फेरि बज्न थाल्यो वाम एकताको धुन, ओली–प्रचण्डले नेतृत्व छोड्नुपर्ने सर्त « Khabarhub

फेरि बज्न थाल्यो वाम एकताको धुन, ओली–प्रचण्डले नेतृत्व छोड्नुपर्ने सर्त

पुस्तान्तरणबिनाको एकता अर्थहीन : विश्लेषक



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच अस्पतालमै भेटघाट भएपछि वाम एकताको विषयले पुनः एक पटक चर्चा पाएको छ । दुई नेताहरूले बाम एकताको विषयमा मुख नखोले पनि अरू नेताहरु दुई जना भेटेर वाम एकताको चर्चा चलाएको दाबी गर्छन् ।

ओली र प्रचण्डको सचिवालयले पनि त्यसको संकेत गरेको छ । तर पार्टीमा वाम एकता हुँदा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनसहितको एकता हुनुपर्ने मत धेरैले राखेका छन् ।

राजनीति विश्लेषकदेखि पार्टीकै नेताहरू पनि अहिलेको नेतृत्व नै रहनेगरी बाम एकता बेमौसमी बाजा भएकाले नबजाउन आग्रह गर्छन् । पहिलो र दोस्रो पुस्ताको सम्मानजनक बिदाइपछि एकताको एजेण्डा उचित हुने युवा नेताहरुको धारणा छ ।

नेताहरू आत्मासमीक्षा गर्ने र पुनर्गठित टिमले एकताको कुरा अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । वर्तमान सरकारलाई टक्कर दिने किसिमको वाम एकता र पार्टीको ध्रुवीकरण हुनुपर्ने बताउँदै तत्कालको एकता वाम एकता नभएको र पार्टीहरूमै पुनर्गठन जरुरी रहेको बताइन्छ ।

अहिले एमालेका वैचारिक र युवा नेताले पुरानै ढर्रा र तरिकाले पार्टीहरू नचल्ने भन्दै पुस्तान्तरण र हस्तान्तरणको एजेण्डा अगाडि बढाइरहँदा पुराना पुस्ता तर्सिएका छन् । एमालेका युवा नेता सुहाङ नेम्वाङ पार्टी पुनर्गठनसहित आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।

नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य आरती लामा पनि पार्टीले गम्भीर रुपमा आत्मासमीक्षा गरेर मात्रै अन्य कुराहरू अगाडि बढाउनुपर्नेमा जोड दिन्छिन् । उनी यही नेतृत्वले वर्तमान समस्या समाधान गर्न नसक्ने बताउँछिन् ।

दुवै पार्टीका युवा पुस्ताले पनि पार्टी पुनर्गठनसहित नेतृत्व परिवर्तन र पुस्तान्तरण हुनुपर्ने माग उठाउँदै आएको छ । यस्तो माग उठाउनेमा एमालेका योगेश भट्टराई, बिन्दा पाण्डे, प्रदीप ज्ञवाली, नेकपाका नेताहरु देव गुरुङ, तत्कालीन उपाध्यक्ष पम्फा भुसाल लगायत छन् । दुई नेताको भेटघाटबीच वाम एकताको विषयमा चर्चा भएपनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा दुवै पक्ष मौन छन् ।

दुई नेताहरूले एकता गर्दा आफू नै नेतृत्वमा रहने सुर कसेको खण्डमा तेस्रो पुस्ता विद्रोह गर्न समेत तयार हुनुपर्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको मत छ । उनी अहिलेको पुस्ता नै नेतृत्वमा रहनेगरी वाम एकता गर्नुको कुनै तुक नरहेको बताउँदै पुस्तान्तरण र आत्मसमीक्षासहितको एकता भए जनताले पनि विश्वास गर्ने दाबी गर्छन् ।

हुन त २०७४ सालमा वामपन्थी शक्तिहरुबीच एकता भएको थियो । त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओली, वर्तमान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालबीचको झगडाले त्यो एकता लामो समय जान सकेन । एकता तोडिएसँगै माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमाले पनि दुई भागमा विभाजन भयो ।

हालै सम्पन्न निर्वाचनअगाडि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाए । तर, माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेतृत्वको समूहले विद्रोह गरेर अर्कै पार्टी स्थापना गरेका छन् । जनार्दनको पार्टीले पनि निर्वाचनमा एक सिट समेत जित्न सकेन ।

अहिले उनको पार्टीका नेताहरू पनि सामाजिक रूपान्तरणसहित पार्टीहरूबीच एकता हुनुपर्ने आवाज उठाउन थालेको स्रोतको दाबी छ । निरन्तर टुटफुटका कारण कम्युनिष्ट पार्टीहरु विभिन्न खेमामा विभक्त छन् । वाम राजनीतिक विश्लेषक हरि रोक्का कम्युनिष्टहरूले जुँगाको लडाईं नगरी गम्भीर आत्मासमीक्षाका साथ पार्टीहरूलाई पुनर्गठन गर्नुपर्ने बताउँछन् ।

वाम एकता भए के हुन्छ ?

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसहित अरु बामपन्थीहरू एक भए प्रतिनिधि सभामा वामहरू प्रमुख प्रतिपक्षी दल बन्ने छन् । एकता भए प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल बनेसँगै सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने अवस्थामा यी शक्ति पुग्ने देखिन्छ ।

आजकै दिनमा वाम एकता भएको खण्डमा सरसर्ती अङ्कगणित हेर्दा ६ प्रदेशमा वामपन्थी सरकार बन्नेछ भने ७५३ पालिकामध्ये ३ सय ३० भन्दा धेरैमा वामपन्थी सरकार हुने अवस्था छ । राजनीति विश्लेषक श्याम श्रेष्ठ परिपक्क वाम एकता भएमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सन्तुलित गर्न महत्वपूर्ण हुनसक्ने बताउँछन् । उनी नेपाली कांग्रेसको कलह जस्तो पार्टीभित्रै एकरूपता नभएको अवस्थामा एकताको अर्थ नहुने विश्लेषण गर्छन् ।

नेपाली कांग्रेसमा पनि आन्तरिक कलहका कारण अहिले प्रतिनिधि सभामा दह्रो प्रतिपक्षी हुने सम्भावना देखिँदैन । यता बाम एकता भएपनि अध्यक्षमा ओली अथवा प्रचण्ड नै रहेको खण्डमा प्रतिपक्षीले दह्रो भूमिका निभाउने अवस्था छैन ।

प्रतिपक्षी दह्रो नभएको खण्डमा लोकतन्त्र नै कमजोर हुने भएकाले बलियो प्रतिपक्षी बनाउनका लागि पनि पार्टीहरूले नेतृत्व हस्तान्तरण र पुस्तान्तरण सहितको एजेन्डा अगाडि ल्याएर काम गर्नुपर्ने विश्लेषक बताउँछन् ।

पार्टीभित्र नै एक मत नभएको खण्डमा वाम एकता र अन्य कुनै पनि एकता टिक्न सक्नेमा आशङ्का छन् । अहिले यसबारे एमाले र नेपाली कम्युनिस्ट पार्टीमा पनि बहस चल्न थालेको छ । पार्टीभित्र गम्भीर आत्मसमीक्षा र आत्मआलोचना भएपछि मात्रै नयाँ नेतृत्वले पार्टीमा एकताको छलफल अगाडि बढाउनुपर्ने धेरैको मत छ ।

एकता र नेतृत्व परिवर्तनको सन्दर्भमा एमाले र नेकपाका नेताहरूको आआफ्नै मत देखिन्छ । तर उनीहरू नेतृत्व हस्तान्तरण हुनुपर्ने र पार्टीभित्रै एकरुप धारणा आउनुपर्ने विषयमा एकमत छन् । यति मात्रै होइन, २०७४ सालको जस्तो अपरिपक्व एकता र स्वार्थी राजनीतिले कहीँ पनि नपुर्‍याउने भन्दै परिपक्क एकता र आत्मसमीक्षासहितको एकतामा उनीहरू जोड दिन्छन् ।

नेताहरू के भन्छन् ?

फाइल तस्बिर

पुरानो तरिकाले पार्टी चल्दैन, गम्भीर निष्कर्ष निकालौँ : प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य, नेकपा एमाले

वाम एकताको विषयमा कमसेकम संस्थागत छलफल भएको र केही निर्णय भएको जानकारी मलाई छैन । एमालेले एकताको विषयमा त्यो ढंगले कुनै संस्थागत छलफल चलाएको छैन । व्यक्तिगत रुचिका आधारमा वाम एकताको हल्ला चलाइयो या साँच्चिकै नेताहरूबीच त्यस्तो कुराकानी भएको हो नेताहरूले स्पष्टीकरण दिनुपर्छ ।

वाम एकताको लागि पार्टीहरूको अनुकूल समय छ भन्ने पनि मलाई लाग्दैन । किनभने सबैभन्दा पहिले पार्टीहरूले निर्वाचनको क्रममा भएको हार र गल्तीबारे गम्भीर समीक्षा र आत्मलोचना गर्नुपर्नेछ । निर्वाचनमा कम्युनिष्ट आन्दोलन र लोकतन्त्रवादी शक्तिले यति धेरै धक्का किन खानुपर्यो भनेर निष्कर्ष निकाल्न सकेको अवस्था छैन ।

दलहरूले आफ्नो आत्मसमीक्षा नगर्दै र अगाडिको योजना पनि के हो भनेर निर्धारण गरिनसक्दै वाम एकताको छलफल हुन्छ भन्ने मलाई लाग्दैन । नेतृत्व परिवर्तन, हस्तान्तरण र नयाँ पुस्ता अगाडि आउने विषय छलफलमा छन् र हुनुपर्छ । ती विषयलाई पार्टीले क्रमशः ध्यान दिँदै गएका छन् र दिन्छन् भन्ने मलाई लागेको छ। तर पहिलो कुरा के हो भने गम्भीर रुपमा आत्मसमीक्षा गरौँ ।

पहिला पार्टी कहाँ, किन, कसरी र के कारणले चुक्यो ? अब के गर्नुपर्छ कसरी अगाडि बढ्नुपर्छ ? भन्ने विषयमा सबैको धारणा ल्याउने किसिमको छलफल थाल्नुपर्छ । मैले यति भनेँ कि पुरानै अवस्थामा पुरानै परिपाटीले अब पार्टीहरू चल्दैनन् नयाँ सोच नयाँ विचार आउनुपर्छ।

पार्टी पुनर्गठनपछिको एकता टिकाउ हुन्छ : पञ्चा सिंह, केन्द्रीय सदस्य, नेकपा

०७४ सालमा भएजस्तो परम्परागत वाम एकताको पक्षमा हामी छैनौँ । पहिला पार्टी-पार्टीबीच गम्भीर समीक्षा गर्नुपर्छ । गम्भीर समीक्षापछि पार्टी पुनर्गठन हुन जरुरी छ । नयाँ नेतृत्व पार्टीमा आएपछि त्यो कमिटीले वाम एकता लगायत अरु विषयमा निर्णय गर्न पाउनुपर्छ । गम्भीर रूपमा पार्टीबीच आन्तरिक आत्मसमीक्षा मूल्याङ्कन र सुदृढीकरण नभई एकताको विषय सम्भव छैन ।

पार्टीहरूको पुनर्गठन र रूपान्तरण अहिलेको पहिलो सर्त हो । दोस्रो वाम एकता हुँदा पनि ०७४ को जस्तो एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड माधव नेपाल लगायत नेतृत्वमा रहने कुरा अब जनताले कतिको स्वीकार्छन्, त्यो विश्लेषण हुनु जरूरी छ । समग्रमा हेर्दा अब पुरानो नेतृत्वलाई जनताले स्वीकार्दैनन् ।

पार्टीको रूपान्तरण र पुस्तान्तरण सहित नयाँ नेतृत्वले एकताको पहल गरोस् । बाम एकता जरूरी छ, तर यथास्थितिमा एकता गर्‍यो भने ०७४ सालकोभन्दा खराब हालत पार्टीले व्यहोर्नुपर्छ । आत्तिएर र हतारिएर भएको एकताले अहिलेको पार्टीको संकट टर्दैन ।

अहिले पार्टीहरूको पुनर्गठन हुनुपर्‍यो र पुनर्गठित कमिटीले वाम एकताका विषयमा प्रक्रिया अगाडि बढाउँदा ठिक होला । अर्को कुरा, नेतृत्व अब युवा पुस्ताले नै सम्हाल्नुपर्छ।

पार्टीभित्रै एकरूपता त्यसपछि वाम एकता : रामकुमारी झाँक्री, राष्ट्रिय सभा सदस्य

वामपन्थी आन्दोलन मात्र होइन समग्र लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलन नै एक हुनुपर्ने अवस्था छ । वाम एकताको कुरा पनि ठिकै छ । तर वाम एकता खण्डित हुनसक्छ त्यसकारण लोकतान्त्रिक प्रगतिशील विचारधाराहरू एक हुनुपर्छ । ०६२/०६३ सालका क्रान्तिका सहकर्मीहरू ०४६ सालको आन्दोलनका साक्षीहरू एक हुनुपर्नेछ । नेतृत्व परिवर्तन गर्ने, पुरानो पार्टीका आ-आफ्ना सिस्टम छन् । त्यसअनुसार नेतृत्व फेर्नुपर्छ । यदि फेर्न सकिँदैन भने अहिलेको आवश्यकता के हो ? त्यसलाई केलाएर त्यस अनुसार अगाडि बढ्नुपर्छ।

यो परिस्थिति किन आयो भनेर विश्लेषण नगरी अड्कल काट्न गाह्रो छ । सर्वप्रथम पहिला पार्टीभित्रै एकरुपता आउन जरुरी छ । पार्टीहरू बीचमै दुई तीनवटा विश्लेषण हुँदा पनि समस्या देखिन्छ । त्यसकारण एमालेको खास कुरा के हो भनेर अगाडि आउनुपर्छ । जब विश्लेषणमा एकरुपता आउँछ, तब मात्रै यसरी अगाडि बढौँ है भन्ने निचोड निक्लिन्छ।

पार्टीभित्रै एकरूपता नभएपछि वाम एकताको अर्थ छैन । पछिल्लो राजनीतिक परिवर्तनको सैद्धान्तिक राजनीतिक र ठोस विश्लेषणबिना गरिने एकता कतिको सम्भव छ भन्ने विषय उठ्ला । लोकतान्त्रिक पद्धतिबाट अब पार्टीको आवश्यकता के हो भनेर छलफल गर्नुपर्छ । यस्तै तरिकाले पार्टी चल्छ भनेर सोचे फेरि हामी खाडलमा पर्ने सम्भावना हुन्छ ।

पार्टीमा एकरुपता नआई भिन्न पार्टीबीच एकता सम्भव छैन । ०७४ सालमा पनि हामीले पार्टी एकता गरेर विभाजनको नमिठो चोट खेपिसकेका छौँ । सबैलाई पाखा राखेर लाज ढाक्न दुई जनाले मात्रै लुगा सिलाएर लाऊँ भन्नु चाहिँ व्यर्थको कुरा हुन्छ । समीक्षा गरेर पार्टीहरूले एक धारणा नबनाएसम्म एकताको कुनै अर्थ छैन ।

एकता हुँदा पनि यो पछिल्लो परिस्थितिलाई चिर्नसक्ने र समाजको तल्लो तहसम्म भिजेको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । मैले पुनः दोहोर्‍याएँ, पुरानै कार्यशैलीले पार्टीहरूलाई सञ्चालन गर्न समस्या हुन्छ । नवीनतम सोच र विचार आउन जरुरी छ । नयाँ युवा छ तर उसको सोच र विचार नवीनतम छैन, लोकतान्त्रिक पद्धति अपनाएर अगाडि नबढ्ने युवा नेतृत्व छ भने त्यसले पनि काम गर्न सक्दैन । त्यसकारण आवश्यकता, क्षमता, योग्यता के र कस्तो छ भन्ने कुरामा भर पर्छ ।

पुरानो नेतृत्व फेल भयो पुस्तान्तरण र हस्तान्तरणको एकता ठीक छ : रञ्जित तामाङ, युवा नेता, नेकपा

अहिलेको आवश्यकता पुस्तान्तरण र हस्तान्तरणसहितको वाम शक्ति र समाजवादी शक्तिहरूबीचको एकता र ध्रुवीकरण हो । ०७४ मा कम्युनिस्ट पार्टीहरू एक भइसकेपछि समाजवादको लक्ष्य सहितको एजेण्डा र मुद्दालाई जनताले अनुमोदन गरेका थिए।

तर त्यो जनताले दिएको अवसर सदुपयोग गर्न नसकेर नेतृत्वबीच सत्ताको लुछाचुँडी र आन्तरिक बेमेल हुँदा एकता टिकाउन नसक्दा अवसर चुक्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको काम कारबाही हेर्दा पुँजीवादी खेमाअन्तर्गत नै उहाँहरूले नेतृत्व गरेको देखिन्छ किनकि सम्पत्ति विवरण सार्वजनिक भएको आधारमा पनि मूल्याङ्कन गर्ने अवस्था छ।

जनताले पुरानै एजेण्डा व्यक्ति र नेतृत्व स्वीकार गर्ने अवस्था छैन । त्यसकारण पुस्तान्तरण र हस्तान्तरणसहितको समाजवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो । हिजोको कमजोरी बोकेर एकता सम्भव छैन । आजको समय र सन्दर्भअनुसार नयाँ पुस्ता र परीक्षण नभइसकेको पुस्ता नेतृत्वमा आउनु जरुरी छ ।

पुस्तान्तरणसहितको समाजवादी शक्तिहरूको एकता आजको आवश्यकता हो । समाजशास्त्रले नै इतिहासको पुनरावृत्ति हुँदैन भनेको छ । हिजोको दिनमा जुन आवश्यकता थियो, त्यो आजको आवश्यकता होइन । प्रचण्ड र केपी ओलीलाई जनताले ०७४ मा अवसर दिएको हो । उहाँहरूले त्यो अवसर चुकाउनुभयो । अब अब पुनः उहाँहरूलाई नेतृत्वमा लिएर जाने, उहाँहरूलाई नै अगाडि बढाएर जनतासामु जाने कुरालाई जनताले अनुमोदन गर्छन् कि गर्दैनन् भनेर गम्भीर विश्लेषण स्वयम्ले गर्नुपर्छ ।

नेता कार्यकर्ताले त उहाँहरूको नेतृत्व स्वीकार्लान् तर जनताले अब उहाँहरूको नेतृत्व स्वीकार्दैनन् । फेल भयो भन्ने कुराको पुष्टि भइसकेको छ । कुनै नेता कार्यकर्ताले बोल्यो, बोलेन र आफ्नो विचार राख्यो राखेन त्यो आफ्नो ठाउँमा छ । तर नेतृत्व पुस्तान्तरण हस्तान्तरण र नयाँ सोच सहितको सामाजिक एकता आजको अपरिहार्य आवश्यकता हो । यसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्छ । वर्तमान अवस्थामा वामपन्थी एक भएको खण्डमा सरकारलाई पनि निगरानी गर्न सक्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ३९ बजे

सूर्यविनायक–धुलिखेल सडक विस्तारको अवस्था (तस्बिर)

बनेपा– अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अझै पूर्ण

खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यसो भन्छन् चिकित्सक

काठमाडौँ- गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा

एमाले सचिवालय बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक

 ‘स्टार किड’लाई फिल्म पाउन सहज, हिट बनाउन सकस

काठमाडौं – स्टार किडलाई मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न कति सहज