काठमाडौं – आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।
प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा (आरटिसी) विद्युत् आपूर्ति गर्नेगरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्न लागेको हो ।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् आरटिसी मोडमा खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ । पछिल्ला दुई–तीन वर्षदेखि सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतको विद्युत् पावर एक्सचेन्ज ९आइईएक्स० को डे अहेड मार्केट (डिएएम) र रियल टाइम मार्केट (आरटीएम)बाट विद्युत् खरिद हुँदै आएको छ ।
यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका विद्युत् आयोजनामा क्षति पुर्याउँदा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । यसले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिएको छ ।
प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटिसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो । समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्न र अप्रिल तथा मे महिनामा माग बढ्ने भएकाले बजारको अवस्था हेरी थप खरिदको निर्णय लिन सुझाव दिएको थियो ।
आगामी सुक्खायामसम्म राष्ट्रिय विद्युत् प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको भए पनि नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ । त्यसैले आन्तरिक उत्पादनबाट माग धान्न कठिन हुने प्राधिकरणको आकलन छ ।
यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग दर प्रस्ताव माग गरेको थियो । तीमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट भारु ६ रुपैयाँ ९० पैसा, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए ।
सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो । असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाइएकामा कम्पनीले भोलिपल्ट पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जनाएको थियो ।
कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै विद्युत्को माग बढेको कारण देखाउँदै पुरानो दर पुनरावलोकन गर्नुपर्ने जनाएको थियो ।
यसैबीच, भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा गत असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट नेपाली रु ११ रुपैयाँ ७४ पैसा अर्थात् भारतीय भारु ७ रुपैयाँ ३४ पैसा पुगेको थियो । बजार मूल्य बढेकाले यसअघि प्रस्तावित दरमा सम्झौता हुन नसकेको प्राधिकरणको भनाइ छ ।
पुरानो प्रस्तावमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो । अन्तरराष्ट्रिय बोलपत्रमार्फत भारतीय विद्युत् व्यापारिक कम्पनीबाट प्रस्ताव माग गरी प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्ने प्राधिकरणको योजना छ ।













प्रतिक्रिया