काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको टिकट दिएका छन्।
एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिने अधिकांश नेताहरूलाई ठेगान लगाएको अवस्थामा पोखरेललाई भने अन्तिम समयमा टिकट दिएका हुन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट पोखरेलले टिकट पाएको पुष्टि एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले गरेका छन् ।
पोखरेलले टिकट पाएको बताउँदै मंगलबार दिउँसो १ बजे दाहालगौँडामा भेला भएर दिउँसो २ बजे मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने तयारी भएको निरौलाले बताएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ५ गत पुस २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्ववरिष्ठ उपाध्यक्ष पोखरेलको नाम एकल सिफारिस गरेको थियो ।
तर ओलीले दुई दिनअघि नाम तय गर्दा काठमाडौं ५ लाई होल्डमा राखेका थिए । काठमाडौं- ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।
ओलीले यसअघि पोखरेल समूहबाट एघारौँ महाधिवेशनमा उठेर विजयी गोकर्ण विष्टलाई मात्रै टिकट दिएका थिए ।
ओलीले पोखरेल प्यानलबाट उठेका योगेश भट्टराई, कर्णबहादुर थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, झपट रावल, सुरेन्द्र पाण्डेसहितलाई टिकट दिएनन् । त्यस्तै हिजोका समयमा माधव नेपाल समूहमा रहेका विष्णु रिजाल र निरज आचार्यलाई पनि ओलीले बदला लिए ।
काठमाडौं ५ मा २०७९ को निर्वाचनमा भने पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए ।
काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुँदा पोखरेलले १० हजार १७२ मत पाएका थिए । त्यसबेला ५ हजार ६५ मत अन्तरले पोखरेल पराजित भए ।













प्रतिक्रिया