काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे आलोचना गरेकै आधारमा उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य गोकुल बास्कोटालाई टिकट नदिएका अध्यक्ष केपी शर्मा ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालबीचको माया निरन्तर झाँगिरहेको छ।
ओलीले पार्टीको एघारौँ महाधिवेनमा आफूलाई चुनौती दिने ईश्वर पोखरेल समूहलाई एक एक गरेर बदला लिएका छन् । पोखरेल समूहका कयौँ क्षमतावान नेताहरूलाई प्रतिस्पर्धा गरेकै आधारमा ओलीले ठेगान लगाएका हुन् ।
जेन-जी आन्दोलनपछि नेतृत्व छोड्न तीव्र दबाब खेपेका ओली टसमस नभई फेरि पार्टी नेतृत्व कब्जा गर्न सफल हुँदै पुरानै बदला लिने शैलीमा उत्रिए।
तर आफूलाई प्रश्न उठाउने नेतालाई गुण्डु बसेर तह लगाइरहेका ओली कहीँ कतै संगठन र कार्यकर्तासमेत नरहेको परिवार दलसँग उठबस र मायामा परेका छन् । एकनाथ र ओलीको सहकार्य र लेनदेन अनौठो र विचित्र लाग्ने देखिन्छ ।
२०७४ सालदेखि नै सुरू भएको यो मायाले फागुन २१ को चुनावमा पनि निरन्तरता पाएको छ। एमाले र नेपाल परिवार दलबीच आइतबार चुनावी सहकार्यमा सहमति भएको छ । दुई दलबीच आइतबार साँझ आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । दुवै दलबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा नेताहरू मिलन राजवंशी, प्रकाश थापा लगायत उपस्थित थिए ।
सहमति अनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेशसभामा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सहमति पत्रमा संसद् बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व कायम रहने तर संसद्भित्र एमालेको संसदीय दलमा आबद्ध रहने छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ । सहमतिमा एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न दुवै दल एकमत रहेको उल्लेख छ ।
केपी शर्मा ओली एमालेको नेतृत्वमा आएपछि ढकालसँगको उठबस सार्वजनिक रूपमा देखिन थालेको हो। ओलीले २०७९ को निर्वाचनमा एमाले संसदीय दलको सदस्यका रूपमा ढकाललाई संसद्मा लगे।
२०७९ मा एमालेले समानुपातिक तर्फको सूचीमा पूर्वमन्त्री एकनाथ ढकाललाई प्राथमिकतामा राखेको थियो । प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा रहँदै संसद् छिरे ।
यो क्लस्टरको पहिलो नम्बरमा स्थायी कमिटी सदस्य रघुजी पन्त थिए । ढकाल दोस्रो नम्बरमा भएकाले समानुपातिक सांसद बने । २०७४ मा पनि ढकाललाई एमालेले समानुपातिक सूचीमा राखेको थियो ।
समानुपातिकबाट संसद्मा पुगेका उनी परिवारकै दलको अध्यक्षका रुपमा कायम थिए । ढकाललाई एमालेको सांसद मान्न संविधान र राजनीतिक दलसम्बन्धी ऐनले दिँदैनथ्यो । स्वयं नेकपा एमालेको विधानले समेत दिने अवस्था थिएन । तर पनि उनी २०७९ मा सांसद भए ।
एमाले अध्यक्ष ओलीले संविधान र ऐनमात्रै होइन, पार्टीको विधानसमेत मिचेर ढकाललाई समानुपातिक सांसद बनाएका थिए ।

एमालेको विधानले पार्टी सदस्य नरहेको व्यक्तिलाई आफ्नो दलको सांसद मान्ने परिकल्पना गरेको छैन । प्रतिनिधिसभा र राष्ट्रियसभाको सदस्य बन्ने व्यक्ति एमालेको कुन न कुनै कमिटीप्रति उत्तरदायी हुनैपर्ने एमालेको विधानमा व्यवस्था छ ।
अनौठो त के छ भने ढकाल आजसम्म औपचारिक रूपमा एमालेका सदस्य होइनन् । तर सत्तामा हुँदा या विपक्षमा रहँदा ढकाल‘निकट सहयोगी’ का रूपमा छन् ।
ढकालले एमाले नेतृत्वको खुलेर प्रशंसा गर्छन्, ओलीलाई राष्ट्रवादी नेता भनेर समर्थन गर्छन् । केही राष्ट्रिय मुद्दामा एमालेसँग लाइन पनि मिलाउँछन् ।
त्यसको गुण तिर्न एमाले नेतृत्वले ढकाललाई राजनीतिक स्पेस र मान्यता दिइरहेको छ। तर ढकालको दलको पकड कुनै जिल्लामा देखिँदैन । उनी एमालेसँग आफूलाई समानुपातिकबाट संसद्मा लैजान सम्झौता गरिरहन्छन् ।
ढकालका लागि एमालेसँगको निकटताले मूलधारको सत्ता राजनीतिमा प्रवेशको ढोका खोलेको छ।
विदेश पनि सँगसँगै
परिवार दलका अध्यक्ष ढकाल प्रायः विदेश घुमिरहन्छन् । एमालेकै सहयोगमा राजनीतिको मूलधारमा टिकिरहेका उनलाई क्रिश्चियन धर्म प्रचारकको आरोप पनि लागिरहन्छ ।
उनी आफूलाई वास्तविक क्रिश्चियन दाबी गर्छन्। कोरियाली धर्मगुरु सन म्योङ मुनले स्थापना गरेको युनिफिकेसन चर्चमा उनी आवद्ध रहेको बताइन्छ ।
यस चर्चको नेपाल च्याप्टरलाई युनिभर्सल पिस फेडरेसन (यूपीएफ) नाममा चलाइएको छ। सामाजिक संस्थाका नाममा यसले धार्मिक गतिविधि गर्छ।
एमाले अध्यक्ष ओलीसँग ढकालको निकट र गाढा सम्बन्ध छ । ढकाल यसअघि दुई दुईपटक सांसद र मन्त्री पनि बनिसकेका छन् । उनी र अध्यक्ष ओली २०८० साउन पहिलो साता एकसाथ कम्बोडिया पुगेका थिए ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा एक उच्चस्तरीय टोली निर्वाचनको पर्यवेक्षण गर्न कम्बोडिया गएको थियो । ओलीको टोलीमा श्रीमती राधिका शाक्य, उपमहासचिव विष्णु पौडेल र राजन भट्टराई थिए । त्यहाँ ढकाल पनि साथमै थिए ।













प्रतिक्रिया