बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा « Khabarhub

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ ।

बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर घरायसी खर्च धान्दै आएका छन् । कृषियोग्य जमिन कम भएको र वैकल्पिक आम्दानीको अभावका कारण यहाँका बासिन्दा बाख्रापालनमै आश्रित भएका हुन् ।

स्थानीय साइमले धामीले आफूलगायत यहाँका धेरैजसो परिवारले बाख्रापालनबाटै जीविका चलाइरहेको बताए । उनले हाल ४० वटा बाख्रा पाल्दै आएका छन् । धामीका अनुसार उनले वर्षमा छ देखि १० वटासम्म खसी बिक्री गर्दै आएका छन् । ‘खसी बेचेर आएको पैसाले घरको नुन, तेल, लत्ताकपडा र अन्नपानीको जोहो मिलाउने गर्छौं’, उनले भने ।

यहाँ जिउँदो खसी प्रतिकिलो करिब ५०० रुपैयाँका दरले बिक्री हुने गरेको छ । धारापानी बस्ती खोला नजिकै रहेकाले अधिक बलौटे र ढुङ्गे माटोका कारण उब्जनी राम्रो हुँदैन । त्यसमाथि बाँदरले अन्नबाली सखाप पार्ने समस्या पनि छ ।

‘अन्नबाली लगाउँदा बाँदरले नोक्सान गरिदिन्छन्, त्यसैले हाम्रो लागि बाख्रापालन नै एक मात्र भरपर्दो आम्दानीको स्रोत बनेको छ’, धामीले थपे, ‘बाख्रापालनबाट वार्षिक ५० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरे पनि त्यो रकमले घरधन्दा चलाउन मात्र ठिक्क हुने गरेको छ ।’

यहाँ वन क्षेत्र प्रशस्त भएकाले बाख्रा चराउन समस्या छैन । स्थानीय बालाराम गौतमले २४ वटा बाख्रा पालिरहेको बताए । बाख्रापालन आम्दानीको मुख्य स्रोत भए पनि त्यसको व्यवसायीकरणमा भने समस्या रहेको उनको भनाइ छ । ‘यहाँ बाख्रा बिरामी भए उपचार पाइँदैन, कतिपय अवस्थामा उपचार नपाएर खोर नै रित्तो हुने गरेको छ’, उनले गुनासो गरे, ‘परम्परागत तरिकाले गोठमा राखेर बाख्रापालन गर्दै आएका छौँ । उन्नत जातका बाख्रापालन गरे उत्पादन र आम्दानी दुवै बढ्ने सुनिए पनि हामीले त्यसअनुसार गर्न सकेका छैनौँ ।’

उनका अनुसार आवश्यक ज्ञान, सीप र लगानी भए बाख्रापालनलाई गुजारामुखीभन्दा पनि बलियो आम्दानीको स्रोत बनाउन सकिने गौतमको बुझाइ छ ।

बस्तीका अन्य किसानहरू पनि उस्तै समस्याबाट गुज्रिरहेका छन् । साइमले र बालारामजस्तै सुरेन्द्र महराले ४०, मूल्याल साहुले ३५ र मोहन महराले १७ वटा बाख्रापालन गर्दै आएका छन् ।

पछिल्लो समय चितुवाको आक्रमणले किसानहरू थप समस्यामा परेका छन् । सुरेन्द्र महराका अनुसार दैनिकजसो चितुवाले बाख्रा मार्ने गरेको छ । वनमा चराउन पठाएका बाख्रामध्ये दिनमै दुईदेखि चार वटासम्म चितुवाले मारेर खाने गरेको उनले दुःखेसो पोखे ।

स्थानीय मोहन महराका अनुसार वन क्षेत्र नजिकै भएकाले चितुवाको जोखिम उच्च रहेको छ । बाख्रा चराउन पठाउँदा सुरक्षा व्यवस्था नहुँदा किसान सधैँ त्रासमा बस्न बाध्य छन् । ‘पशु स्वास्थ्य सेवा, तालिम, उन्नत जातका बाख्रा, गोठ सुधार र बिमा जस्ता सुविधाको अभावले पछाडि परेका छौँ’, उनले भने, ‘सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग प्राप्त भए बाख्रापालन व्यवसायलाई व्यवस्थित र लाभदायक बनाउन सकिन्छ ।’

धारापानी बस्तीका बासिन्दाले बाख्रापालनलाई दिगो र सुरक्षित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पशु उपचार सेवा विस्तार, तालिमको व्यवस्था, अनुदान कार्यक्रम र वन्यजन्तु नियन्त्रणका उपाय तत्काल लागू गर्न यस क्षेत्रका बासिन्दाले माग गरेका छन् । (रासस)

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : २५ बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्