वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बने पनि व्यवहारमा शक्तिहीन र लाचार बनेको टिप्पणी गरेका छन् । सरकार जनतासँगको सम्पर्क टुटाएर लिकभन्दा बाहिर गएको कारण अहिलेपनि देश अन्त्यहीन संकटमा रहेको साहको टिप्पणी छ ।
आजपासम्मिलित ९ दलीय मोर्चाको मधेश प्रदेश समन्वय समितिद्वारा शनिबार मधेश प्रदेशको वीरगञ्जको टाउन हलमा आयोजित वृहद कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार विपक्षीहरूको कारण कमजोर देखिएको नभई रास्वपाभित्रैबाट असहयोगको कारण लाचार देखिएको दाबी गरे । उनले संसदमा रहेको संख्याको कारण वर्तमान सरकार शक्तिशाली देखिएपनि उसले लिएको नीति र गरिरहेको व्यवहारको कारण बिचारा अवस्थामा पुगेको टिप्पणी गरे । उनले प्रधानमन्त्री शाहलाई एम्बिशन पूरा गर्ने हो भने एक्शनमा उत्रिन सुझाव दिए ।
प्रधानमन्त्री बनेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत एक सय दिनमा एक सय वटा शासकीय सुधारको कार्यक्रम ल्याउँदा जनतामा प्रधानमन्त्री शाहप्रति उत्साह देखिएपनि अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम ल्याउँदा त्यो उत्साह घटेको र बजेट ल्याउँदासम्म सबै निराश हुने अवस्था आएको कुरा पनि पूर्वमन्त्री साहले स्मरण गराए । उनले अहिलेपनि समय घर्किनसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई जंगी अड्डातिर नभएर जनताको भर पर्न सुझाव दिएका छन् । यस्तै, उनले प्रधानमन्त्रीलाई संख्या नभई सत्य, बल नभई विधि र सेना नभई संविधानको साथमा हिँड्न पनि सुझाए ।
उनले मुलुकमा पछिल्लो समय देखापरेका धार्मिक सद्भाव बिथोलिएको सुनसरी देवानगञ्जको घटनादेखि दुई साताअघि रसुवा भोटेकोशी बाढीको कारण निम्तिएको विपत्तिको संकटको समयसम्म रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाइपास गरेर सक्रियता देखाएको घटनाको स्मरण गराउँदै सरकारलाई पार्टीले नसघाएको आरोप लगाए । विदेश सम्बन्ध र कूटनीतिक अभ्यासको सवालमा पनि रास्वपाका सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री शाह अर्कोतर्फ उभिएको र सोही अनुसार समानान्तर अभ्यास गरिएको साहको आरोप छ ।
साहले रास्वपाका सभापति लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परिरहेको कुरा सचेत नागरिकले गुनासो पोख्न थालेको पनि टिप्पणी गरे । उनले रास्वपाले भागबण्डाको राजनीति गरेको र नेतातन्त्रको अभ्यास गरेको कुरा पछिल्लो समय सरकारका मन्त्रीहरु र रास्वपाका नेताहरुबीच भएको छेडखानी र आरोपप्रत्यारोपबारे सार्वजनिक भएको घट्नाले पनि पुष्टि गर्ने बताए ।
सरकार सामान्य डेलिभरी दिन नसकेर आलोचित बन्ने अवस्था आउनु दुःखद् भएको उनको टिप्पणी छ । ग्याँसको अभावमा जनतको चुलो निभ्ने अवस्था आएको यति दिन बित्दापनि समस्या समाधान नभएको र सेवामा लाईन घट्नुको साटो बढ्नुले पनि सरकारको असफलता देखाईसकेको साहले जिकिर गरे ।
उनले वर्तमान सरकार बनेपछिका नियुक्तिमा पनि सरकारले समावेशीताको सिद्धान्तलाई धज्जी उडाउँदै महिला, मधेशी, दलितहरुलाई उपेक्षा गरेको आरोप लगाए । ती नियुक्तिहरुमा कर्णाली र दलितको प्रतिनिधित्व शून्य बनाईएको भन्दै उनले सरकारलाई समावेशी प्रतिनिधित्वको मूल मर्मलाई ख्याल गर्न पनि सुझाए ।













प्रतिक्रिया