अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान « Khabarhub

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहेका उनले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न त्यहाँका लगानीकर्तालाई आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ)द्वारा आज आयोजित व्यापार तथा लगानी अन्तरक्रियामा अर्थमन्त्री डा वाग्लेले उदीयमान लगानीका अवसरमाथि प्रकाश पार्दै आर्थिक रूपान्तरणमा सहभागी हुन आह्वान गरेका हुन् । उनले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गरे ।

मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेकामा जोड दिए । उनले नीतिगत सुधारलाई तीव्र बनाउन र अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकारले लागिपरेको स्पष्ट पारे । “सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्”, मन्त्री वाग्लेले भने, “भारतीय व्यवसायीलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ ।”

उनले वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलमार्फत नेपाल सरकारले हालै चालेका कदम व्यावसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पारे । उनले नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको उल्लेख गरे । कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ४२ बजे

‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित

विश्वकप क्वालिफायर प्लेअफअगाडि यूएईको कोच बने पूर्वकप्तान मल्ल

काठमाडौं- नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्सको

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौँ– इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन

उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता