दमौली– तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी काम गर्ने गरी दमौलीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। व्यास नगरपालिका–४ मा स्थापना गरिएको कार्यालयले बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो।
गत असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग मातहत रहने गरी डिभिजन कार्यालय स्थापना गरिएको हो। कार्यालयको बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले उद्घाटन गरेका हुन्।
नयाँ कार्यालयले तनहुँ र नवलपरासी पूर्वमा वैकल्पिक सहायक मार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक र पुल निर्माण एवं स्तरोन्नतिसम्बन्धी काम गर्ने कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिए।
चालु आर्थिक वर्षमा कार्यालयमार्फत कुल ५५ करोड रुपैयाँका पूर्वाधार कार्यक्रम सञ्चालन हुनेछन्। विनियोजित बजेटमध्ये वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि २९ करोड, स्थानीयस्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार परियोजनाका लागि १७ करोड र सडक सुरक्षा तथा मर्मतसम्भार कार्यक्रमका लागि नौ करोड रुपैयाँ छुट्याइएको छ।
कार्यालयले सडक तथा पुल निर्माणका अतिरिक्त पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयारी, डिजाइन, लागत अनुमान र वातावरणीय अध्ययनसम्बन्धी काम पनि गर्नेछ।
त्यस्तै, आयोजनाको गुणस्तर परीक्षण, ठेक्का प्रक्रिया व्यवस्थापन, भुक्तानी, निर्माण कार्यको सुपरीवेक्षण तथा विवाद समाधानलगायतका जिम्मेवारीसमेत डिभिजन कार्यालयले सम्हाल्नेछ।














प्रतिक्रिया