थारू बस्तीमा सखिया नाचले दसैँको रौनक « Khabarhub

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ ।

दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारू समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ ।

थारू समुदायको बाक्लो बसोबास रहेका जिल्लाका अधिकांश गाउँमा हरेक दिन साँझ युवायुवती सखिया नाचमा रमाउने गरेका छन् । दिनभरको काम सकेर साँझपख सामूहिक रूपमा नाचिने यस नाचले गाउँमा आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

कोहलपुर नगरपालिका–मैटहवाका थारु अगुवा दीपेन्द्र चौधरीले पछिल्लो समय गाउँबस्तीमा दैनिकजसो सखिया नाच हुन थालेपछि दसैँको रौनक थपिएको बताए। उनका अनुसार नाचका क्रममा दुष्टात्माबाट जोगिन गुरुवाको व्यवस्था गरिन्छ भने गाउँका बरघर तथा भद्रभलादमीले यसको संरक्षण र व्यवस्थापनमा भूमिका निर्वाह गर्छन् ।

राप्तीसोनारी गाउँपालिका–बैजापुरका थारु अगुवा विक्रम थारुका अनुसार सखिया नाचमा युवतीले नृत्य गर्ने र युवाले मादल बजाउने परम्परा छ । नाचमा मादलको सङ्ख्या र ताल बढ्दै जाँदा यसको आकर्षणसमेत बढ्ने उनले बताए। यसका लागि कम्तीमा चारदेखि पाँच जनासम्म मादल बजाउने युवा सहभागी हुने गर्छन् ।

सखिया नाचमा सामान्यतया १५ देखि २० जना युवती सहभागी हुन्छन् । उनीहरू सेतो फरिया, रातो चोलिया र रातो रिबन लगाएर परम्परागत पहिरनमा सजिने गर्छन् । थारु संस्कृति झल्काउने विभिन्न गहना तथा सात रङले सजाइएको मञ्जीरा नाचको थप आकर्षण बन्ने गरेको छ ।

बाँकेको टिटिहिरियाका शंकरसिंह थारुका अनुसार सखिया नाचमा डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव–पार्वती, पाण्डव र कृष्णलगायत देवीदेवताको स्तुति गीतमार्फत गरिन्छ । गीतका माध्यमबाट समुदायको शान्ति, सुख र सुरक्षाको कामना गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

नाचमा सहभागी युवतीले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, ऐरम, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना र कुकरलगौतीलगायत परम्परागत गहना लगाउने गर्छन् । उनीहरूको पहिरनमा गोन्या, चोल्या र फरियाको प्रयोगले थारू समुदायको मौलिक संस्कृति झल्काउने गरेको अगुवाहरू बताउँछन् ।

गाउँका साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर सामूहिक रूपमा नाच्ने भएकाले यसलाई सखिया नाच भनिएको थारु अगुवाहरूको भनाइ छ । यो नाचले समुदायमा सामूहिकता, आपसी सहयोग र एकताको भावना बलियो बनाउने गरेको छ।

सखिया नाच सम्पन्न भएपछि सहभागीले सङ्कलन गरेको रकमबाट माछा, मासु तथा अन्य परिकार तयार गरी सामूहिक रूपमा खाने चलनसमेत रहेको छ । यसले मनोरञ्जनसँगै सामुदायिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउँदै आएको छ ।

थारू समुदायको मौलिक कला, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको सखिया नाच दसैँका बेला पुस्तान्तरण हुँदै आएको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।
 

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १० : ३१ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी