‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’ « Khabarhub

अन्तर्वार्ता

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’



काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन् । खोटाङबाट विजयी भएका राईलाई पार्टीले प्रमुख सचेतकको जिम्मेवारी पनि दिएको छ । समसामयिक विषयमा खरो प्रश्न गर्ने राई आबद्ध पार्टीले सोमबार बसेको संसद बैठकमा अनौठो दृश्य प्रस्तुत गर्‍यो । प्रतिनिधिसभा बैठकमा प्लेकार्ड बोकेर श्रम संस्कृतिले सरकारलाई खबरदारी गर्दै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्‍यो ।

प्लेकार्डमा सुकुम्वासी हटाएकोदेखि मूल्यवृद्धि र प्रधानमन्त्रीले संसद छलेको विषयसम्म प्रस्तुत गरिएको थियो । प्लेकार्ड सहित सदनमा उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृतिका सांसदलाई सचेत गराएका थिए । त्यसपछि उनीहरूले प्लेकार्ड आफूले लगाएको टिसर्टमा झुण्ड्याए ।

आरेन यसबारे भन्छन्, ‘प्लेकार्ड देखाएर शान्तिपूर्ण ढंगले नयाँ लोकतान्त्रिक अभ्यास अपनाएका हौँ । कसैलाई असर नगर्ने गरी शिष्टाचार विरोध गरेका हौँ ।’ उनी जनताको आवाज काहीँबाट पनि सुन्न सरकारले नसकेपछि आफूहरुले यो विधि अपनाएको दाबी गर्छन् । उनी भन्छन्, ‘जनताको पक्षमा आवाज उठाउँदा नियमावली बाधक हुन्छ भने त्यसलाई संशोधन गरौँ ।’

आरेन नयाँ पार्टीले चलाएकोले वर्तमान सरकार सफल हुनुपर्छ भन्ने हिसाबले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई घचघच्याइरहेको दाबी गर्छन् । उनी वालेन्द्र शाहसँग नभइ सरकारका प्रधानमन्त्री र सरकार चलाउने पार्टीसँग आफूहरू असन्तुष्ट भएको बताउँछन् ।

हामीले आरेन राईसँग श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ र प्रधानमन्त्री बालेनको सम्बन्ध, संसदमा देखाएको गतिविधि र सरकारसँग के अपेक्षा राखेको छ श्रम संस्कृतिले लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

तपाईँहरूले सदनमा प्लेकार्ड लिएर उपस्थित हुनुभयो । यो संसदीय मर्यादा विपरीतको कुरा हो भनेर सभामुखले सचेत पनि गराउनुभएको छ । यसरी उपस्थित हुनुहुँदैन भन्ने विषयमा जानकारी थिएन ?

हामीलाई जानकारी नभएको होइन । हामीलाई सचेत गराएर सभामुखले आफ्नो कर्तव्य निर्वाह गर्नुभएको हो । उहाँलाई म धन्यवाद दिन्छु । संसारमा सरकारले सांसदको कुरा नसुनेपछि संसदको नियमावली र विधानभन्दा पर गएर फरक ढंगले विरोध गर्ने अभ्यास पनि छ । यहाँले देख्नुभएकै छ, कति ठाउँमा त अर्धनग्न भएर विरोध गरेका पनि हुन्छन् । कति ठाउँमा त कुर्सी भाँचेर आक्रमक ढङ्गले प्रचार गरेका पनि छन् ।

यी इतिहासलाई यहाँहरूले हेरेकै होला, ती फरक कुरा हुन् । हामीले त्यो गर्नुपर्छ भनेको पनि होइन । लोकतन्त्रको पहिलो प्राक्टिस नै संसदबाट हुन्छ । यहाँलाई थाहा नै छ- नेपालको २४० वर्ष राजतन्त्रलाई ढालेर श्री ५ महाराजधिराजको सरकारलाई नेपाल सरकार भनेर सदनबाटै घोषणा गरिएको हो । लोकतन्त्रको अभ्यास संसदबाट सुरु हुन्छ ।

त्यसै कारण लोकतान्त्रिक, शान्तिपूर्ण र मौन ढंगले सरकारलाई हामीले शिष्टाचारपूर्ण विरोध गरेका हौँ । विरोध पनि होइन सरकारलाई एउटा खबरदारी र सन्देश पठाएका हौँ । सम्माननीय प्रधानमन्त्री संसदबाट भाग्नु हुँदैन संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने कुरा हो । संसद भनेको २७५ जना मान्छे बस्ने घर होइन । संसद भनेको समग्र आम नेपालीहरूको सार्वभौम संसद हो सबैले चुनेर पठाएको सम्मानित सदन हो ।

नयाँ भनिएकाले पनि संसदीय नियमावली नमान्ने र पुरानै शैलीमा जाने तरिकाले त भोलि यहाँहरु माथि पनि गम्भीर प्रश्न उठ्ला नि ?

ठिक छ, यी प्रश्नहरूको सामना हामी गर्न तयार छौँ । हामीले हल्ला गर्‍यौँ/गरेनौँ । शान्तिपूर्ण ढंगले काम गरेका छौँ । जनता र शुभचिन्तकले राम्रोसँग देखेका छन् । हामी जनताको प्रतिनिधि हौँ । जनताको कुरा राख्न हामीलाई बन्देज गरेपछि यो अभ्यास अपनाएका हौँ । जनताको पक्षमा आवाज उठाउँदा नियमावली बाधक हुन्छ भने त्यसलाई संशोधन गरौँ । बनाइसकेपछि नियमावली ठूलो होला तर नियमावलीभन्दा त २७५ जना सांसद प्रमुख होलान् नि । २७५ सांसदभन्दा तीन करोड जनता ठूलो होला । जनताको प्रश्नबाट सरकार भाग्नु हुँदैन भन्ने हाम्रो कुरा हो ।

यहाँहरुलाई आफूले गरेको गतिविधिमा कुनै पछुतो छैन ?

हामीले पछुतो हुने किसिमको कुनै काम नै गरेको छैनौँ । मैले यहाँलाई भनिसकेँ त, हामीले त्यहाँ कुनै किसिमको केही नकारात्मक ढंगले टिकाटिप्पणी गरेका छैनौँ । कहीँ असर पुग्ने काम गरेका छैनौँ ।

तर नियमावलीमा नभएका काम गर्दा प्रश्न गर्ने ठाउँ त भयो नि ?

कुर्सी भाँच्ने, पोशाक फुकाल्ने, टेबल फुटाउनेजस्ता गतिविधि हिंसाको प्रतीक हो । अनैतिक भाषा बोल्ने, नकारात्मक शारीरिक संकेत गर्ने कुरा पो खराब हो त । हामीले स्वविवेक देखाएर सरकार जनताप्रति जवाफदेही हुनुपर्छ, दमन नगरियोस्, सार्वभौम सदलाई हेप्न पाइँदैन भनेर प्रस्तुत भएका हौँ । गलत ढंगले हामीले त्यहाँ के चाहिँ प्रस्तुत गरेका थियौँ र ?

श्रम संस्कृति पार्टी झिनामसिना कुरामा अल्झिँदा मुख्या मुद्दा चाहिँ ओझेलमा पर्छ कि भन्ने प्रश्न पनि तपाईंका शुभचिन्तकहरुले राखेको देखिन्छ नि ।

हामी सरकार सफल हुनुपर्छ भन्ने पक्षमा हो । सरकार असफल होस् भन्ने पक्षमा भए त सरकारले राम्रो गरेपनि चुपचाप नराम्रो गरेपनि चुपचाप बस्ने थियौँ नि । हामी पनि नयाँ, उहाँहरू पनि नयाँ । नयाँले चलाएको सरकार जुनसुकै हालतमा पनि सफल हुनुपर्छ र परिणाममुखी काम गर्नुपर्छ भन्ने पक्षमा छौँ । यदि को कुभलो चिताउने हो भने हामी आफ्नै ढंगले श्रमदान गर्थ्यौ जनतालाई प्रभावित पार्थ्यौँ ।

हामी सरकार सफल हुनुपर्छ भन्ने लाइनमा छौँ । सरकार सफल होस भनेर मैले सधैँ सदनमा पनि भन्ने गरेको छु । हामी उहाँहरूको असल मित्र हौँ । उहाँहरुलाई गाइड गर्न चाहन्छौँ । त्यसै पनि उहाँहरू नयाँ भनेर उदय हुनुभएको छ । हामी पनि नयाँ छौँ । संसदप्रति उत्तरदायी हुनुहोस्, जनताको प्रश्नबाट नभाग्नुहोस्, जनतालाई अन्याय नगर्नुहोस् भन्ने हाम्रो आग्रह हो । यो संसारमा डिक्टेटर शासन गर्नेहरू, तानाशाहहरू, हिटलरीपन देखाउनेहरू सिद्धिएका छन् । त्यसकारण सरकारले त्यो किसिमले आम जनतालाई व्यवहार नगर्नुहोस् भन्या हो । हामी त उहाँहरू सफल भएको हेर्न चाहन्छौँ ।

तपाईँहरूको असन्तुष्टि कोसँग ?

वालेन्द्र शाहसँग हाम्रो असन्तुष्टि केही पनि होइन । हाम्रो असन्तुष्टि नेपाल सरकारको प्रमुख अथवा प्रधानमन्त्रीसँग हो । त्यो असन्तुष्टि हाम्रा व्यक्तिगत कुरामा होइन । जनताको कुरा सुन्नुपर्‍यो, जनतालाई हेप्न पाइन्न, नागरिकमुखी बन्नुपर्‍यो, जनमुखी बन्नुपर्‍यो, किसानमुखी बन्नुपर्‍यो, मजदुरमुखी युवा विद्यार्थीमुखी बन्नुपर्‍यो भन्ने हो । हामीले सरकारको विरोध होइन खबरदारी गरेका हौँ । हामीले सरकारलाई सचेत गराइरहेका छौँ ।

अब सरकारले के चाहिँ गर्नुपर्छ ?

देशमा लाखौँ सुकुम्बासी छन्, उनीहरुको समस्या समाधानका लागि भूमि ऐन ल्याइयोस् । कृषिको समस्या समाधान होस् । बाँदरको समस्या छ, त्यसको समाधान वैज्ञानिक र विवेकशील तरिकाले गरोस् । रेमिट्यान्स र वैदेशिक ऋणले होइन, उत्पादन र उद्योगबाट सङ्कलित करले देश चल्ने नीति ल्याइयोस् । यी कुराहरूमा सरकार अगाडि बढ्नुपर्छ ।

अनि सदनमा सरकार र प्रतिपक्षी दुवैको कुरा सुनिनुपर्छ । त्यहाँ सरकारपक्षका माननीयहरूले पनि त प्रधानमन्त्रीलाई प्रश्न राख्नुभएको थियो । सदनमा उपस्थित भएका सबै सांसदहरूको न्यायोचित ढंगले कुरा सुनिदिनुपर्छ । त्यो पो सफल प्रधानमन्त्री हो त । सत्ता र प्रतिपक्षी भन्ने कुरै होइन ।

२७५ जना सांसद केही १८ जना मन्त्री हुनुभयो होला । अरु सांसदको त कुरा सुन्नुर्‍यो नि । अहिलेका प्रधानमन्त्री मात्रै होइन भोलिका प्रधानमन्त्रीले पनि संसदलाई बेवास्ता गर्ने, हेप्ने, तिरस्कार गर्ने गतिविधि नगरुन्, भोलिका प्रधानमन्त्रीहरू पनि प्रधानमन्त्रीहरू सदन र जनताप्रति जवाफदेही होस् भन्ने हाम्रो चाहना हो ।

तपाईँहरूले सदनमा निरन्तर विरोध र अवरोध गर्दै आउनुभएको छ । प्रधानमन्त्री सदनमा कहिले आउने रे ? जानकारी छ ?

त्यो चाहिँ प्रधानमन्त्री पक्षले जान्नुपर्छ । हामीलाई अहिलेसम्म जवाफ दिइएको छैन । अहिलेसम्म प्रधानमन्त्री सदनमा कहिले आउनुहुन्छ भन्ने हामीलाई जानकारी छैन । यदि आउनुभएन भने हामी आफ्नो ढंगले काम गर्छौँ ।

यो विरोधलाई तपाईँको पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रधानमन्त्री वालेन्द्र शाहको द्वन्दका रुपमा हेर्नेहरु पनि छन् नि ? तपाईँहरूले बालेनलाई प्रधानमन्त्री अस्वीकार गरेको हो र ?

हामीले बालेलाई प्रधानमन्त्री अस्वीकार गरेको होइन । तर नबोल्ने, जनताप्रति जवाफदेही नहुने प्रधानमन्त्री जोसुकै होस् अहिलेको अवस्थामा प्रधानमन्त्रीको ठाउँमा जो कोही होस् । जो कोही प्रधानमन्त्रीले पनि यो क्रियाकलाप गरेको भए उहाँहरूको विपक्षमा हामी यसरी नै प्रस्तुत हुन्थ्यौँ । हामीलाई कुनै व्यक्ति विशेषसँग तुस छैन । म फेरि भन्छु- कुनै व्यक्ति विशेषविरुद्धको लडाईमा हामी छैनौँ ।

भोलिको दिनसम्म राष्ट्रको नजीर स्थापित गर्ने कुरा हो । को व्यक्तिले के गर्दैछ, कस्तो व्यक्ति के हुँदैछ भन्ने कुरा फाल्टु हो । दुईतीन जना व्यक्तिप्रधान विषयमा हामी जाँदैनौँ । तीन करोड नेपाली जनताको आवाज सम्बोधन गर्नुपर्छ । जनताले निर्वाचित गरेर आएपछि सबै जनताको कुरा विशेष हुन्छ । दुई तीन जनाको कुरा होइन ।

हर्क साम्पाङ र बालेनबीच कुनै द्वन्द्व छैन । विधिको शासनमा नियम कानुन सबैले उत्तिकै मान्नुपर्छ । फेरि पनि भन्छु- हामीले बालेन्द्र शाहको विरोध गरेको होइन । देशको प्रधानमन्त्री र सरकारसँग जवाफ मागेको हो । त्यो हामी निरन्तर उठाउँछौँ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ८ : ०७ बजे

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि