काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा रहेको आरुघाट पुलमा नेपाली सेनाले बेलीब्रिज जडान कार्य सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भिषण बाढीका कारण साबिकको पक्की पुलको गोरखातर्फको खण्ड पूर्ण रूपमा बगेको थियो । दुई जिल्लाबिचको सीधा यातायात सम्पर्क टुटेपछि उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडानको कार्य सुरु गरेको थियो । सेनाको टोलीले अहोरात्र खटिएर कात्तिक १ गते नै जडानको सम्पूर्ण कार्य सम्पन्न गरेको हो ।
निर्माण सम्पन्न भएसँगै नेपाली सेनाले सोमबार उक्त बेलीब्रिज आधिकारिक रूपमा गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ९० फिट (२७.४३ मिटर) लम्बाई र १३.७८ फिट (४.२ मिटर) चौडाइ रहेको यो बेलीब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका स्थानीय नागरिकहरूलाई आवतजावतमा ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
साथै, बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक राहत सामग्री, स्वास्थ्य सुविधाहरू तथा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको ढुवानी प्रक्रिया थप सहज र सुगम हुने विश्वास नेपाली सेनाले लिएको छ।














प्रतिक्रिया