रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब « Khabarhub

रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

सांसदहरूले पनि कार्यशैली सच्याउनुपर्ने आवाज


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसद र मन्त्रीहरूले एकअर्काका काम र कमजोरीबारे छलफल गरेका छन् ।

बैठकमा उपस्थित सांसदहरूले मन्त्रीहरूको काम र कार्यशैलीबारे प्रश्न उठाए। मन्त्रीहरूले पालैपालो त्यसको जवाफ दिए। विवादित र‘स्टन्टबाजी’ गर्ने मन्त्रीहरूबारे समेत सांसदहरूले राखेका छन्।

रास्वपा दलका उपनेता गणेश पराजुलीका अनुसार सांसदहरूको संसदीय मर्यादा तथा मन्त्रीहरूको काम र कार्यशैलीका विषयमा बैठकमा अन्तरक्रिया भएको छ। सांसद र मन्त्रीबीच सहकार्य र समन्वयमा समस्या देखिएपछि सभापति लामिछानेले बैठक बोलाएका थिए।

बैठकमा सरकारका तर्फबाट अधिकांश मन्त्रीहरू उपस्थित थिए। तर दलका नेता बालेन शाह भने संसद्मा जस्तै गयल भए । त्यस्तै पिशावमा संक्रमण भएर बिरामी भनिएका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल पनि सहभागी भएनन् ।

प्रधानमन्त्री शाह सिंहदरबारमै अत्यावश्यक काम भएकाले बैठकमा उपस्थित नभएका बताइएको छ। यसअघि पनि पार्टी तथा संसदीय दलका बैठकमा प्रधानमन्त्री शाह उपस्थित नहुने गरेका थिए। शिक्षामन्त्री पोखरेल किन गएनन् कारण खुलेको छैन।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल सहभागी थिए।

त्यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव तथा कृषि तथा वन तथा पर्यावरणमन्त्री गित चौधरी पनि बैठकमा सहभागी थिए।

काम गर्न नसक्ने मन्त्रीले राजीनामा दिन माग

बैठकमा काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर्नुपर्ने आवाज सांसदहरूले उठाएका थिए। विगतको तुलनामा ग्यासको आपूर्ति बढे पनि बजारमा अझै अभाव देखिएकोमा सांसदहरूले सम्बन्धित मन्त्री र कर्मचारीको ध्यानाकर्षण गराए ।

मन्त्रीले काम गर्न नसकेको भए मार्ग प्रशस्त गर्नुपर्ने भन्दै ग्यासको अभाव तथा कालोबजारीका विषयमा सांसदहरूले सरकारलाई घेर्ने कोसिस गरे ।

बैठकमा सांसदहरूले भने, ‘विगतमा भन्दा धेरै ग्यास आइरहेको छ तर त्यो ग्यास कहाँ गइरहेको छ भन्ने विषयमा अनुगमनमा खासै गम्भीरता र चासो देखिएन। एउटै मान्छेले दुई–तीनवटा ग्यास लगेर स्टक गरिरहेको छ। यसको अध्ययन र अनुगमन कसले र कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ।’

उनीहरूले थप भनेका थिए, ‘मन्त्रीहरूले काम गर्दै छु भनेर मात्र हुँदैन, पारदर्शी र न्यायोचित ढङ्गबाट हुनुपर्छ। जनताले हाम्रो काम हेरिरहेका छन् तर देखिएन। काम गर्न सकिएन भने सकिनँ भनौँ, अरू सक्षम मान्छे जानुहुन्छ।’

आफ्नै अधिकार क्षेत्रमा ध्यान दिन सुझाव

बैठकमा मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रभित्र अब्बल काम गर्न पनि सांसदहरूले सुझाव दिए। आफ्नो कार्यक्षेत्रभित्रको कामलाई प्राथमिकता नदिई प्रदेश र स्थानीय तहको कार्यक्षेत्रमा मन्त्रीहरूले हस्तक्षेप गरेको भन्दै त्यसमा सजग हुन भनिएको छ।

विशेषगरी भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि सांसदहरूले प्रश्न उठाएका थिए।

‘मन्त्रीहरूले आफ्नै कार्यक्षेत्रको कामलाई प्राथमिकता दिएर गरौँ। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर प्रदेश र स्थानीय तहको काममा हस्तक्षेप नगरौँ,’ बैठकमा सांसदहरूले भनेका थिए, ‘स्टन्टबाजी र प्रचारबाजीमा लाग्नुभन्दा परिणाममुखी ढङ्गले काममा लागेको राम्रो।’

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चलाइरहेको करसम्बन्धी लोटरी कार्यक्रमबारे पनि प्रश्न उठेको थियो। अर्थमन्त्री वाग्लेले एकपटक कार्यक्रम उद्घाटन गरिसकेपछि अरूलाई त्यो काम जिम्मा दिनुपर्ने कुरा उठेको छ। अर्थमन्त्री अब त्यही कार्यक्रममा अलमलिन नहुने सांसदहरूको सुझाव थियो।

अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत विभिन्न अनलाइन भुक्तानी गर्ने ग्राहकलाई लोटरीमार्फत एक लाखदेखि १० लाख रुपैयाँसम्म पुरस्कार वितरण गर्दै आएका छन्।

बैठकमा उद्योगमन्त्री गौरी यादवले ग्यासको आपूर्ति र वितरणबारे आफूहरूले अध्ययन-अनुगमन गरिरहेको जानकारी दिएकी थिइन्। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री यादवलाई हटाउन खोजेको चर्चा चलेको थियो। उनलाई पार्टी सभापति र प्रधानमन्त्रीले एकपटक सचेत गराइसकेका छन्।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल स्वास्थ्य अवस्थाका कारण बैठकमा उपस्थित नभए पनि उनको कार्यशैलीबारे नेताहरूले गम्भीर रूपमा आवाज उठाए ।

बैठकमा सांसदहरूले भनेका थिए, ‘मन्त्रीहरू धेरै घुमफिरमा व्यस्त भएको देखिन्छ। बिरामी परेका जनता उपचार नपाएर तड्पिरहेका छन्। मन्त्रीहरूको मोजमस्ती बढी भयो कि भन्ने प्रश्नहरू उठिरहेका छन्। हामीले जनताका प्रश्न जस्ताको तस्तै ल्याएका हौँ, यसमा ध्यानाकर्षण होस्।’

उनीहरूले थपेका थिए, ‘मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदा ऊ मन्त्री हुन पाएन र बोल्यो भन्ने होला। तर हाम्रा मन्त्रीहरू स्टन्टबाजी र मोजमस्तीमा लाग्नुभएको देखिन्छ। क्यामराअगाडि राखेर दुई-चार कुरा गर्दैमा देश बन्दैन।’

बैठकमा प्रधानमन्त्री शाहले चाहेर मात्रै सबै कुरा पूरा नहुने भन्दै मन्त्रीहरूले पनि अब्बल काम गरेर देखाउनुपर्ने सांसदहरूले धारणा राखेका थिए।

सांसदहरूको व्यवहारमाथि प्रश्न

बैठकमा सांसद खगेन्द्र सुनुवारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई थर्काएको, आशिका तामाङ संसदीय मर्यादाभन्दा बाहिर गएर प्रस्तुत भएको र ज्वाला संग्रौलाबारे पनि प्रश्न उठेको थियो।

सभापति लामिछानेले विवादमा आएका सांसदहरूलाई मर्यादित र जिम्मेवार भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । बैठकमा सहभागी एक सांसदका अनुसार, ‘अनौपचारिक रूपमा विवादमा आएका सबै सांसद र मन्त्रीहरूबारे प्रश्न उठेको थियो। सभापतिज्यूले सँच्चिन उहाँहरूलाई निर्देशन दिइसक्नुभएको छ।’

‘खगेन्द्रजीको विषयमा त एकपटक आईजीपीसँग माफी नै माग्ने हो कि भन्ने लगायतका विषय पनि उठेका थिए’, ती सांसद्ले भने । गृहमन्त्री सुधन गुरुङले पनि खगेन्द्र सुनुवारको अभिव्यक्तिप्रति यसअघि संसदीय समितिको बैठकमा आपत्ति जनाइसकेका छन्।

स्टन्टबाजी नगर्न आग्रह

बैठकमा सांसदहरूले मन्त्रीहरूलाई प्रचारबाजी र स्टन्टबाजीमा विश्वास नगर्न आग्रह गरे। सभापति लामिछाने, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पनि यसबारे सांसदहरूलाई सचेत गराए ।

सांसद र मन्त्रीहरूले स्टन्टबाजी र प्रचारबाजीमा लाग्नुभन्दा जनताका सुखदुःख गाउँ–गाउँबाट संकलन गरेर ल्याउनुपर्नेमा जोड दिइएको थियो।

बैठकमा लामिछानेले भने, ‘हाम्रा धेरै काम प्रचारमुखी भए कि भन्ने गुनासो आइरहेका छन्। यतातिर मन्त्रीसहित सांसदहरूले पनि ध्यान दिनुपर्छ। अरू दललाई ३०–३५ वर्षसम्म जनताले पटक–पटक हेरे तर हामीलाई पाँच वर्ष पनि हेर्न सक्नुहुन्न, किनभने हामी परिणाम दिन आएका हौँ, स्टन्ट र प्रचार गर्न होइन।’

उनले सांसदहरूले आफूले के गर्न मिल्ने र के गर्न नमिल्ने, सदनमा कसरी प्रस्तुत हुने, सरकारले कसरी काम गर्ने र जनतासँग कसरी प्रस्तुत हुने विषयमा अध्ययन तथा विश्लेषण गर्नुपर्ने बताए। ‘अध्ययन नहुँदा कमजोरी भइरहेका छन्। अरूबाट पनि सिकौँ र पढाइलाई पनि ध्यान दिऔँ,’ लामिछानेले भनेका थिए।

सरकारका राम्रा कामको प्रचार गरौँ

बैठकमा मन्त्रीहरूले आफूहरूले गरेका काम जनतासामु पुर्‍याउन सांसदहरूलाई आग्रह गरेका थिए। सरकारले गरेका राम्रा काम जनतासम्म पुर्‍याउनु सांसदहरूको पनि कर्तव्य रहेको भन्दै मन्त्रीहरूले त्यसतर्फ कहाँ चुकियो भन्ने प्रश्न उठाएका थिए।

गृहमन्त्री गुरुङ, कानुनमन्त्री सोविता गौतम र अर्थमन्त्री वाग्लेलेले सरकारका राम्रा कामको प्रचार गर्न सांसदहरूले पनि भूमिका खेल्नुपर्ने बताएका थिए।

उनीहरूले भने, ‘सरकारले गरेका राम्रा काम जनतासामु पुर्‍याउनु सांसदहरूको पनि कर्तव्य हो। हामी यो विषयमा चुकेका छौँ। हामी सरकारमा रहेका व्यक्तिहरूको पनि गल्ती-कमजोरी होला, यहाँहरूले औँल्याइदिन सक्नुहुन्छ। तर राम्रा कामको पनि प्रचार गरौँ साथीहरू।’

उनीहरूले सांसदहरूको क्षेत्रमा समस्या तथा गुनासा भए सिधै मन्त्रीहरूसँग राख्न आग्रह गर्दै अन्तरक्रियामार्फत समाधान खोज्न सकिने बताएका थिए। ‘तपाईंहरूको क्षेत्रमा केही समस्या र गुनासा भए सिधै हामीसँग राख्न आउनुभए हुन्छ। हामी अन्तरक्रिया पनि गरौँला। तर राम्रा कामचाहिँ सबैले जनतासामु पुर्‍याउन पहल गर्नुपर्छ,’ उनीहरूले भने।

बैठकमा रास्वपाको संसदीय दलको विधान परिवर्तनका लागि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत भएको छ।

रविको निर्देशन

लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिएका छन्।

दलका नेता वालेन्द्र शाह अनुपस्थित रहेको उक्त बैठकमा रविले सांसद र मन्त्रीहरूलाई अमर्यादित गतिविधि गरेर रमिता देखाउने काम बन्द गर्न भनेका छन् ।

उनले रास्वपाका सांसदहरूले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्ने पनि सुझाव दिएका छन्। ‘कतिपय सांसदहरूले प्रतिनिधिसभामा बोल्दा संसदीय दललाई नै जानकारी नगराएको भेटिएको छ । मन्त्रीहरुले समेत सदन र बाहिरका गतिविधिबारे पार्टीलाई जानकारी गराउने गरेका छैनन्’, उनले भने, ‘सांसद र मन्त्री दुवैले यस्ता किसिमिका गतिविधि सच्याउनुपर्छ।’

उनले मन्त्री र सांसदहरूलाई घमण्ड त्यागेर आपसी सहकार्य र संवादमार्फत् आफ्ना गतिविधि गर्न निर्देशन दिए।

‘तपाईंहरू सबैका गतिविधि मैले नजिकबाट नियालिरहेको छु। सबैले सँच्चिनुपर्छ र सुध्रनुपर्छ। म पनि त्यसतर्फ ध्यान दिन्छु। कतिपय सांसद र मन्त्रीहरूको व्यवहार अस्वभाविक देखिएको छ’, उनले भने, ‘त्यसलाई हामीले परिवर्तन गर्नुपर्छ, संसदीय भूमिकामा मर्यादित र जिम्मेवार बन्नुपर्छ । तपाईंहरूका गतिविधि थाहा पाउन हामीले एउटा मोबाइल एप्स सार्वजनिक गरेका छौँ। कृपया त्यसमा आफ्ना गतिविधि र कामको विवरण राखिदिनुहोला ।’

रविले त्यसक्रममा ‘आरएसपी पल्स’ एप्समा मन्त्रीहरूले पनि आफ्ना गतिविधि अपडेट गराउन निर्देशन दिए । त्यसमा संसद्मा बोल्ने विषय, भ्रमण र भेटघाटलगायत गतिविधि अपडेट गर्न उनले कडा निर्देशन दिए ।

रविले पोशाक शैलीको पनि ख्याल गर्न भने । संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह नै टीसर्टमा आउने गरेका छन्। उनले सबैजना मर्यादामा रहनुपर्ने जानकारी गराउँदै सांसद र मन्त्रीहरू कसैलले रमिता नदेखाउन निर्देशनसमेत दिए।

सांसदहरूले मन्त्रीहरूलाई उनीहरूसँगै आफ्ना कुरा स्पष्ट राख्न उल्लेख गर्दै उनले एकअर्काको समन्वयमै सरकार सफल हुने पनि बताए । उनले यी सुझावलाई मन्त्री र सांसदहरूले त्यहीअनुसार ग्रहण गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ३ : ०० बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह