काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिता क्षेत्रमा चर्चा कमाएका ती पत्रकारहरूको चुनावमा भने अग्निपरीक्षा हुने देखिएको छ ।
०७९ को निर्वाचनमा नै चितवन २ बाट २ पटक निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ गते हुने निर्वाचनमा पनि उनी सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् ।
लामो समय पत्रकारिता गरेर राजनीतिमा आएका लामिछाने कतिपय कुरामा विवादित भएपनि राष्ट्रिय राजनीतिमा भने आफूलाई खरो रूपमा उतार्न सफल भएको देखिन्छ । कुनै समय सर्वाधिक लामो भिडियो अन्तर्वार्ता लिएका लामिछानेले गिनिज बुकमा नाम दर्ता गराउन सफल कीर्तिमानी पत्रकार हुन् ।
तीन दशकदेखि पत्रकारिता गर्दै आएका चर्चित पत्रकार ऋषि धमला फागुन २१ गते हुने निर्वाचनमा आम जनता पार्टीको तर्फबाट रौतहट ४ बाट उम्मेदवारी दिएका छन् । लामो समय नेपाली कांग्रेस निकटको राजनीतिक रुझान देखाएका धमला चुनावी मैदानमा उत्रिने बेलामा भने मधेशमा जनाधार भएको पार्टीको तर्फबाट उम्मेदवार भएका हुन् ।
लामो समयदेखि पत्रकारिता गर्दै आएका अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न सफल भएका थिए । उनले पछिल्लो समय पार्टीको विशेष महाधिवेशनको वातावरण तयार गर्नको लागि सक्रिय भूमिका खेलेका थिए । साथै, उनले फागुन २१ गते हुने निर्वाचनमा दोलखाबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यस्तै, बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका रविन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रोपटक उम्मेदवार बनेका छन् । कुनै समय प्रिन्ट र टेलिभिजन पत्रकारितामा स्थापित स्वागत नेपाल झापाबाट उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा पनि थोरै मतको अन्तरमा पराजित भएका थिए । पेशागत रुपमा उनी अधिवक्ता पनि हुन् ।
पत्रकारिताबाट करिअर सुरु गरेका जगदीश खरेलले २५ वर्ष टेलिभिजन पत्रकारितामा बिताए । जेन– जी आन्दोलनको सफलतापछि बनेको चुनावी सरकारमा सूचना प्रविधि तथा सञ्चारमन्त्री सम्हालेका जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यासी भए । ललितपुरबाट चुनाव लड्ने निधो गरेका खरेल बीचैमा मन्त्री पद छोडेर चुनावमा होमिएका हुन् ।
त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जन्मदेव जैसीले पनि भक्तपुर-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी लामो समयदेखि पत्रकारको हकहितका लागि लड्दै आएका व्यक्ति हुन् ।
नुवाकोट १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाएका डा. बिक्रम तिमिल्सिना कुनै बेला रेडियोका चर्चित पत्रकार थिए । राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अष्ट्रेलियाबाट विद्यावारिधि गरेका तिमिल्सिना हाल रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा सक्रिय छन् ।
देशान्तर मिडिया ग्रुपका अध्यक्ष कविर राणा पत्रिका रेडियो सञ्चालक हुन् । देशान्तर साप्ताहिकको प्रधानसम्पादक रहेका राणा यसअघिका चुनावमा चर्चा भए पनि यो पटक टिकट पाउन सफल भएका हुन् । उनी एमाले सचिव महेश बस्नेतसँग भक्तपुर २ मा प्रतिस्पर्धा गर्दैछन् ।
टेलिभिजन पत्रकारिता गर्दागर्दै दलीय राजनीतिमा हामफालेका राजीव खत्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा टिकट दिएको छ । एमाले नेता महेश बस्नेतसँग सामाजिक सञ्जालमा जुधिरहने खत्रीलाई बस्नेतसँग ब्यालेटको युद्ध गर्न जुरेको छ ।
कुनै समय नेपाल टेलिभिजनमा बहस पैरवी कार्यक्रम सञ्चालन गर्ने सोबिता गौतम काठमाडौं २ को चुनावी क्षेत्र छोडेर चितवन पुगेकी छन् । रास्वपा अध्यक्ष रवि लामिछानेको व्यवसायिक र राजनीतिक जीवनका निकटतम सहयोगी रहँदै आएका प्रमोद न्यौपान पार्टीको समानुपातिक सूचीमा आफ्नो पद सुरक्षित गर्न सफल भएका छन् ।
०७९ सालमा प्युठानबाट चुनाव जितेका सूर्य थापा यसपटक पनि एमालेको तर्फबाट प्युठानबाट उम्मेदवार बनेका छन् । उनी पनि लामो समय पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेका थिए ।
विश्वदीप पाण्डेले रुपन्देही २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । उनी पनि राजनीतिसँगै पत्रकारितामा आबद्ध रहँदै आएका थिए । त्यस्तै, तत्कालीन माओवादीमा सक्रिय हुँदै अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका मनहरि तिमिल्सिना र रामप्रसाद सापकोटा पनि यसपटकको निर्वाचनमा होमिएका छन् ।
लामो समयदेखि स्वास्थ्य पत्रकारिता गर्दै आएका उद्धव भेटवाल राप्रपाको तर्फबाट काठमाडौं ६ मा टिकट लिएर मैदानमा उत्रिएका छन् ।
पत्रकारिता र राजनीतिमा कतिपय कुराहरूमा समानता रहेपनि यी नितान्त भिन्न विषय हुन् । पत्रकारिता क्षेत्रमा आफूलाई चर्चित तथा अब्बल बनाउने पत्रकारहरूले राजनीतिमा भने आफूहरूलाई कसरी उभ्याउन सफल हुन्छन् त्यो भने हेर्न बाँकी छ ।













प्रतिक्रिया