काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ । इबोलाका कारण कङ्गोमा छोटो समयमै झण्डै ९० जनाको मृत्यु भएपछि विश्वभर सतर्कता अपनाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म यस भाइरसका कारण ८८ जनाको मृत्यु भइसकेको छ भने अरु ३३६ जनामा संक्रमणको शंका गरिएको छ ।
डब्लूएचओले यो भाइरस अझ विस्तार हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्ला केही वर्षयता रोजगार, भ्रमण वा अन्य कारणले अफ्रिकी देशहरूमा नेपालीहरूको बढ्दो आवतजावत हुने गरेकाले नेपालमा पनि इबोलाको जोखिममा रहेको बताइन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार इबोला भाइरस पहिलो पटक असीको दशकतिर पुष्टि भएको थियो । त्यसयता कङ्गो, सुडान र युगान्डाजस्ता अफ्रिकी देशहरूमा यो भाइरस बेलाबेलामा ’आउटब्रेक’ (प्रकोप) को रूपमा देखिँदै आएको छ । हाल कङ्गोमा देखिएको यो भाइरस छिमेकी मुलुक युगान्डाको सिमानासम्म फैलिसकेको छ ।
चमेरो र बाँदरजस्ता जनावरहरूबाट मानिसमा सर्ने प्रकृतिको यो एउटा ’जुनोटिक’ रोग हो । विगतमा इबोलाको मृत्युदर ९० प्रतिशतसम्म पुगेको डा. पुनले बताए । पछिल्लो समय कङ्गोमा देखिएको इबोला बुन्डिबुगियो प्रजातिको भाइरस हो ।
‘यसअघिका जायर र सुडान प्रजातिका इबोला भाइरस बढी घातक थिए । हाल प्रकोपका रुपमा देखा परेको प्रजातिको इबोला भाइरसको मृत्युदर करिब ४० प्रतिशतको हाराहारीमा छ, जुन आफैँमा निकै उच्च हो,’ डा. पुनले भने ।
यसअघि व्यापक रूपमा नदेखिएको यो प्रजाति अहिले किन यति तीव्र गतिमा फैलिरहेको छ भन्ने विषय अनुसन्धानकै क्रममा रहेको उनले जानकारी दिए । जायर इबोलाविरुद्ध खोप उपलब्ध भए पनि हाल फैलिरहेको प्रजातिविरुद्ध कुनै खोप वा औषधि उपलब्ध नरहेको डा. पुनले बताए ।
लक्षण र सर्ने तरिका
इबोला भाइरस संक्रमित व्यक्तिको शरीरबाट निस्कने र्याल, पसिना, बान्ता, दिसा–पिसाब वा रगत जस्ता तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सजिलै सर्दछ । संक्रमितको स्राव लागेको ठाउँमा स्वस्थ व्यक्तिको काटिएको वा फुटेको छाला, नाक, मुख वा आँखा परेमा यो सर्ने जोखिम उच्च रहने डा. पुनले जानकारी दिए ।
डा. पुनका अनुसार यसका प्रारम्भिक लक्षणहरू नेपालमा सामान्य रूपमा देखिने टाइफाइड, मलेरिया र डेङ्गुसँग मिल्दाजुल्दा हुने भएकाले पहिचान गर्न सहज छैन ।
एकाएक उच्च ज्वरो आउनु, जिउ र मांसपेशीहरू कडा रूपमा दुख्नु, वान्ता हुनु र कमजोरी महसुस हुनु, छालामा हल्का रातो बिमिराहरू देखिनु, स्नायु प्रणाली कमजोर हुनु, रोग बढ्दै जाँदा आन्तरिक र बाह्य रक्तश्राव हुनु पनि यसका लक्षण रहेका डा. पुनले बताए ।
नेपालमा जोखिम न्युन, तर शून्य होइन
नेपालमा इबोलाको वर्तमान जोखिमलाई डा. पुनले ’न्यून’ श्रेणीमा राखेका छन् । यद्यपि जोखिम नै नभएको वा कहिल्यै नआउने भन्ने नहुने उनको तर्क छ ।
मङ्कीपक्सको उदाहरण दिँदै उनले भने ‘मङ्कीपक्स पनि अफ्रिकाको एउटा क्षेत्रमा सीमित थियो, तर पछि युरोप हुँदै नेपालसम्म आइपुग्यो । त्यसैले आयातित केसका रूपमा इबोला नेपाल नआउला भन्न सकिन्न । हामीले बेलैमा सावधानी र पूर्वतयारी अपनाउनुपर्छ ।’
विगतमा इबोला फैलिँदा नेपालमा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा ’हेल्थ डेस्क’ स्थापना गरेर तयारी गरे पनि स्वास्थ्यकर्मीहरूमा एक प्रकारको मनोवैज्ञानिक त्रास र आत्मविश्वासको कमी देखिएको उनले स्मरण गरे ।
‘अफ्रिकाबाट आएका कसैलाई ज्वरो आउँदा स्वास्थ्यकर्मीहरू नै नजिक जान डराउने अवस्था थियो । त्यसैले यस पटक सरकारले स्वास्थ्यकर्मीहरूलाई उचित तालिम र आत्मबल बढाउने कार्यमा जोड दिनुपर्छ,’ उनले भने । छिमेकी मुलुक भारतमा संक्रमण देखिएमा नेपाल झन् उच्च जोखिममा पर्ने उनको भनाइ छ ।
के छ सरकारको तयारी ?
विमानस्थलमा हेल्थ डेस्कहरू सक्रिय बनाइएको समाचार आएको भन्दै डा. पुनले यसलाई सकारात्मक कदम मानेका छन् ।
सरकारले इबोला प्रभावित देशबाट आउने यात्रीहरूका लागि स्पष्ट मापदण्ड र जनचेतनाका कार्यक्रमहरू छिट्टै ल्याउनेमा उनले विश्वास व्यक्त गरेका छन् ।
प्रभावित क्षेत्रबाट आउने व्यक्तिहरूलाई ज्वरो वा जिउ दुख्ने समस्या देखिएमा तुरुन्तै ’सेल्फ क्वारेन्टाइन’ मा बस्न र स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनको सुझाव छ ।
सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मीहरू नै रहने हुँदा अस्पतालहरूमा संक्रमण नियन्त्रणका उपायहरू कडा रूपमा पालना गरिनुपर्ने उनले बताए ।














प्रतिक्रिया