एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न पोर्चुगलको राष्ट्रपति चुनावको लागि रनअफमा स्थान बनाएका छन् । पहिलो चरणमा आश्चर्यजनक रूपमा दोस्रो स्थान हासिल गर्दै आगामी फेब्रुअरीमा हुने दुईतर्फी रनअफमा स्थान बनाएका हुन् ।
उनले केन्द्र–वामपन्थी उम्मेद्वार एन्टोनियो जोसे सेगुरोसँग प्रतिस्पर्धा गर्नेछन्, जसलाई युरोपभर बढ्दै गएको अति–दक्षिणपन्थी राजनीतिक प्रवृत्तिको अर्को महत्त्वपूर्ण सफलता मानिएको छ ।
झण्डै ९८ प्रतिशत मतगणना सकिँदा चेगा (इनफ) पार्टीका नेता भेन्टुराले करिब २४ प्रतिशत मत प्राप्त गरे भने समाजवादी उम्मेद्वार सेगुरोले करिब ३१ प्रतिशत मतसहित अग्रता कायम गरे। अब फेब्रुअरी ८ मा शीर्ष दुई उम्मेद्वारबीच दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणमा नौ जना उम्मेद्वार प्रतिस्पर्धामा रहे पनि कसैले पनि प्रत्यक्ष जितका लागि आवश्यक ५० प्रतिशत मत हासिल गर्न सकेनन् ।
भेन्टुराको बलियो उपस्थितिलाई युरोपमा अति–दक्षिणतर्फको राजनीतिक झुकावको अर्को कोसेढुङ्गाका रूपमा हेरिएको छ । चेगा पार्टी स्थापना भएको करिब छ वर्षमै गत वर्ष संसद्को दोस्रो ठूलो दल बनेको थियो । फ्रान्स, जर्मनी, इटाली र छिमेकी स्पेनमा उदीयमान राष्ट्रवादी दलहरूको सफलताबाट भेन्टुरा र उनका समर्थकहरू उत्साहित देखिन्छन् ।
उनको चुनावी एजेन्डाको केन्द्रमा आप्रवासन छ । भेन्टुराले यसलाई ‘अत्यधिक आप्रवासन’ को संज्ञा दिँदै ‘पोर्चुगल हाम्रो हो’ भन्ने नारासहित कडा अभिव्यक्ति दिए । अभियानका क्रममा उहाँले ‘यो बङ्गलादेश होइन’ र ‘आप्रवासीहरूलाई कल्याणमा बाँच्न दिनुहुँदैन’ भन्ने सन्देश भएका विज्ञापनहरू प्रयोग गरेका थिए । केही वर्षअघि पोर्चुगलमा यस्ता खुलेर आप्रवासी विरोधी भनाइ अकल्पनीय मानिन्थे ।
उनको उदयले विगत पाँच दशकदेखि सत्तामा आएका दुई मुख्य दल-हाल सत्तारूढ केन्द्र-दक्षिणपन्थी सोसल डेमोक्रेटिक पार्टी र केन्द्र-वाम समाजवादी पार्टी-को परम्परागत समर्थन कटौती गरेको छ । यसपटकको चुनावमा उम्मेद्वारमध्ये एक जना मात्र महिला थिए र पोर्चुगलले अहिलेसम्म महिला वा गैर-श्वेत राष्ट्रप्रमुख पाएको छैन ।













प्रतिक्रिया