काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ स्मृति दिवसलाई यस वर्ष जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभियानका रूपमा मनाउने भएको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी ६ साउनमा जलवायु परिवर्तनका असर, चुनौती र समाधानबारे जनस्तरमा सन्देश प्रवाह गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ।
प्रतिष्ठानका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित ललितपुरमा ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिनेछ। बिहान ६ बजे यूएन पार्कबाट सुरु हुने दौड जावलाखेलसम्म पुग्नेछ।
दौडपछि जावलाखेल चोकमा जलवायु परिवर्तनका चुनौती र त्यसको समाधानका उपायबारे विज्ञसहितको छलफल आयोजना गरिनेछ। ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी’ विषयमा हुने प्यानल छलफलमा वातावरण र जलवायु क्षेत्रका जानकारहरूले विचार राख्ने बताइएको छ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन छलफलसँगै स्थलमै लाइभ पेन्टिङ कार्यक्रमसमेत आयोजना गरिने भएको छ। चित्रकारहरूले जलवायु परिवर्तनका असर, वातावरण संरक्षण र भविष्यका सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्नेछन्।
कांग्रेसले राजनीतिक स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी पछिल्लो समय विश्वव्यापी चासोको विषय बनेको जलवायु संकटबारे नागरिक सचेतना फैलाउने माध्यमका रूपमा प्रयोग गर्न लागेको जनाएको छ।












प्रतिक्रिया