काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा ‘जान्नेलाई छान्ने’ नारा दिएको थियो । नाराको मर्म युवा उमेरमै राम्रो पहिचान बनाएका, उच्च शैक्षिक योग्यता भएका र नैतिक रूपमा इमानदार व्यक्ति उम्मेदवार हुने थियो । तर २०८१ असोजमा त्यो नारा परिवर्तन भएर आयो– अब जान्ने बनौँ ।
पहिलो नारा सफल भएपछि सभापति लामिछानेले लिडरसिप एकेडेमीको अवधारणालाई साकार पार्न दोस्रो नारा ल्याएको बताएका थिए । दाबी गरिएअनुसार लिडरसिप एकेडेमी पढ्नेभन्दा सिक्ने र त्यसभन्दा बढी गलत सिकाइ बिर्सने ठाउँ हो । जहाँबाट प्रशिक्षित भएर योग्य उम्मेदवार मतदाताबीच जानेछन् ।
तर रास्वपा नेताहरुको हर्कत र अभिव्यक्ति अराजक देखिन्छ । देशद्रोही अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री नै आलोचित छन् । मन्त्रीले ठेकेदारको खुट्टा भाँच्ने भनेका छन् । कसैले पार्टीका वरिष्ठ नेताहरुलाई भगवानसँग तुलना गरेका छन् । त्यसैगरी, कसैले संसदमा विषयवस्तु नै नबुझी नियमापत्ति जनाएका छन् ।
नेताहरुमध्ये उच्छृङ्खल र भड्काउ अभिव्यक्तिमा पार्टीका सभापति लामिछाने नै अघि छन् । राजनीतिमा प्रवेश गर्नुअघि टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने उनी वाक्पटुतामा माहिर नै मानिन्छन् । एउटा टेलिभिजन कार्यक्रममा उनले नेताहरुलाई टुँडिखेलमा लगेर नाकको डाँडी भाँच्ने गरी हान्नुपर्ने बताउँथे । राजनीतिमा आएपछि पनि उनले पुराना दलका नेता र मिडियामाथि प्रहार गर्न छाडेनन् । मिडियालाई १२ भाइको ट्याग लगाउने उनै हुन् ।
दुई-दुई पटक गृहमन्त्री तथा उपप्रधानमन्त्री बन्दै गर्दा उनी पछिल्लो समय चाहिँ परिपक्क बन्दै गएको देखिन्छ । तर, पार्टीमा चाहिँ ‘अब जान्ने बनौँ’ भन्ने नाराले भने कत्ति काम गरेको देखिएको छैन । खबरहबले केही रास्वपा नेताहरुको अभिव्यक्ति प्रस्तुत गरेको छ ।
नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको छ– प्रधानमन्त्री वालेन्द्र शाह
संसद्मा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत र चीनले नेपाललाई बेवास्ता गरी व्यापारिक गतिविधि गरेको जानकारी गराएकी थिइन् । त्यसैको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘लिम्पियाधुरा र लिपुलेकको बारेमा बुझ्न लागेजस्तो लाग्यो । नेपाल सरकारले अफिसियल रुपमा डिप्लोमेटिक नोट भारतलाई पठाइसकेको छ । त्यसको जवाफ पनि आएको छ ।’

‘जवाफमा दुइटै सरकारले आफ्नो इतिहासविद्, सर्वेयर, भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरु राखेर टेबल टकमार्फत समाधान गर्ने कुरा भएको छ । यससम्बन्धी भारत र चीनलाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग कुरा गरेका छौ । ब्रिटिस इण्डियाले छोड्दै गर्दाको समस्याले अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इङ्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ उनले भनेका थिए ।
तर प्रधानमन्त्रीले अन्तिममा भारतले मात्रै नभएर नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको अभिव्यक्ति दिए । प्रधानमन्त्रीको भनाइलाई लिए चौतर्फी आलोचना हुन थालेको छ । उनले देशद्रोही अभिव्यक्ति दिएको भन्दै उक्त भनाइ रेकर्डबाट हटाउन प्रतिपक्षले माग समेत गरिरहेको छ ।
ठेकेदारको खुट्टा भाँचिदिनु– पूर्वाधारमन्त्री सुनिल लम्साल
असार १ गते पूर्वाधार विकासमन्त्री लम्साल पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सडकखण्ड अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा उनले ठेकेदारको खुट्टा भाँच्ने आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।
सडक निर्माणको जिम्मा पाएका प्रतिनिधि र आयोजनाका अधिकारीहरूले नेपाल विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीका कारण पोल सार्न ढिलाइ भएको र काम गर्न गाह्रो भएको गुनासो गरेपछि मन्त्री आक्रामक बनेका थिए ।

मन्त्रीले भनेका थिए, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, त्यसलाई पनि यहीं राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’ बिजुलीका पोल सार्न प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ ।
मन्त्रीले उक्त अभिव्यक्ति दिएकै दिन प्रधानमन्त्रीले लम्साल र गृहमन्त्री सुधन गुरुङलाई दायाँ–बायाँ राखेर फेसबुकमा देश बनाउने टोली भन्दै फोटो पोस्ट गरेका थिए ।
वीपी र मदन जस्तै डा. स्वर्णिम– रहबर अन्सारी
नेकपा माओवादीबाट रास्वपा प्रवेश गरी सांसद बनेका रहबर अन्सारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मौलिक तरिकाले देशको समस्या समाधानमा लागेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘महान् दिवगंत नेता वीपी कोइराला र मदन भण्डारी जिवित नेता पुष्पकमल दाहाललाई सम्झन चाहन्छु । र चौथो प्याराडाइम सिफ्ट सोच ल्याइरहनुभएको छ । सोचिरहनुभएको छ र गरिरहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ । धेरैलाई प्याराडाइम सिफ्टको बारेमा थोरै बुझ्नुभएको होकि । बुझ्न नखोज्नुभएको होकि ? बुझ पचाउन खोज्नुभएको हो ? अमेरिकन दार्शनिक थोमस कुनले लेखेको ‘दि स्ट्रचर अफ साइन्टिफिक रेभुलेसन’ पुस्तकमा यो शब्दको प्रयोग भएको छ । यसको अर्थ समस्यालाई हेर्ने दृष्टिकोण, तरिका र समाधान गर्ने मौलिक प्रतिबद्धता हो ।’
बालेन्द्र, रवि र स्वर्णिम भगवानको भूमिकामा– सुलभ खरेल
रास्वपाकै सांसद सुलभ खरेलले प्रधानमन्त्री बालेन्द्र, पार्टी सभापति रवि र अर्थमन्त्री स्वर्णिमलाई भगवानसँगै तुलना गरिदिए ।

ससंद्को रोस्टममा उभिएर उनले भनेका छन्, ‘महाभारतको रणभूमिमा तीन पात्रहरुको व्यापक चर्चा हुन्छ । अर्जुन, श्रीकृष्ण र विदुर । प्रधानमन्त्री बालेन्द्र शाह अर्जुनको भूमिकामा हुनुहुन्छ । लक्ष्यमा केन्द्रित हुनुहुन्छ । युद्ध भूमिमा रहेका लडाकु र कार्यान्वयनकर्ताको रुपमा उहाँ हुनुहन्छ । श्रीकृष्णको भूमिकामा श्रद्धय पार्टी सभापति रवि लामिछाने ज्यू हुनुहुन्छ । विशेषगरी विदुरको भूमिकामा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले हुनुहुन्छ । सत्य बोल्ने व्यक्ति, अर्थ, शासन, नैतिकता, दिर्घकालिन हितको विषयमा राज्य सञ्चालन गर्ने व्यक्तिको रुपमा पाइएको छ ।’
खरेल रुपन्देही–२ का सांसद् हुन् ।
सम्मान पुगेन– विश्वराज पोखरेल
ओखलढुङ्गाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेलले गृहजिल्लाको खिजिदेम्बास्थित चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई आफूलाई ‘सम्मान’ नगरेको भन्दै हप्काएको भिडियो भाइरल भएको थियो ।

उनले शिक्षकलाई भनेका थिए, ‘म २० औँ श्रेणीको रिटायर्ड कर्मचारी हुँ । २९ वर्ष देशलाई सेवा गरेको व्यक्ति हुँ । आज पनि पचास हजार पेन्सन खान्छु । तपाईं पनि कर्मचारी । भोलि तपाई रिटायर्ड हुनुहुन्न ? जिल्लाको माननीय आउदाँ हेडमास्टर चुप लागेर बस्ने ? तपाइले भोट हालेपनि, नहालेपनि पाँच वर्षको लागि ओखलढुङ्गाको माननीय हुँ । प्रहरीमा माथिल्लो श्रेणीमा जागिर खाएर त्यहाँ अन्यायमा परेपछि राजनीतिमा आएको हुँ । मसँगै जागिर खाएका साथीहरु बल्ल सचिव हुँदैछन् । तर म उहिले माथिल्लो तहमा पुगेर काम गरेको प्रहरी कर्मचारी हुँ । माननीय आउदाँ चुप लागेर बस्ने ?’
प्रहरीलाई घिसार्छु– खगेन्द्र सुनार
रास्वपा सांसद खगेन्द्र सुनारले सिन्धुलीमाढी पुगेर सार्वजनिक रूपमा एसपीलाई घिसारेर काठमाडौँ लैजाने अभिव्यक्ति दिएका थिए । जबर्जस्ती करणी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु भएपछि आक्रोशित हुँदै उनले यस्तो अभिव्यक्ति दिएका थिए ।

श्रीकृष्णको घटनाबारे बुझ्न सिन्धुली पुगेका सुनार र रास्वपाका अन्य सांसद दिउँसो १ बजे खुर्कोट प्रहरी कार्यालयमा प्रवेश गरेका थिए । कार्यालयमा रहेका प्रहरीलाई ‘घिसार्छु’, ‘जागिर खाइदिन्छु’ भन्दै असभ्य भाषामा गालीगलौज गरे । खगेन्द्र सुनारको उक्त अभिव्यक्तिमा अन्य सांसदहरूले समेत समर्थन जनाइरहेका थिए ।
बेचेको प्रमाण खोज्दै– आशिका तामाङ
जेठ २ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद यशोदाकुमारी बरालले आफ्नो भेगतिर बजेट कम छुट्टिएकोमा गुनासो पोखिन् । ‘सुदूरपश्चिम,कर्णाली र मधेशलाई ठुलठूला नारा बेचेर तपाईंहरु त्यताको प्रतिनिधित्व गर्नुहुन्छ । उल्टै ३५ वर्ष पुरानाले के गरे भन्नुहुन्छ ? भनेर प्रश्न गरिन् ।
तर उनले बोलिरहेकै बेला बीचैमा उठेर रास्वपा सांसद् आशिका तामाङले आपत्ति जनाउदै सभामुखसँग बोल्ने समय मागिन् । र भनिन्, ‘उहाँले बेचेको भन्नुभएको छ । कहाँ बेचेको हो ? त्यो प्रमाण देखाउनुपर्यो । कसले बेच्यो ? कुन सरकारले बेच्यो ?यो सरकारले बेचेको तपाईंसँग प्रमाण छ ? के बेचेर भन्नुभएको तपाईंले ?’

बरालले नारा बेचेको भन्ने कुरा गरेकी थिइन् । तर तामाङले छेउटुप्पो कुरा नबुझी नियमापत्ति जनाइन् । चिठ्ठामा नेता बनेको भनेर उनको सञ्जालमा आलोचना भइरहेको छ ।
राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता महादिप पोखरेलले प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको धेरै जग्गा मिचेको छ भनेर रास्ट्रवादी मुहार लुकाएको बताएका छन् । उनले भनेका छन्, ‘यो स्विकारोक्तिले भारतसँगको सीमा विवादमा नेपालको दाबीलाई कमजोर बनाउछ । सेना र प्रहरीले भन्दा निसशस्त्र जनताले बहादुरीका साथ सीमाको सुरक्षा गरेका छन् ।’
त्यसैगरी, प्रधानमन्त्रीले सीमा विवाददेखि सुकुम्वासी व्यवस्थापन, सडक व्यापारी तथा निम्न वर्गको हितमा काम नगर्न नसकेको आरोप लगाएका छन् । मन्त्रीले ठेकेदारहरुको खुट्टा भाँच्ने, प्रहरीलाई घिसार्ने जस्ता तल्लो तहको टिप्पणीले पदको गरिमा राख्न नसकेको पोखरेलको भनाँइ छ । ‘सरकार, कानुनी कारबाही लामो र झ्याउ भएकोले सडकबाटै फरमान जारी गरेका छन् । यस्तै तौरतरिका अपनाउदै जाने हो भने ठाउँको ठाउँ इन्काउण्टर भन्ने पनि आउला,’ उनले भने ।












प्रतिक्रिया