नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल « Khabarhub

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता र सहकार्य गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) ले बिहीबार आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्‌घाटन गर्दै मन्त्री खनालले प्रभावकारी कूटनीतिका लागि सबैभन्दा पहिले आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्न आवश्यक रहेको बताए ।

‘आफू, आफ्नो समुदाय र आफ्नो देशलाई राम्ररी नबुझीकन विश्वसामु मुलुकको प्रभावकारी प्रतिनिधित्व गर्न सकिँदैन,’ उनले भने ।

नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

हिमाल, पहाड र तराईका समुदायसँगै किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षा बुझ्न सक्ने कूटनीतिज्ञ अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । उनले प्रमाणमा आधारित विश्लेषण, समस्या समाधान गर्ने क्षमता, सङ्कटका बेला तत्काल अनुकूल हुन सक्ने दक्षता, सहानुभूति, सहकार्य र निरन्तर सिक्ने बानीलाई प्रभावकारी कूटनीतिका आधारका रूपमा प्रस्तुत गरे ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उल्लेख गर्दै मन्त्री खनालले युवा कूटनीतिज्ञलाई अङ्ग्रेजी, चिनियाँ र अरबीजस्ता अन्तर्राष्ट्रिय भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न आग्रह गरे ।

भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उद्धृत गर्दै उनले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर पनि नेपालको कूटनीतिक समुदायमा सक्रिय योगदान गर्न उनले आह्वान गरे ।

कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन, ऊर्जा रूपान्तरण र बदलिँदो भू-राजनीतिक समीकरणले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ चुनौती तथा अवसर सिर्जना गरेको बताइन् ।

विश्वव्यापी परिवर्तनलाई समयमै बुझेर नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिका प्राथमिकतासँग जोड्न युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताको क्षमता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो ।

उनले कूटनीति अब राज्य र परम्परागत कूटनीतिक संस्थामा मात्र सीमित नरही व्यक्ति, संस्था, सञ्जाल तथा गैरराज्य पक्षको भूमिका पनि महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरिन् ।

दिनभर सञ्चालन हुने सेमिनारमा प्रविधि, डिजिटल रूपान्तरण र कूटनीतिको भविष्य, जलवायु, ऊर्जा र बदलिँदो विश्व व्यवस्थामा नेपालको स्थान तथा आप्रवासन, आवागमन र नेपालको विश्वव्यापी सहभागितालगायत विषयमा समूहगत छलफल हुने प्रतिष्ठानले जनाएको छ ।

विश्वविद्यालयका विद्यार्थी, युवा कूटनीतिज्ञ, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा युवा पेसाकर्मीबीच विचार आदानप्रदान र नीतिगत संवादको अवसर सिर्जना गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।

कार्यक्रममा निर्वाचन आयोगका निर्वाचन आयुक्त राजीव सुब्बा, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्रका व्यक्तित्व तथा युवा पेसाकर्मीको सहभागिता थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १२ : ५३ बजे

बर्खास्त भएका एआईजी दाहालले दिए मन्त्रिपरिषद्‌मा पुनरावेदन

काठमाडौँ – बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

भद्रपुर– झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गर्दै आयोग पुगे ऋषि धमला

काठमाडौं– स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता भण्डारी

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत