काठमाडौं – पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा ८ विकेटको शानदार जित निकाल्दै दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ ।
रावलपिण्डी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले दिएको ९० रनको सामान्य लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर १३ ओभरमै पूरा गर्यो ।
पाकिस्तानको जितमा आमिर जमालले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रन बनाए । उनले २२ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, अजाम अवैसले अविजित ३२ रनको योगदान दिए । उनले ३६ बलमा ५ चौका प्रहार गरे ।
यसअघि दोस्रो इनिङ्समा श्रीलंकाले ३१६ रन बनाएको थियो । उसका लागि मिलान रत्नायकेले अविजित ६६ रन बनाए । कुशल मेन्डिसले ५३ तथा सोनल दिनुषाले ५४ रन जोडे ।
पाकिस्तानका मोहम्मद अब्बास र आमिर जमालले समान ३ विकेट लिए ।
पहिलो इनिङ्समा श्रीलंका ९८ रनमै अलआउट भएको थियो । जवाफमा पाकिस्तानले ३२५ रन बनाउँदै २२७ रनको महत्वपूर्ण अग्रता लिएको थियो ।
पाकिस्तानका लागि घाजी घोरीले सर्वाधिक ५४ रन बनाएका थिए । श्रीलंकाका लाहिरु कुमराले ५ विकेट लिएका थिए ।
पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्ट जितेसँगै पाकिस्तानले दुई खेलको सिरिज १–० ले आफ्नो नाममा पारेको छ ।
यससँगै पाकिस्तानले सन् २०२५–२७ को आईसीसी विश्व टेस्ट च्याम्पियनसिप चक्रमा पहिलो सिरिज जितसमेत दर्ता गरेको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोहम्मद अब्बास प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित भए।













प्रतिक्रिया