झारफुकमा अल्झिँदा ज्यान जोखिममा : सर्पदंशमा उपचार ढिलाइ अझै चुनौती « Khabarhub

झारफुकमा अल्झिँदा ज्यान जोखिममा : सर्पदंशमा उपचार ढिलाइ अझै चुनौती

सर्पदंशको उपचारमा एन्टिभेनम मात्र पर्याप्त हुँदैन, ग्रामीण अस्पतालमा विशेषज्ञ जनशक्ति र आईसीयू अभाव


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न थालेका छन् । विशेषगरी तराई र भित्री मधेसका जिल्लामा हरेक वर्ष सयौँ मानिस सर्पदंशको सिकार बन्छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ वैशाख १ गतेदेखि असार २ गतेसम्म अर्थात् २ महिनामा १३ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा सर्पदंशबाट २४७ जना घाइते भएका छन् । विशेषगरी तराईका २६ जिल्ला र भित्री मधेसका केही क्षेत्रमा वर्षको करिब छ महिना सर्पदंशको उच्च जोखिम रहने विज्ञ बताउँछन् ।

स्वास्थ्यकर्मीका अनुसार सर्पको विषभन्दा पनि समयमै उपचार नपाउनु, झारफुकमा अल्झिनु र आवश्यक श्वासप्रश्वास व्यवस्थापन नहुनुका कारण धेरै बिरामीले ज्यान गुमाउने गरेका छन् ।

कोहोलपुर मेडिकल कलेजमा कार्यरत एनेस्थेसियोलोजिस्ट डा. दीपेन्द्र महासेठका अनुसार नेपालमा सर्पदंश अझै पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । विशेषगरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायत जिल्लामा वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

डा. महाँसेठका अनुसार सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले टोकेको अवस्थामा समयमै उपचार नपाए गम्भीर अवस्था सिर्जना हुन सक्छ । “धेरै मानिसलाई सर्पले टोकेपछि सबैभन्दा ठूलो जोखिम सर्पको विष मात्र होइन, अस्पताल पुग्न ढिलाइ हुनु हो,” उनले भने ।

उनका अनुसार नेपालमा करेत र गोमनजस्ता न्युरोटक्सिक सर्पका कारण हुने सर्पदंश बढी चुनौतीपूर्ण मानिन्छ । यस्ता सर्पको विषले स्नायु प्रणालीमा असर गर्ने भएकाले बिरामीमा सुरुमा आँखा खुला राख्न कठिन हुने, बोली अस्पष्ट हुने, निल्न समस्या हुने तथा क्रमशः हातखुट्टा चलाउन नसक्ने अवस्था देखापर्न सक्छ ।

“विषको प्रभाव बढ्दै जाँदा बिरामीको श्वासप्रश्वास सञ्चालन गर्ने मांसपेशीले काम गर्न छाड्छ । यही कारणले सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ,” डा. महासेठ भन्छन् ।

उनका अनुसार कतिपय सर्पको विषले मुटु र रक्तसञ्चार प्रणालीमा पनि असर पार्छ । रक्तचाप घट्ने, अत्यधिक रक्तस्राव हुने, बेहोस हुने तथा गम्भीर अवस्थामा हृदयघातसम्म हुनसक्ने जोखिम रहन्छ । केही सर्पले टोकेको ठाउँमा अत्यधिक सुन्निने, घाउ बिग्रिने तथा शरीरका तन्तु नष्ट हुने समस्या पनि देखिने गरेको छ ।

एन्टिभेनम मात्र पर्याप्त हुँदैन

सर्पदंशको उपचारका विषयमा समाजमा धेरै भ्रम रहेको बताउँदै डा. महासेठले भने, “धेरैले एन्टिभेनम पाएपछि उपचार सकियो भन्ने ठान्छन् । तर वास्तविकता त्यस्तो होइन ।”

उनका अनुसार विषालु सर्पले टोकेका बिरामीका लागि एन्टिभेनम अत्यन्त आवश्यक औषधि भए पनि त्यो मात्रै पर्याप्त हुँदैन । विषले श्वासप्रश्वास प्रणालीमा असर गरिसकेको अवस्थामा बिरामीलाई अक्सिजन, भेन्टिलेटर, आईसीयू सेवा तथा निरन्तर निगरानीको आवश्यकता पर्न सक्छ ।

विशेषगरी न्युरोटक्सिक सर्पले टोकेको अवस्थामा बिरामीलाई २४ घण्टादेखि ७२ घण्टासम्म भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्छ । समयमै यस्तो सुविधा उपलब्ध भयो भने गम्भीर बिरामी पनि पूर्ण रूपमा निको हुन सक्ने उनले बताए ।

डा. महासेठका अनुसार ग्रामीण तथा दुर्गम अस्पतालहरूमा एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयर विशेषज्ञ र भेन्टिलेटर व्यवस्थापन गर्न सक्ने जनशक्तिको अभाव अहिले पनि ठूलो समस्या बनेको छ । कतिपय स्थानमा एन्टिभेनम भए पनि जटिल बिरामीको श्वासप्रश्वास व्यवस्थापन गर्न नसक्दा रेफर गर्नुपर्ने अवस्था आउने गरेको छ ।

झारफुकमै विश्वास गर्नु मृत्युको कारण

सर्पदंश व्यवस्थापनमा सबैभन्दा ठूलो चुनौती अझै पनि झारफुक र अन्धविश्वास रहेको डा. महासेठ बताउँछन् ।

उनका अनुसार तराईका धेरै ग्रामीण क्षेत्रमा सर्पले टोकेपछि बिरामीलाई अस्पताल लैजानुभन्दा पहिले धामीझाँक्री वा झारफुक गर्ने व्यक्तिकहाँ लैजाने चलन अझै कायम छ ।

“विषालु सर्पले टोकेको अवस्थामा सुरुका केही घण्टा अत्यन्त महत्त्वपूर्ण हुन्छन् । यही समयमा अस्पताल पुग्नुपर्ने बिरामी झारफुकमा अल्झिएर समय गुमाउँछन्,” उनले भने ।

उनका अनुसार अस्पताल पुग्न जति ढिलाइ भयो, जटिलता बढ्ने सम्भावना त्यति नै बढ्छ । त्यसैले सर्पदंशको शङ्का लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा पुग्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

फाइल फोटो

डा. महासेठका अनुसार सर्पले टोकेको सबै बिरामीलाई एन्टिभेनम दिनु आवश्यक हुँदैन । सर्प विषालु हो वा होइन भन्ने कुरा बिरामीको लक्षण, परीक्षण र चिकित्सकीय मूल्याङ्कनका आधारमा तय गरिन्छ ।

“पानी सर्पजस्ता अविषालु सर्पले टोकेको अवस्थामा बिरामीलाई निगरानीमा राखेर उपचार गरिन्छ । विषको प्रभाव नदेखिएसम्म एन्टिभेनम दिइँदैन,” उनले बताए ।

उनका अनुसार कतिपय अवस्थामा मानिस डरका कारण पनि आफूलाई विषालु सर्पले टोकेको ठान्छन् । त्यसैले चिकित्सकीय मूल्याङ्कन बिना एन्टिभेनम प्रयोग गरिँदैन ।

सर्पले टोकेपछि के गर्ने ?

डा. महासेठका अनुसार सर्पले टोकेपछि सबैभन्दा पहिले बिरामीलाई शान्त राख्नुपर्छ । आत्तिँदा विष शरीरभर छिटो फैलिन सक्छ ।

टोकेको अङ्गलाई स्थिर राख्ने, बिरामीलाई कम हिँडाउनु र सकेसम्म चाँडो अस्पताल पुर्‍याउनु आवश्यक हुन्छ । घाउ चुस्ने, चक्कुले काट्ने, जडीबुटी लगाउने, आगोले पोल्ने वा अत्यधिक कस्सिएर बाँध्ने कार्य भने गर्न नहुने उनको सुझाव छ ।

यीमध्ये कुनै पनि उपाय वैज्ञानिक रूपमा प्रभावकारी छैनन् । बरु यस्ता कार्यले थप जटिलता निम्त्याउन सक्ने उनको भनाइ छ ।

रोकथाम तथा बच्ने उपाय

डा. महासेठका अनुसार सर्पदंश रोकथाम उपचारभन्दा सजिलो र प्रभावकारी उपाय हो ।

घरवरपरका झाडी सफा राख्ने, राति टर्च प्रयोग गर्ने, भुइँमा नसुत्ने, खेतबारीमा जाँदा जुत्ता र लामो कपडा लगाउने तथा घरमा सर्प पस्न सक्ने प्वाल बन्द गर्नेजस्ता उपायले जोखिम कम गर्न सकिन्छ ।

उनले सर्प देखिएमा आफैँ समात्ने वा मार्ने प्रयास नगरी सम्बन्धित उद्धारकर्तालाई खबर गर्न पनि आग्रह गरे । डा. महासेठका अनुसार नेपालमा सर्पदंशबाट हुने अधिकांश मृत्यु रोक्न सकिन्छ ।

त्यसका लागि समुदायमा जनचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा उपचार सेवाको विस्तार, एन्टिभेनमको पर्याप्त उपलब्धता तथा श्वासप्रश्वास व्यवस्थापनका लागि आवश्यक पूर्वाधार सुदृढ बनाउनुपर्ने आवश्यकता छ ।

“सर्पले टोकेको शङ्का लाग्नेबित्तिकै झारफुक होइन, अस्पताल पुग्नुपर्छ । समयमै उपचार पाए अधिकांश बिरामीलाई पूर्ण रूपमा बचाउन सकिन्छ,” उनले भने ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १ : ०० बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि