काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको म्याद माघ ६ गतेलाई तोकेको छ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू टिकट बाँड्न व्यस्त छन् । एमाले र नेकपाले करिब सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित अन्य दलहरूको टिकट वितरण पनि अन्तिम चरणमा पुगेको छ ।
आन्तरिक द्वन्द्वका कारण दबाबमा परेको नेपाली कांग्रेसका लागि भने उम्मेदवार छनोट यसपटक चुनौतीपूर्ण देखिएको छ । यद्यपि नवनिर्वाचित सभापति गगनकुमार थापाले केही निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिसकेका छन् भने बाँकी क्षेत्रमा क्षमतावान प्रतिनिधिको खोजी जारी रहेको उनीनिकट स्रोतको भनाइ छ ।
हालसम्म सार्वजनिक उम्मेदवार सूचीले झापा, जुम्ला, चितवन र भक्तपुरका केही निर्वाचन क्षेत्रहरू अत्यन्त प्रतिस्पर्धात्मक बन्ने संकेत गरेको छ ।
झापा-५ (भावी प्रधानमन्त्रीको भीडन्त)

झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ बीच प्रतिस्पर्धा हुने देखिएको छ । यो चुनावी प्रतिस्पर्धा यस पटकको प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण मानिएको छ ।
यहाँ एकातर्फ दशकौँदेखि राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्दै आएका, सुदृढ पार्टी संगठन र अनुभवी नेतृत्व बोकेका ओली छन् भने अर्कोतर्फ काठमाडौँ महानगरपालिकाका सफल पूर्वमेयरको छविसहित वैकल्पिक राजनीतिका प्रतीक बनेका बालेन छन् ।
यो प्रतिस्पर्धा केवल दुई व्यक्तिको मात्र नभइ, परम्परागत शक्ति संरचना र नयाँ राजनीतिक चेतनाबीचको प्रत्यक्ष टकरावका रुपमा पनि लिइएको छ । बालेनले ओलीसँग प्रतिस्पर्धा गर्न आइतबार मात्रै काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए ।
झापा-२ मा पूर्वसभामुख र पूर्वउपसभामुख

झापा-२ मा यसपटक प्रतिनिधिसभाका पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना मगरबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेले घिमिरेलाई उम्मेदवार बनाएको छ भने रास्वपाले रानालाई टिकट दिने भएको छ ।
२०७९ को निर्वाचनमा घिमिरे यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा राप्रपाबाट स्वागत नेपाल र नेकपाबाट हरि रानाको उम्मेदवारीले प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।
जुम्ला (विनिता कठायत र ज्ञानेन्द्र शाही)
जुम्लामा यस पटक विनिता कठायत र ज्ञानेन्द्र शाहीबीचको चुनावी प्रतिस्पर्धा निकै कसिलो हुने देखिएको छ । एकातर्फ वैकल्पिक राजनीतिलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कठायतले युवापुस्ता, सुशासन र परिवर्तनको एजेन्डा बोकेर मैदानमा उत्रिएकी छन् । कठायत २०७९ को आम निर्वाचनमा खस–आर्य समूहबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएकी थिइन् । संसद प्रवेश गर्नुअघि उनी ग्यालेक्सी फोरके टेलिभिजनमा ड्रेस डिजाइनरका रुपमा कार्यरत थिइन् ।
अर्कोतर्फ अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भइसकेका शाहीको स्थानीय पकड बलियो मानिन्छ । परम्परागत दलप्रतिको असन्तुष्टि, शाहीको व्यक्ति केन्द्रित प्रभाव र कठायतको नयाँ राजनीतिक छवि एकआपसमा भीड्दा जुम्लाको मत विभाजन असाध्यै सन्तुलित हुनसक्ने संकेत देखिन्छ ।
यही कारण यो निर्वाचन केवल उम्मेदवार परिवर्तनको प्रश्न मात्र नभई जुम्लाको राजनीतिक दिशा कुन धारतर्फ मोडिन्छ भन्ने निर्णायक परीक्षा बन्ने सम्भावना उच्च छ। जुम्लामा नेकपा एमालेबाट शान्तिलाल महत र नेकपाबाट नरेश भण्डारी उम्मेदवार तय भइसकेका छन् ।
चितवन–३ (रेनु दाहाल र सोविता गौतम)

चितवन- ३ मा नेकपाबाट भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल उम्मेदवार बन्ने पक्का छ । उम्मेदवारीका लागि उनले मंगलबार पदबाट राजीनामा दिने घोषणा गरिसकेकी छन् । भरतपुरमा दुई कार्यकाल लोकप्रिय मतसहित निर्वाचित भएकी दाहालको प्रतिस्पर्धामा रास्वपाबाट सोविता गौतम उभिने भएकी छिन् ।
सञ्चारकर्मबाट राजनीतिमा आएकी गौतम उनी २०७९ को चुनावमा काठमाडौं–२ बाट विजयी भएकी थिइन् । काठमाडौं २ लाई शाहले विकल्पमा राखेका कारण उनी यसपटक चितवन–३ झर्ने भएकी हुन् । यहाँ दुई चर्चित नेतृबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
भक्तपुर-२ (राजिव खत्री र महेश बस्नेत)

एमालेका सचिव महेश बस्नेत भक्तपुर २ बाट चुनाव लड्ने भएका छन् । बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई सोही ठाउँबाट उम्मेदवारी दिएको छ । खत्रीलाई पार्टीले काठमाडौं-१० मा उठाउने तयारी गरेको भए पनि अन्तिममा भक्तपुर २ मा टुङ्गो लागेको हो । खत्री पूर्वसञ्चारकर्मी हुन् । उनीहरूबीच चुनावी भिडन्त पनि रोचक हुने भएको छ ।
भक्तपुर-२ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं १० बासिन्दा हुन् । गत आमनिर्वाचनमा बस्नेत कांग्रेसका जिल्ला सभापति दुर्लभ थापासित पराजित भएका थिए । खत्री भने भर्खरै राजनीतिमा होमिएर पहिलो पटक चुनाव लड्दैछन् । सो क्षेत्रमा नेकपा ले रामप्रसाद सापकोटा (दीपशिखा) लाई उम्मेदवार बनाएको छ ।













प्रतिक्रिया