अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना « Khabarhub

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैरजिम्मेवार सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

आज यहाँ विदुर नगरपालिकाको बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सञ्चार जगत्ले जिम्मेवार एवम् आत्मअनुशासित भएर काम गर्नुपर्ने बताए। राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चार जगत् विधिविधान र आचारसंहिता परिपालनामा गम्भीर हुनुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो । 

‘सामाजिक सञ्जालमा मात्र नभै सञ्चार जगत्ले सम्प्रेषण गर्ने सामग्रीमा पनि केही समस्या छन् । यदि यस्ता कुरामा कडाइ गर्न थाल्यौँ भने फेरि अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाइयो भनेर सञ्चारमाध्याम नै आवाज उठाउन थाल्छन्’, उनले भने,’यी सबै समस्या कारबाहीबाट समाधान गरिनुपर्छ भन्ने पक्षमा सरकार छैन । तपाईंहरू आफैँ स्वनियमन र आचारसंहिताको पूर्णपालनामा केन्द्रित हुनुहोला ।’

सञ्चारमन्त्री डा. तिमिल्सिनाले समाचारले पार्ने प्रभावको बहुआयामिक विश्लेषण गर्न पनि आग्रह गरे। ‘भ्रमको आयु छोटो हुन्छ, तर त्यसले पार्ने क्षति गम्भीर हुनसक्छ । त्यसैले अपुष्ट सूचनाबाट सञ्चारमाध्याम सचेत हुन जरूरी छ’, उनको भनाइ थियो । 

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले पूर्ण प्रेस स्वतन्त्रता तथा व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्दै श्रमजीवी पत्रकारको हितमा काम गर्ने बताए। उनले विज्ञापन तथा सूचना प्रकाशन-प्रसारणमा पारदर्शिता ल्याउन, मितव्ययिता कायम गर्न र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धनका लागि विज्ञापन नीतिमा केही नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरे। 

उनले सञ्चारमाध्यम बलियो नभए सरकार पनि बलियो नहुने उल्लेख गर्दै सञ्चारमाध्यम जिम्मेवार नभएसम्म सरकारलाई पनि जिम्मेवार बनाउन कठिन हुने धारणा राखे। सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारी सञ्चारमाध्यमलाई थप जिम्मेवार र व्यावसायिक बनाउन पहल भइरहेको उल्लेख गर्दै समाधानमुखी र तथ्यमा आधारित पत्रकारितामा जोड दिए । उनले विधिको पालना गर्दै सरकार जनताप्रति उत्तरदायी भएर काम गर्न प्रतिबद्ध रहेको बताए। 

विगतमा जनताका प्रश्नको उत्तर समयमै नदिइएका कारण हरेक नागरिकमा आशाको अभाव देखिएको उल्लेख गर्दै मन्त्री डा. तिमिल्सिनाले हाल काममार्फत त्यसको उत्तर दिने प्रयास भइरहेको बताए। 

‘सहज सेवा प्रवाह, सुशासन, विकास निर्माणलगायत क्षेत्रका समस्या स्रोत–साधनको अभावले मात्र होइन, कार्यशैली र प्रतिबद्धताको कमीले पनि देखिएका थिए । यिनै समस्या चिर्ने काम सरकारले गरिरहेको छ’, उनले भने।

सरकारले सुशासन कायम गर्ने र प्रभावकारी सेवा प्रवाह गर्ने जनादेश पाएकाले सोहीअनुसार आफूहरूले काम गर्ने र कुनै समस्या भए निरन्तर खबरदारी र निगरानी राख्न पनि उनले आग्रह गरे। 

‘सरकारलाई सत्यमा आधारित प्रश्न गर्नुहोस् । समस्या देखिएका ठाउँमा गाँठो फुकाउन दबाब दिनुहोस् र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव दिनुस्, त्यसलाई सहर्ष स्वीकार्छौं’, सञ्चारमन्त्री तिमिल्सिनाले भने ,’तथापि, सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाले कसैलाई फाइदा गर्दैन । यसमा सबै सचेत बनौँ ।’

सेवा प्रवाहलाई सहज बनाउन सूचना र प्रविधिको अधिकतम् प्रयोग गर्ने सरकारको योजना रहेको पनि उनले जानकारी दिए । मन्त्री तिमिल्सिनाले युवा विदेशिने बाध्यता अन्त्य गर्न मुलुकभित्रको वातावरण सुधार्ने, देशलाई बस्न योग्य बनाउने र अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गरे। काम गर्ने क्रममा समस्या आउन सक्ने स्वीकार्दै उहाँले नियत सही भए प्रक्रियागत रूपमा समाधान गर्न सकिने बताए ।

मन्त्री तिमिल्सिनाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गर्दै बुझाइमा केही समस्या भए पनि सेवा प्रवाहमा असर पर्न नदिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  २ : ५७ बजे

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे