराउने, स्वस्थ रहने उपायबारे जानकारी दिने र जनचेतना जगाउने काम गरिएको छ ।’

यस वर्षबाट सरोकार समितिलाई स्वास्थ्य सचेतनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने तयारी रहेको उनले जानकारी दिए । उच्च रक्तचाप जाँच गर्ने मेसिन, तौल लिने मेसिनलगायत प्राथमिक उपचार सामग्री उपलब्ध गराइने शाहले बताए । 

‘यसका साथै स्वास्थ्यसम्बन्धी समस्या समाधान र सचेतनाका लागि १७ वटा टोल विकास संस्थाको मेसेन्जर ग्रुप बनाइएको छ’, इञ्चार्ज शाहले भने, ‘गुप्रमा स्वास्थ्यसम्बन्धी र सरसफाइसम्बन्धी जिज्ञासा र सल्लाह दिने गरिन्छ ।’

वडाध्यक्ष दीर्घबहादुर ठकुलाले वडा नम्बर ८ विकट र सीमासँग जोडिएको पालिका भएकाले पनि नागरिकलाई रोग लागेर उपचार गर्नुभन्दा, रोग लाग्न नदिनका लागि सचेत गराउन निरन्तर  कार्यक्रम गरिरहेको बताए ।

‘टीकापुर अस्पतालबाट टाढा रहेकाले विशेषगरी यहाँका नागरिकलाई विशेषज्ञ सेवा लिन दूरीका हिसाबले टाढा छ’, उनी भन्छन्, ‘नसर्ने रोगको जोखिमबाट बचाउन सचेत गराउने गरिएको छ । पाँच वर्षको अवस्था विश्लेषण गर्दा यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वस्थ मानिसले श्रम गर्न सक्ने भएकाले निरोगी बनाउन लगानी गरिरहेका छौँ ।’

ठकुल्लाका अनुसार चालु आर्थिक वर्षदेखि नागरिकलाई विशेषज्ञ सेवा दिन ‘स्मार्ट हेल्थ’ कार्यक्रम सुरु गरिएको छ । 

‘कार्यक्रममा भिडियो कलमा विशेषज्ञ चिकित्सकलाई जोडेर स्वास्थ्य सेवा दिइन्छ’, उनले भने, ‘समुदायमा स्वास्थ्य समस्या र निदानबारे छलफल गर्दा विभिन्न मौसममा देखिने स्वास्थ्य समस्याहरू पहिचानमा सहज भएको छ । समयमै उपचार पाउँदा रोग फैलनबाट जोगिने भएकाले यो कार्यक्रमलाई निरन्तरता दिने योजना छ ।’ रासस

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : ०४ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण