चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा « Khabarhub

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिता क्षेत्रमा चर्चा कमाएका ती पत्रकारहरूको चुनावमा भने अग्निपरीक्षा हुने देखिएको छ ।

०७९ को निर्वाचनमा नै चितवन २ बाट २ पटक निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ गते हुने निर्वाचनमा पनि उनी सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् ।

लामो समय पत्रकारिता गरेर राजनीतिमा आएका लामिछाने कतिपय कुरामा विवादित भएपनि राष्ट्रिय राजनीतिमा भने आफूलाई खरो रूपमा उतार्न सफल भएको देखिन्छ । कुनै समय सर्वाधिक लामो भिडियो अन्तर्वार्ता लिएका लामिछानेले गिनिज बुकमा नाम दर्ता गराउन सफल कीर्तिमानी पत्रकार हुन् ।

तीन दशकदेखि पत्रकारिता गर्दै आएका चर्चित पत्रकार ऋषि धमला फागुन २१ गते हुने निर्वाचनमा आम जनता पार्टीको तर्फबाट रौतहट ४ बाट उम्मेदवारी दिएका छन् । लामो समय नेपाली कांग्रेस निकटको राजनीतिक रुझान देखाएका धमला चुनावी मैदानमा उत्रिने बेलामा भने मधेशमा जनाधार भएको पार्टीको तर्फबाट उम्मेदवार भएका हुन् ।

लामो समयदेखि पत्रकारिता गर्दै आएका अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न सफल भएका थिए । उनले पछिल्लो समय पार्टीको विशेष महाधिवेशनको वातावरण तयार गर्नको लागि सक्रिय भूमिका खेलेका थिए । साथै, उनले फागुन २१ गते हुने निर्वाचनमा दोलखाबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यस्तै, बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका रविन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रोपटक उम्मेदवार बनेका छन् । कुनै समय प्रिन्ट र टेलिभिजन पत्रकारितामा स्थापित स्वागत नेपाल झापाबाट उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा पनि थोरै मतको अन्तरमा पराजित भएका थिए । पेशागत रुपमा उनी अधिवक्ता पनि हुन् ।

पत्रकारिताबाट करिअर सुरु गरेका जगदीश खरेलले २५ वर्ष टेलिभिजन पत्रकारितामा बिताए । जेन– जी आन्दोलनको सफलतापछि बनेको चुनावी सरकारमा सूचना प्रविधि तथा सञ्चारमन्त्री सम्हालेका जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यासी भए । ललितपुरबाट चुनाव लड्ने निधो गरेका खरेल बीचैमा मन्त्री पद छोडेर चुनावमा होमिएका हुन् ।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जन्मदेव जैसीले पनि भक्तपुर-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी लामो समयदेखि पत्रकारको हकहितका लागि लड्दै आएका व्यक्ति हुन् ।

नुवाकोट १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाएका डा. बिक्रम तिमिल्सिना कुनै बेला रेडियोका चर्चित पत्रकार थिए । राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अष्ट्रेलियाबाट विद्यावारिधि गरेका तिमिल्सिना हाल रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा सक्रिय छन् ।

देशान्तर मिडिया ग्रुपका अध्यक्ष कविर राणा पत्रिका रेडियो सञ्चालक हुन् । देशान्तर साप्ताहिकको प्रधानसम्पादक रहेका राणा यसअघिका चुनावमा चर्चा भए पनि यो पटक टिकट पाउन सफल भएका हुन् । उनी एमाले सचिव महेश बस्नेतसँग भक्तपुर २ मा प्रतिस्पर्धा गर्दैछन् ।

टेलिभिजन पत्रकारिता गर्दागर्दै दलीय राजनीतिमा हामफालेका राजीव खत्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा टिकट दिएको छ । एमाले नेता महेश बस्नेतसँग सामाजिक सञ्जालमा जुधिरहने खत्रीलाई बस्नेतसँग ब्यालेटको युद्ध गर्न जुरेको छ ।

कुनै समय नेपाल टेलिभिजनमा बहस पैरवी कार्यक्रम सञ्चालन गर्ने सोबिता गौतम काठमाडौं २ को चुनावी क्षेत्र छोडेर चितवन पुगेकी छन् । रास्वपा अध्यक्ष रवि लामिछानेको व्यवसायिक र राजनीतिक जीवनका निकटतम सहयोगी रहँदै आएका प्रमोद न्यौपान पार्टीको समानुपातिक सूचीमा आफ्नो पद सुरक्षित गर्न सफल भएका छन् ।

०७९ सालमा प्युठानबाट चुनाव जितेका सूर्य थापा यसपटक पनि एमालेको तर्फबाट प्युठानबाट उम्मेदवार बनेका छन् । उनी पनि लामो समय पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेका थिए ।

विश्वदीप पाण्डेले रुपन्देही २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । उनी पनि राजनीतिसँगै पत्रकारितामा आबद्ध रहँदै आएका थिए । त्यस्तै, तत्कालीन माओवादीमा सक्रिय हुँदै अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका मनहरि तिमिल्सिना र रामप्रसाद सापकोटा पनि यसपटकको निर्वाचनमा होमिएका छन् ।

लामो समयदेखि स्वास्थ्य पत्रकारिता गर्दै आएका उद्धव भेटवाल राप्रपाको तर्फबाट काठमाडौं ६ मा टिकट लिएर मैदानमा उत्रिएका छन् ।

पत्रकारिता र राजनीतिमा कतिपय कुराहरूमा समानता रहेपनि यी नितान्त भिन्न विषय हुन् । पत्रकारिता क्षेत्रमा आफूलाई चर्चित तथा अब्बल बनाउने पत्रकारहरूले राजनीतिमा भने आफूहरूलाई कसरी उभ्याउन सफल हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : २७ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस