महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’ « Khabarhub

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’



काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन । शेरबहादुर देउवा नेपाल फर्किएपछि वर्तमान सभापति गगन थापा र उनीबीच भेटवार्ता वा संवाद नै नभएको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन् ।

अहिलेसम्म गगन थापाले पनि शेरबहादुर देउवालाई भेट्नेबारे केही बताएका छैनन् भने देउवाले पनि थापालाई बोलाएर भेट्ने प्रयास गरेको देखिँदैन । देउवा पक्षका नेताहरू पार्टी मिलाउन थापाले देउवासँग सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।

गगन पक्ष भने पार्टी एकताका शेरबहादुर देउवा तयार भएपनि उनी पक्षका अरु नेताहरूले मिल्न नदिएको आरोप लगाउँछन् । यस्तै आन्तरिक किचलोबीच नेपाली कांग्रेसको नेतृत्व १५औँ महाधिवेशनको तयारीमा छ । तर पार्टीको संस्थापन इतर पक्षले भने १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ ।

पार्टी नेता डा. प्रकाशशरण महतका अनुसार बिहीबार बसेको १४औँ महाधिवेशनका पदाधिकारीसहित शीर्ष नेताहरूको भेलाले यस्तो निर्णय गरेको हो । ‘गगनजीहरू अदालतमा मुद्दा पुनरावलोकनका लागि पुगेपछि पनि आफ्नै तर्फबाट १५औँ महाधिवेशनको तयारीमा जुट्नुभएको छ । हामी यो मुद्दाबाट न्याय पाउँछौँ भन्ने अपेक्षामा छौँ । त्यसकारण अरू गतिविधि बढाउनु भन्दा पनि केही समयका लागि मुद्दा छिनोफानो नहुन्जेलसम्म महाधिवेशनका काम नगर्न अदालत जाने निर्णयमा पुगेका हौँ । यो हामी सबैको सहमति हो,’ महतले खबरहबसँग भने ।

उनका अनुसार बिहीबार नै निर्णय भएकाले सम्भवतः शुक्रबार अदालत जाने तयारी भइरहेको छ । ‘आज बसेर निर्णय भएको छ । सम्भवतः भोलि शुक्रबार नै हामी अदालत जान्छौँ । त्यसको तयारीमा लागिरहेका छौँ,’ महतले भने । महाराजगन्जस्थित शशांक कोइरालाको निवासमा भेला आयोजना गरिएको थियो । शशांक कोइरालालाई अहिले पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्नका लागि संयोजक तोकेको छ ।

पुनरावलोकनका लागि २१ साउनमा अदालतले आदेश दिएपछि देउवा पक्ष त्यसको निर्णय नआएसम्म अन्य गतिविधि बढाउन नहुने पक्षमा छ । ‘हामी त उहाँहरु (संस्थापन) ले थप गतिविधि बढाउनुहुन्न होला भन्ने निष्कर्षका साथ पार्टी एकताको पक्षमा थियौँ । तर उहाँहरूले पार्टीभित्र आपसी छलफल नै नगरी महाधिवेशनका काममा अघि बढेपछि हामी सोच्न बाध्य भएका हौँ,’ महतले भने, ‘पार्टी एक बनाउने भनेर उहाँहरू भन्नुहुन्छ, तर संवाद र छलफलमा आउनुहुन्न । त्यसकारण पनि हामी केही गर्नुपर्ने दिशामा पुगेका हौँ ।’

महाधिवेशन तोकिएको समयमै

पार्टी महामन्त्री प्रदीप पौडेल लामो संवाद र छलफल गर्दा पनि कांग्रेसको विवाद समाधान हुन नसकेको स्वीकार गर्छन् । उनी शेरबहादुर देउवा पार्टी एकताका लागि तयार हुँदाहुँदै पनि अन्य नेताहरूले भूमिका खेलेको दाबी गर्छन् । ‘शेरबहादुर देउवा नेपाल आउनुभएको छ । उहाँसँग हामी छलफल गर्ने तयारीमा छौँ, तर छलफलका लागि पनि चाँजोपाँजो मिलिसकेको छैन । अरू नेताहरूले आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने परिपाटी छ । शेरबहादुर देउवा पार्टी विभाजनको पक्षमा हुनुहुन्न, तर दाइलाई फसाइँदै छ,’ महामन्त्री पौडेलले भने ।

उनका अनुसार पार्टी एकताका लागि राष्ट्रिय भेलाबाट कसरी अगाडि बढ्ने भन्ने निर्णय गरेर आउन देउवा पक्षलाई आग्रह गरिएको थियो । तर अहिलेसम्म त्यसबारे कुनै जानकारी नआएको उनको भनाइ छ । ‘पार्टी एकताका लागि तपाईंहरू राष्ट्रिय भेलाबाट कसरी अगाडि बढ्ने भन्ने निर्णय लिएर आउनुस् भनेका थियौँ । तर अहिलेसम्म कुनै खबर पनि छैन । हामी त १५औँ महाधिवेशनको दिशामा अगाडि बढिसक्यौँ । अदालतको निर्णयलाई हामी सम्मान गर्छौँ,’ पौडेलले भने ।

यता महामन्त्री पौडेलले कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म नै गर्न पार्टीले आवश्यक काम सुरु गरिसकेको बताएका छन् । त्यसका लागि पार्टी सभापति गगन थापाको संयोजकत्वमा विभिन्न उपसमिति गठन भइसकेकाले अब आफूहरूले पाएको जिम्मेवारी १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी होमिसकेको उनको दाबी छ ।

अदालतमा मुद्दा पुनरावलोकनका लागि पुगेको अवस्थामा १४औँ महाधिवेशनलाई नै अदालतले आधिकारिकता दियो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा पौडेलले भने, ‘अदालतले वैधानिक र विधि मानेर गरेको महाधिवेशनलाई मान्यता नदिने अवस्था नै रहँदैन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएर भएको भेलालाई जोक भन्न त मिलेन नि ।’

‘स्वाभाविक हिसाबले हामी त महाधिवेशनका लागि केन्द्रीय समितिको निर्णयपछि जुटिसकेका छौँ,’ पौडेलले भने, ‘जहिले पनि सहमतिका नाममा झुलाइराख्ने र वार्ताका नाममा एकपछि अर्को अडान फेरिरहने प्रवृत्तिका कारण कांग्रेसको विवाद अझै बल्झिँदै जान्छ । त्यसकारण हामी यो विवादलाई बल्झाइरहन चाहँदैनौँ । १५औँ महाधिवेशन गरेर पार्टी एकतामा जान्छौँ ।’ उनले पार्टी एकताका लागि सबै पक्षलाई एकजुट हुन आग्रहसमेत गरेका छन् ।

गगनले बेवास्ता गरेको इतरको आरोप

लामो विदेश बसाइ सकेर नेपाल फर्केका देउवासँग मात्रै नभएर गगनले अन्य नेताहरूसँग पनि पार्टी एकताका लागि वार्ता नगरेको दाबी संस्थापन इतर पक्षको छ । ‘देउवा आउनुभएको एक हप्ता बितिसकेको छ । अहिलेसम्म गगनजीहरू संवादमा आउनुभएको छैन । पार्टी फुट्छ कि जुट्छ, गगनजीहरूलाई नै थाहा छ, उहाँहरूलाई नै सोध्नु,’ देउवा पक्षका कांग्रेस नेता रमेश लेखकले खबरहबसँग भने, ‘अदालतको निर्णय नआउँदै महाधिवेशनका गतिविधि अगाडि बढाउनुभएको छ । अब उहाँहरू पार्टी एकता गर्छौँ भन्ने भाषण पनि गरिरहनुभएको छ । देउवा नेपाल आउँदा पनि अहिलेसम्म उहाँहरूले भेट्न र संवाद गर्न नचाहँदा कसरी कुरा मिल्ला त ?’

लेखकले सभापति गगनले देउवालाई भेटेर पार्टी एकताका लागि छलफल गर्नुपर्ने सुझाव दिएका छन् । यता देउवा पक्षकै नेता प्रकाशशरण महत पनि गगन पक्षले देउवा नेपाल आएपछि कुनै खोजखबर नगरेको बताउँछन् । ‘अहिलेसम्म उहाँको स्वास्थ्य अवस्था के छ भनेर समेत सोधिएको छैन, भेट्ने कुरा त परको भयो । उहाँहरू संवाद गर्नै चाहनुहुन्न । पार्टी फुटाउने दिशामा उहाँहरू हुनुहुन्छ,’ महतले भने, ‘म पुनः भन्न चाहन्छु, अदालतको अर्को आदेश नआउन्जेलसम्मका लागि महाधिवेशनका गतिविधि रोक्नुस् ।’

‘अदालतले १४औँलाई नै मान्यता दिन्छ’

कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला भने १४औँ महाधिवेशनलाई नै अदालतले मान्यता दिने जिकिर गर्छन् । अदालतको निर्णयबाट डराएका कारण गगन पक्ष महाधिवेशनमा होमिएको जस्तो नाटक गरिरहेको सिटौलाको ठहर छ । ‘हामीलाई विश्वास छ, अदालतले हामीलाई न्याय दिन्छ । साथीहरू आत्तिएर महाधिवेशनमा जानुभएको छ । यो सबै चलाखी र नाटक हो,’ सिटौलाले भने, ‘अदालतको फैसलाले १४औँ महाधिवेशन र सभापति शेरबहादुर देउवालाई मान्यता दिन्छ। त्यसपछि पार्टी एक भइहाल्छ ।’

गत २९ गते आयोजित राष्ट्रिय भेलामा पनि सिटौलाले गगन थापालाई सभापति नभनी ‘आफ्नो भाइ’ भनेर सम्बोधन गरेका थिए । सिटौलाले गगनलाई सभापति भन्न नसक्ने धारणा सार्वजनिक रूपमा समेत राख्दै आएका छन् । देउवा नेपाल आएपछि चुनदेवीमा छुट्टै कार्यालय खोलेर उनलाई सभापतिकै हैसियतमा राखिएको छ । सभापतिकै हैसियतमा नेपाल आएपछि गगन पक्ष संवादमा निस्किएको छैन ।

हाल नेपाली कांग्रेसको आधिकारिक सभापति गगन थापा छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको छ भने सर्वोच्च अदालतले पनि थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । गत पुसको अन्तिम साता कांग्रेसले दोस्रो विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति बनाएको थियो । तर देउवा पक्षका शीर्ष नेताहरूले उक्त विशेष महाधिवेशनको वैधानिकता स्वीकार गरेका छैनन् ।

यही विवादका कारण कांग्रेसभित्र अहिले १४औँ महाधिवेशनको वैधानिकता र दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको आधिकारिकताबीचको विवाद अदालतमा पुगेको छ । एकातिर गगन पक्ष १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने तयारीमा जुटेको छ भने अर्कोतिर देउवा पक्ष अदालतको पुनरावलोकनको निर्णय नआएसम्म महाधिवेशनका गतिविधि रोक्नुपर्ने अडानमा छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ३ : २९ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव