काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र पार्टीबीच समन्वयमै काम भइरहेको बताएका छन्।
कतिपय अवस्थामा हतारमा निर्णय गर्नुपर्ने भएकाले पार्टी र सरकारबीचको समन्वयमा केही समस्या देखिएको स्वीकार्दै लामिछानेले आगामी दिनमा त्यसलाई सुधार्दै जाने बताएका हुन्।
पार्टी र सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र आफू गम्भीर रहेको उल्लेख गर्दै उनले अहिलेसम्म पार्टी र सरकारबीच समन्वयमा कुनै गम्भीर समस्या नरहेको बताए।
‘पार्टी, सरकार र संगठन सबै एक ठाउँमा बसेर एकअर्काबीच समन्वय गर्न आवश्यक हुन्छ। कतिपय अवस्थामा समन्वय फितलो भयो होला, किनभने कहिलेकाहीँ हतारमा निर्णय गर्नुपर्ने हुन्छ। सरकार र पार्टीबीच सूचना र सहकार्य भइरहेको छ। यसलाई अझ प्रभावकारी बनाउने विषयमा पनि हामी गम्भीर छौँ,’ लामिछानेले आइतबारको सचिवालय बैठकमा भने।
उनले कतिपय विषयमा पार्टी सचिवालय बैठकबाट निर्णय नभई अन्य निर्णय भएको भन्ने गुनासो आए पनि त्यसको कारण कतिपय निर्णय हतारमा गर्नुपर्ने अवस्था रहेको बताए।
‘कतिपय विषयमा पार्टी सचिवालय बैठकमा निर्णय नभई अरू निर्णयहरू आए भन्ने कुराहरू पनि छन्। धेरै कुरा हतारमा गर्नुपर्ने कारण छलफल हुन नपाएको हो। सरकार र पार्टीबीच समन्वयमै काम भइरहेको छ। त्यस्तो कुनै समस्या भए तपाईंहरूले पनि राख्नुहोला,’ उनले भने।
बैठकमा लामिछानेले सबैले आ–आफ्नो क्षेत्रबाट राम्रो काम गरेर देखाउनुपर्ने अवस्था रहेको भन्दै जनमतको सम्मान गर्नुपर्ने बताए।
‘सबै जनाले ठीक ढङ्गले काम गर्नुपर्छ। यत्रो ठूलो जनमत आएको छ। यो जनमतको कदर गर्नका लागि पनि हामी अनुशासित र व्यावहारिक हुनैपर्छ। निर्णयहरू सोचेर र दीर्घकालीन देशको हितमा हुनुपर्छ भन्ने कुरामा म अडिग छु,’ उनले भने।
उनले पार्टी, सरकार, संगठन र सांसद सबै पक्षलाई समन्वयमा अघि बढाउन आफूले अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताए। आफ्नो भूमिकामा पनि कतिपय अवस्थामा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
‘पार्टी, सरकार, संगठन र सांसद सबैलाई एउटा अभिभावक भएर मैले भूमिका निर्वाह गरिराखेकै जस्तो लाग्छ। कतिपय अवस्थामा मेरा भूमिका पनि हुनुपर्ने ठाउँमा बढी भएन र नहुनुपर्ने ठाउँमा भयो होला। त्यसलाई सुधारेर जाउँला। पार्टी र सरकारबीच समन्वय हुनुपर्छ भन्ने कुरा त म र प्रधानमन्त्री नै स्पष्ट छौँ,’ उनले भने।
राष्ट्रसंघको महासभाबारे छलफल
आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सचिवालय बैठकमा उपस्थित नभएको विषय भने नउठेको रास्वपाले जनाएको छ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने तयारीमा रहेकाले त्यहाँ उठाउनुपर्ने विषयमा पार्टीले दिने सुझावका विषयमा सामान्य छलफल भएको थियो।
सभापति लामिछानेले पनि महासभामा उठाउनुपर्ने विषयमा पार्टीले छलफल गरेर सुझाव दिइरहेको जानकारी बैठकमा गराएका थिए।
‘राइट टु रिकल’मा गम्भीर भएर काम गर्न सुझाव
बैठकमा लामिछानेले ‘राइट टु रिकल’सम्बन्धी विषयमा पार्टीको नीति, सिद्धान्त र प्राथमिकताअनुसार काम गर्न नेताहरूलाई सुझाव दिएका छन्।
महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा रहेको कार्यदलले पार्टीको हितलाई ध्यानमा राखेर गम्भीरतापूर्वक काम गर्नुपर्नेमा लामिछानेले जोड दिएका हुन्। उक्त कार्यदलको बैठक पनि आइतबार बसेको थियो।
पार्टीको नीति, सिद्धान्त र प्राथमिकताभन्दा बाहिर गएर भइरहेका गतिविधि तथा काममा देखिएका समस्याको निगरानी गर्दै यस विषयमा पार्टीले सुरुदेखि नै गम्भीर भएर काम गरिरहेको लामिछानेले बताएका थिए।
‘राइट टु रिकल’ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके पार्टीमा समस्या उत्पन्न नहुने उनको भनाइ थियो।













प्रतिक्रिया