गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती « Khabarhub

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गौमुल–२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरेका हुन् ।

अस्पताल भवन निर्माणका लागि २०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८१ माघमा भवन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो।

भवन निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा अस्पताल सञ्चालनमा आउन सकेको थिएन। अहिले आवश्यक औषधि, उपकरण तथा अन्य जनशक्तिको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ। तर मेडिकल अधिकृत नपाउँदा अस्पतालको सेवा विस्तारमा चुनौती देखिएको छ।

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार मेडिकल अधिकृतका लागि लामो समयदेखि खोजी गरिए पनि तत्काल चिकित्सक उपलब्ध हुन सकेको छैन। सम्पर्कमा आएका केही चिकित्सकले समेत दुर्गम क्षेत्रमा आउन इच्छा नदेखाएको उनले बताए।

‘मेडिकल अधिकृतका लागि धेरै खोज्यौँ, तर तत्काल पाउन सकिएन। केही सम्पर्कमा आएका चिकित्सकले पनि आउन मानेनन्,’ अध्यक्ष रोकायाले भने, ‘आवश्यक अन्य जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरिएको छ। अब तत्काल चिकित्सकको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ।’

अस्पतालमा दुई जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। चिकित्सकसहित आवश्यक जनशक्ति व्यवस्थापन भएपछि अस्पतालबाट थप स्वास्थ्य सेवा विस्तार गर्ने गाउँपालिकाको योजना छ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले स्थानीय तहमै अस्पताल सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने बताए।

‘यसअघि सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्था थियो। भौगोलिक रूपमा विकट गाउँका नागरिकले उपचारका लागि ठूलो रकम खर्च गर्नुपथ्र्यो,’ उनले भने, ‘विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेर पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य छ।’

यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित स्वास्थ्य सेवामा निर्भर रहेका स्थानीयले अब आफ्नै गाउँपालिकामा थप स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन्। अस्पताल सञ्चालनमा आएसँगै सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढीसम्म पुग्नुपर्ने बाध्यता घट्ने स्थानीयको विश्वास छ।

स्थानीय सुशील रोकायाले पालिकामै चिकित्सकीय सेवा उपलब्ध हुँदा समय, खर्च र दुःख कम हुने बताए। अस्पतालमा विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध भए दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने उनको भनाइ छ।

बाजुराका नौ स्थानीय तहमध्ये १० शय्याको आधारभूत अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने गौमुल दोस्रो स्थानीय तह बनेको छ। यसअघि जगन्नाथ गाउँपालिकाले २०८० चैतमा १० शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १ : ३८ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र