काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिने अभ्यास बढ्दो छ । यस्ता हल भिजिटहरु फिल्म प्रचारमा प्रयोग हुने गरेको छ ।
त्यसक्रममा दर्शक हाँसेको, रोएको, कलाकारलाई अंकमाल गरेको र कलाकारको आडमा बसेर दर्शकले फिल्म हेर्न आह्वान गरेको भिडियोहरु फिल्म प्रचारमा प्रयोग हुन्छ ।
माघ १ बाट प्रदर्शनमा आएको फिल्म ‘गोबर गणेश’का नायक, निर्माता, लेखक र निर्देशक मरिचमान श्रेष्ठले पनि त्यही अभ्यासलाई निरन्तरता दिए ।
हल भिजिटका क्रममा पुगेका बल्छी अगाडि आमा–छोराको प्रेम र संघर्षमा बनेको यस फिल्म हेरेर दर्शक रोएको भिडियो सार्वजनिक भएका छन् । ती भिडियोमा केही महिलाले बल्छीलाई अंकमाल गर्दै आशु झारेका छन्, केही पुरुषहरु रुदै अन्तर्वार्ता दिएका छन् । एक युवाले डाको छाडेर रोएको भिडियो सामाजिक सञ्जालमा भइरल छ ।
यी भिडियोलाई लिएर लिएर ‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोप बल्छीले खेपेका छन् । ती भिडियोमा यस आशयका कमेन्टहरु प्रशस्त भेटिन्छ ।
बल्छीले यी आरोपबारे बालेका छन् । यी आरोपहरुमा कुनै सत्यता नभएको उनको स्पष्टीकरण छ ।
हलमा भेटिएका बहुसंख्य दर्शकलाई नियोजित रुपमा रुवाउन आफ्नो पहुँच नभ्याउने उनको तर्क छ ।
उनी भन्छन्, ‘हामीले कम्तीमा १५ वटा हल भिजिट गर्यौं । प्रत्येक हलमा बहुसंख्य दर्शक आएर मलाई र हाम्रो टिमलाई अंकमाल गरेर रुनुभएको छ । कुनै हलमा ९० जना जति, कुनै हलमा डेढ सयभन्दा बढी दर्शक रुनुभएको छ । अब हामीले घरै गएर रुनुहोस् भनेको होइन ।’
शारीरिक बनावट कारण आफूलाई नायक स्वीकार गर्न नसक्नेहरुले यस्ता आरोपसहितका प्रतिक्रिया दिएको हुन सक्ने उनको अनुमान छ ।
उनी भन्छन्, ‘पहिला नै बल्छी जस्ता नि हिरो हुन्छन् ? भन्दै धेरै कमेन्ट आएका थिए । अहिले विभिन्न आरोप लगाउनेहरु पनि उनीहरु हुन सक्छन् ।’
आमा–छोराको संघर्षको कथा भएकाले दर्शकहरु भावुक भएका उनको बुझाइ छ । उनी दाबी गर्छन्, ‘कथा नै भावुक छ । फिल्मले छोयो र उहाँहरु रुनुभयो ।’













प्रतिक्रिया