काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म संस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं रिहा भएका छन् ।
सोमबार कास्कीको पोखरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतबाहिरै बसेर अनुन्धान गर्न मिल्ने ठहरसहित रिहा गरिदिएको हो ।
यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले बताए ।
मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो । त्यहीअनुसार उनलाई पोखराको लेकसाइडमा सभालाई सम्बोधन गरेर फिर्दै गर्दा प्रहरीले समातेको थियो ।
आयोगबारे मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार ब्यूरोमा पत्र पठाएको थियो ।
शनिबार पत्रकार सम्मेलन गरेर प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी सहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।
भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुर्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको बताएका थिए ।













प्रतिक्रिया