काठमाडौं– काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरू कुन ठाउँमा छन् ।
आफूले पर्खिएको ठाउँमा आइ पुग्न कति समय लाग्छ, जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।
आज ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन् ।
यो एप्लिकेसनमा जीपीएस जडान भएका करिब १ हजार २ सय सवारी साधनका बारेमा जानकारी लिन सकिन्छ । यसलाई बढाउँदै लगिने प्राधिकरणको योजना छ ।
बैठकमा अध्यक्ष डंगोलले, उपत्यकाभित्रको दिनमा चल्ने यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन तथा रात्रिकालीन सेवालाई विस्तार गर्न र स्कुल कलेज जानु पर्ने विद्यार्थीहरूका लागि बिहान सबैरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकोले यसका लागि स्थानीय तहहरूका बिचमा वित्तीय साझेदारी सहितको प्रणालीमा काम गर्नु पर्ने बताइन् ।
‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन । पालिका पालिका जोडिने भएकोले यो पालिकाहरुको साझा सवाल हो । यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरुपता दिनुपर्छ ।’ उनको भनाइ छ ।
वैठकका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले, सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताए ।
‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषदले आकार बदल्न सक्ने क्षमता राख्छ । यो क्षमताको प्रयोग गरौँ ।’ महर्जनले बताए ।
‘प्राधिकरणको कार्यक्षेत्रमा अन्तरसरकार समान बुझाइ नहुँदा विगतमा काम अगाडि बढाउन सकिएको थिएन ।’ बैठकमा प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले भने, ‘अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम पनि रोकिए । यस वर्ष पुनसंरचित गर्ने भन्ने नेपाल सरकारको निर्णय आएको छ । यसकारण चालु आर्थिक वर्षका लागि कार्यक्रम प्रस्तावित गरिएका छन् ।’
यस वर्षका लागि बस स्टपर पिक ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनको सर्त, सम्झौताको मोडल तयार गरि नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बस पार्क आदिमा जीपीएस ट्याकिङ् समेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणालीको जडान, नगद रहित भाडादर लागू गर्न कानूनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन् ।
टिकट लिने संस्कार प्रोत्साहन गर्न अभियान चलाउने लगायत अध्ययन अनुसन्धानका कार्यक्रम हुने निर्णय भएको छ ।
छलफलमा नगरपालिका बिच आपसी सम्बन्ध र सहकार्य, सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्र लक्षित सार्वजनिक यातायात सञ्चालन लगायत विषयमा सुझाव प्राप्त भएका छन् ।
परिषद्को पहिलो बैठक २०८० भदौ २८ गते बसेको थियो । त्यस बैठकले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नु अघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।
दोस्रो बैठक २०८१ साल १४ गते बसेको थियो । त्यस बैठकले, परिषद्को निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन ९ सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको थियो ।
परिषद् सदस्यको संख्या ३५ जना छ । संख्या धेरै भएकोले कार्य चुस्त बनाउन कठिन हुने भएपछि यसलाई चुस्त बनाउन परिषदका अध्यक्ष एवं कामपाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन् ।
यस्तै सार्वजनिक यातायात प्रणाली र पूर्वाधारसँग सम्बन्ध राख्ने यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ । परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिव छन् ।
प्राधिकरण र परिषद् सम्बन्धी कानुनी व्यवस्था
‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन-२०७९’ को दफा ३ बमोजिम प्रदेश सरकारले सहरी क्षेत्रभित्रका सार्वजनिक यातायात सेवालाई व्यवस्थापन गर्नका लागि एक वा एकभन्दा बढी नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने गरी बढीमा ७ सदस्यीय सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्न सक्ने व्यवस्था गरेको छ ।
यसै ऐनको दफा १२ मा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण सम्बन्धी विशेष व्यवस्था छ ।
यसमा संघीय राजधानी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्ने प्रबन्ध गरिएको छ ।
ऐनअनुसार, हरेक प्रदेशमा १/१ वटा र संघीय राजधानीमा एउटा गरी ८ वटा प्राधिकरण हुनेछन् ।
संघीय राजधानी प्राधिकरणको काम कारबाहीलाई सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुखको अध्यक्षतामा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ ।
ललितपुर महानगरपालिकाका प्रमुख परिषद्को उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषद्को सदस्य छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सदस्य छन् ।
परिषदमा सडक विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक वा उनले तोकेका राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वा उनले तोकेको प्रहरी उपरीक्षक, बागमती प्रदेशको यातायात विषय हेर्ने मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
यस्तै, सार्वजनिक यातायात सञ्चालन गर्ने ठूला फरक कम्पनीका तर्फबाट १ जना महिलासहित ३ जना, उपभोक्ता हित संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरूबाट १ महिलासहित २ जना, यातायात क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिमध्येबाट बागमती प्रदेश सरकारले मनोनीत गरेका १ जना महिलासहित ३ जना, परिषदमा प्रतिनिधित्व नभएका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगरपालिकाकोतर्फबाट प्रमुख वा उपप्रमुखमध्ये सम्बन्धित स्थानीय तहले मनोनीत गरेका एक एक जना प्रतिनिधि, श्रमिक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी परिषदबाट मनोनीत ३ जना सदस्य रहनेछन् ।
परिषद्को सदस्य सचिवका रुपमा प्रमुख कार्यकारी अधिकृतले काम गर्नेछन् ।
प्राधिकरणको काम कर्तव्य र अधिकार
सार्वजनिक यातायात सम्बन्धी नीति, अल्पकालीन, दीर्घकालीन योजना र रणनीति तयार पार्ने, वातावरणमैत्री, यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन, व्यवस्थापन गर्ने, सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली विकास गर्ने, वास्तविक समयमा आधारित सूचना प्रणाली विकास गर्ने तथा विकास गरिएका प्रणाली कार्यान्वयनमा ल्याउनु प्राधिकरणका मुख्य काम हुन् ।
बस बिसौनी, विसौनीमा सार्वजनिक शौचालय निर्माण र सञ्चालन, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकलयात्रीमैत्री सडक व्यवस्थापन प्राधिकरणका मुख्य काम हुन् ।
सार्वजनिक यातायातसँग सम्बन्धित विवरण संकलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग गर्ने, आवास क्षेत्र, व्यापारिक केन्द्र वा सपिङ्ग मलमा यातायात सेवा उपलब्ध गराएबापत सेवा शुल्क तोक्ने, रुट निर्धारण गर्ने, निर्धारण गरिएका रुटमा एकतर्फी, दोहोरो सञ्चालन, तोकिएका सवारी साधनलाई पूर्ण वा आंशिक निषेध गर्नेजस्ता काम प्राधिकरणका मुख्य जिम्मेवारी हुन् ।












प्रतिक्रिया