काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को अकुपेन्सी कमजोर देखिएपछि ‘बिगुल’को प्रदर्शन स्थगित भएको छ ।
माघ ९ गते प्रदर्शन मिति तोकिएको ‘बिगुल’को प्रदर्शन अन्तिम समयमा आएर रोकिएको हो ।
निर्देशक रमेश कोइरालाले प्रदर्शन रोकिने निर्णयको पछाडि विशेष प्राविधिक कारण देखाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशेष प्राविधिक कारणले हालका लागि प्रदर्शन अस्थायी रुपमा स्थागित गरिएको जानकारी गराइन्छ ।’
कोइरालाले फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रचार–प्रसारमा होमिइसकेको ‘बिगुल’को प्रदर्शन रोकिनुको कारण हलमा रहेका फिल्महरुको कमजोर व्यापार रहेको बुझिएको छ ।
नेपाली कांग्रेसको फुट र विशेष अधिवेशको राजनीतिक घटना क्रमले अहिले फिल्महरुको प्रचार ओझेलमा परेका छन् । त्यसको असर फिल्मको व्यापारमा देखिएको छ ।
अहिले देशमा आगामी निर्वाचन केन्द्रित राजनीतिक गतिविधि बढेको छ । यसले फिल्मी गतिविधि छायाँमा परेको छ । यही कारण ‘बिगुल’को प्रदर्शन रोकिएको बुझिन्छ ।
‘बिगुल’ नायिका बनेशा हमाल शीर्ष भूमिकामा छिन् ।













प्रतिक्रिया