बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदैछ । विश्वका तीन प्रमुख शक्ति राष्ट्रका शीर्ष नेताहरू औपचारिक रूपमा एकैसाथ वार्ताको टेबुलमा बस्न लागेको यो पहिलो पटक हो ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन सेन्जेन पुगेका तीनै नेताबीच बुधबार सम्मेलनको औपचारिक तस्बिर खिचाउनुअघि संक्षिप्त भेटघाट तथा हात मिलाउने क्रम चलेको थियो ।
बुधबार नै सेन्जेन विमानस्थलमा अवतरण गरेका ट्रम्पलाई राष्ट्रपति सीले धावनमार्गमै पुगेर अँगालो हाल्दै न्यानो स्वागत गरेका थिए ।
दशकौँपछि कुनै चिनियाँ सर्वोच्च नेताले विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो दुर्लभ दृश्यलाई सीले आफ्नो शक्ति र कूटनीतिक प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा लिएको विश्लेषण गरिएको छ । गत सेप्टेम्बरमा सीको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले दिएको स्वागतको बदलामा सीले यो सम्मान दिएका हुन् ।
बिहीबार दिउँसो हुने करिब एक घण्टा लामो त्रिपक्षीय बैठकमा युक्रेन र इरानमा जारी युद्ध, आणविक हतियार नियन्त्रण (अप्रसार), व्यापार तनाव र कृत्रिम बौद्धिकता (एआई) को विकासलगायतका विश्वव्यापी मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि, बैठकबाट कुनै ठोस सम्झौता भइहाल्ने अपेक्षा भने गरिएको छैन ।
कूटनीतिक विश्लेषकका अनुसार यस बैठकमार्फत ट्रम्पले विश्व राजनीतिमा परम्परागत शक्ति सन्तुलन र ‘प्रभाव क्षेत्र’ को आफ्नो अवधारणालाई अघि सार्ने अवसर पाएका छन् ।
अर्कोतर्फ, पश्चिमी देशहरूको कडा प्रतिबन्ध र कूटनीतिक एक्लोपन झेलिरहेका पुटिनका लागि अमेरिकी र चिनियाँ राष्ट्रपतिसँग एकै मञ्चमा उभिएर वार्ता हुनुलाई रुसमा ठूलो कूटनीतिक सफलताका रूपमा हेरिएको छ ।














प्रतिक्रिया