नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल « Khabarhub

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता र सहकार्य गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) ले बिहीबार आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्‌घाटन गर्दै मन्त्री खनालले प्रभावकारी कूटनीतिका लागि सबैभन्दा पहिले आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्न आवश्यक रहेको बताए ।

‘आफू, आफ्नो समुदाय र आफ्नो देशलाई राम्ररी नबुझीकन विश्वसामु मुलुकको प्रभावकारी प्रतिनिधित्व गर्न सकिँदैन,’ उनले भने ।

नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

हिमाल, पहाड र तराईका समुदायसँगै किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षा बुझ्न सक्ने कूटनीतिज्ञ अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । उनले प्रमाणमा आधारित विश्लेषण, समस्या समाधान गर्ने क्षमता, सङ्कटका बेला तत्काल अनुकूल हुन सक्ने दक्षता, सहानुभूति, सहकार्य र निरन्तर सिक्ने बानीलाई प्रभावकारी कूटनीतिका आधारका रूपमा प्रस्तुत गरे ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उल्लेख गर्दै मन्त्री खनालले युवा कूटनीतिज्ञलाई अङ्ग्रेजी, चिनियाँ र अरबीजस्ता अन्तर्राष्ट्रिय भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न आग्रह गरे ।

भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उद्धृत गर्दै उनले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर पनि नेपालको कूटनीतिक समुदायमा सक्रिय योगदान गर्न उनले आह्वान गरे ।

कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन, ऊर्जा रूपान्तरण र बदलिँदो भू-राजनीतिक समीकरणले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ चुनौती तथा अवसर सिर्जना गरेको बताइन् ।

विश्वव्यापी परिवर्तनलाई समयमै बुझेर नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिका प्राथमिकतासँग जोड्न युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताको क्षमता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो ।

उनले कूटनीति अब राज्य र परम्परागत कूटनीतिक संस्थामा मात्र सीमित नरही व्यक्ति, संस्था, सञ्जाल तथा गैरराज्य पक्षको भूमिका पनि महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरिन् ।

दिनभर सञ्चालन हुने सेमिनारमा प्रविधि, डिजिटल रूपान्तरण र कूटनीतिको भविष्य, जलवायु, ऊर्जा र बदलिँदो विश्व व्यवस्थामा नेपालको स्थान तथा आप्रवासन, आवागमन र नेपालको विश्वव्यापी सहभागितालगायत विषयमा समूहगत छलफल हुने प्रतिष्ठानले जनाएको छ ।

विश्वविद्यालयका विद्यार्थी, युवा कूटनीतिज्ञ, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा युवा पेसाकर्मीबीच विचार आदानप्रदान र नीतिगत संवादको अवसर सिर्जना गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।

कार्यक्रममा निर्वाचन आयोगका निर्वाचन आयुक्त राजीव सुब्बा, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्रका व्यक्तित्व तथा युवा पेसाकर्मीको सहभागिता थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १२ : ५३ बजे

बराह सहकारी ठगीका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौँ- बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी

अवैध रूपमा भारतीय दूध भित्रिँदा बाँकेका किसान मर्कामा

राँझा- बाँकेमा भारतबाट अवैध रूपमा दूध तथा दुग्धजन्य पदार्थ भित्रिने क्रम

बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

काठमाडौँ – संवेदनशील सूचना चुहाएको आरोपमा बर्खास्तीमा परेका सशस्त्र प्रहरी

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

भद्रपुर– झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्