काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ। सडक विभाग र जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा भएको कार्यक्रममा सर्वसाधारणको सहभागिता रहेको थियो।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले सुरुङमार्गका विषयमा सर्वसाधारणलाई जानकारी गराउने र यसको उपयोग तथा महत्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको बताए।
नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत निर्माण भएको मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ। सुरुआती ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीय अवरोधका कारण निर्माण कार्य प्रभावित भएको थियो।
आयोजना निर्देशक नेपालले नागढुङ्गा सुरुङमार्ग आगामी साउनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सुरुङमार्ग सञ्चालन भएपछि काठमाडौँ प्रवेश र बाहिरिने नागढुङ्गा–नौबिसे सडकखण्डको यातायात व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।
आयोजना कार्यालयका अनुसार हाल नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रे सवारीसाधनबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।
तर, सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको आयोजना कार्यालयले जनाएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डको यात्रा समय घट्नुका साथै यातायात आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया