विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित « Khabarhub

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८ वर्षपछिको विश्वकपमा विजयी सुरुवात गरेको छ । आइतबार भएको समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित दर्ता गरेको हो ।

बोस्टन बाहिर रहेको ६४ हजार दर्शक क्षमताको जिलेट स्टेडियममा एस्टन भिल्लाका कप्तान म्याकगिनले खेलको २८ औँ मिनेटमा गोल गरेका थिए । डिफ्लेक्ट हुँदै बलले जाली चुमेपछि स्टेडियममा उपस्थित बहुसङ्ख्यक स्कटिस समर्थकले खुसीयाली मनाएका थिए । सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलिरहेको आफ्नो टोलीलाई समर्थन गर्न ठूलो सङ्ख्यामा स्कटिस प्रशंसक अमेरिका पुगेका छन्।

स्कटल्यान्डले विश्वकपमा जित हात पारेको यो सन् १९९० यताकै पहिलोपटक हो । त्यतिबेला इटालीमा भएको विश्वकपमा स्कटल्यान्डले स्विडेनलाई २–१ ले हराएको थियो । सन् १९९६ को युरो कपपछि कुनै पनि ठुलो प्रतियोगितामा स्कटल्यान्डको यो पहिलो जित हो ।

मुख्य प्रशिक्षक स्टिभ क्लार्कको टोली यसपटक विश्वकपको नकआउट चरणमा पुगेर नयाँ इतिहास रच्ने दाउमा छ । स्कटल्यान्ड अहिलेसम्म विश्वकपको इतिहासमा नकआउट चरणमा पुग्न सकेको छैन । हाइटीविरुद्ध खेलको अन्तिम समयमा दबाब झेल्नुपरे पनि यो जितले स्कटल्यान्डलाई अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ । यस पटकको नयाँ संरचनाअनुसार समूह चरणमा उत्कृष्ट हुने आठ वटा तेस्रो स्थानका टोली पनि अर्को चरणमा प्रवेश पाउने छन् ।

विश्व वरीयतामा ८४ औँ स्थानमा रहेको हाइटी प्रतियोगिताकै सबैभन्दा तल्लो वरीयताका टोलीमध्ये एक हो । अगाडि बलिया प्रतिद्वन्द्वी रहेकाले स्कटल्यान्डका लागि क्यारेबियन राष्ट्र हाइटीलाई हराउनु निकै महत्त्वपूर्ण थियो । स्कटल्यान्डले अब शुक्रबार यसै स्टेडियममा मोरक्कोको सामना गर्ने छ भने त्यसपछि ब्राजिलसँग खेल्न मियामी जाने छ । यसअघि शनिबार न्युजर्सीमा भएको समूह ‘सी’ को अर्को खेलमा मोरक्को र ब्राजिलले १–१ को बराबरी खेलेका छन् ।

देशभित्रको राजनीतिक अशान्ति र घरेलु मैदानमा छनोट खेलसमेत खेल्न नपाएको अवस्थामा हाइटी विश्वकपसम्म आइपुग्नु आफैँमा एक प्रेरणादायी कथा हो । हाइटीको टोलीमा यस सिजन इंलिस प्रिमियर लिग खेलिसकेका मिडफिल्डर जिन–रिकनर बेलेगार्डे र स्ट्राइकर विल्सन इसिडोर सामेल थिए । तर, म्याकगिन, कप्तान एन्डी रोबर्टसन र स्कट म्याकटोमिनेजस्ता स्टारहरू रहेको स्कटल्यान्डको टोली तुलनात्मक रूपमा बढी सन्तुलित देखिन्थ्यो ।

पेटको खराबीबाट निको हुँदै टोलीमा फर्किएका नापोलीका अट्याकिङ मिडफिल्डर म्याकटोमिनेले खेलको १७ औँ मिनेटमै स्कटल्यान्डलाई अग्रता दिलाउने सुनौलो अवसर पाएका थिए, तर बेन ग्यानोन-डोएकको पासमा उनले प्रहार गरेको सट गोलपोस्टमा लागेर फर्किएको थियो ।

खेलको २८ औँ मिनेटमा म्याकगिनको प्रहार बेलेगार्डेको खुट्टामा ठोक्किँदै गोलमा परिणत भएपछि स्कटल्यान्डले अग्रता लियो । त्यसपछि हाइटीले खेलमा उत्कृष्ट पुनरागमनको प्रयास गर्दै स्कटल्यान्डमाथि निरन्तर दबाब बढाएको थियो । फ्रान्समा जन्मेका रुबेन प्रोभिडेन्सले विङ्ग्स्‌बाट लगातार आक्रमण बुनेका थिए भने ८५ औँ मिनेटमा फ्रान्टज्डी पियरोटको उत्कृष्ट हेडर गोलपोस्टको थोरै बाहिरबाट बाहिरिँदा हाइटी बराबरी गर्नबाट चुक्यो ।

यसअघि सन् १९७४ को विश्वकपमा आफ्ना सबै तीनवटै खेल हारेको हाइटीले अब फिलाडेल्फियामा ब्राजिलको सामना गर्ने छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १० : १४ बजे

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा