सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल « Khabarhub

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि फार्मका सञ्चालक कविराज खनाललाई यतिखेर माग अनुसारको सिप्लीकानका बिरुवा पुर्‍ याउनै धौधौ छ ।

विगत छ वर्षयता सिप्लीकानको व्यावसायिक खेतीसँगै नर्सरी गरी बिरुवा बेच्दै आएका खनालले यसवर्ष ५० हजार सिप्लीकानका बिरुवा तयार गर्ने लक्ष्य राखेका छन्, तर बढ्दो मागका कारण बिरुवा पुर्‍याउन नसकिने अवस्था आएको छ ।

पछिल्ला दिनमा विभिन्न कृषि समूहका साथै व्यक्तिगत रूपमा बिरुवाका लागि अत्यधिक माग आइरहेको खनालले बताए । अघिल्लो वर्ष मात्रै करिब छ लाख बराबरका करिब आठ हजार बिरुवा तयार सिप्लीकानका बिरुवा बिक्री गरेको उनले जानकारी दिने । 

विशेषतः पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ । सिप्लीकानको महत्त्वलाई पछिल्ला पुस्तामासमेत पुर्‍याउने लक्ष्यसँगै आफूले यसको व्यावसायिक खेती गरी बर्सेनि आम्दानी गरिरहेको खनालको भनाइ छ । 

‘परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ’, उनले भने, ‘लोपोन्मुख अवस्थामा पुगेको यो औषधीय वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ मैले व्यावसायिक खेती थालेको हुँ ।’

कास्कीको रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी,  भीमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै खनालले लोपोन्मुख अवस्थामा रहेको नस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्यसहित कधाम गरिरहेको बताए । 

‘कोभिड–१९ महामारीपछि विगत छ वर्षयता आफू यस खेतीमा लागेको थिए । यहाँ उत्पादित बिरुवा कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा पुगिसकेका छन् । यस वर्ष मागअनुसार पुर्‍याउने लक्ष्यसँगै ५० हजार बिरुवा तयार गर्ने गरी काम भइरहेको छ’, उनले योजना सुनाए । 

खनालले व्यापार मात्र होइन, छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्दै आएका छन् । उनले प्रतिबिरुवा रु एक सयदेखि १५० सम्म बिक्री गरिराखेका छन् । पर्यावरणीय सन्तुलनका लागि पनि यसको महत्त्व रहेकाले सबैले यसको संरक्षण गरी लाभ लिनुपर्ने उनको भनाइ छ । 

उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ । ‘एक पटक लगाएको सिप्लीकानको बिरुवाबाट चार पुस्तासम्म उत्पादन लिन सकिन्छ’, खनालले भने, ‘यसमा बाँदरले पनि क्षति नपुर्‍याउँदैन । वर्षाको समयमा लगाइने लहरे तरकारीका लागि यसलाई थाँक्रोका रूपमासमेत उपयोग गर्न सकिन्छ ।’

खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आएका छन् । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ ।

उनका अनुसार फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्रीवितरण गर्ने गरिएको छ । स्वास्थ्यका लागि  उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ ।

यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिकतत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने चिकित्सकले बताएअनुसार आफूले यसको व्यवसायमा जोड दिएको खनालको भनाइ छ ।

उनले फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएका छन् । कृषिबारे ज्ञान, सीप र प्रविधिबारे जानकारी गराउने भएकोले उनको फार्म एउटा जीवन्त पाठशालासमेत बन्दै गएको छ ।

व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा कार्यरत छन् । रोजगारीको खोजीमा धेरै नेपाली युवाहरू विदेशिने गरेको अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लीकान जस्ता खेतीतर्फ आफू लागेको उनको भनाइ छ । यसबाट अन्य युवाले पनि प्रेरणा लिँदै व्यावसायिक उत्पादन गर्न सक्ने खनालले बताए । 

व्यावसायिक कृषिका माध्यमबाट स्वदेशमा नै केही गर्छु भन्नेलाई पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने वातावरण राज्यले तयार गर्नुपर्ने र त्यसमा आफू पनि सहकार्य गर्न तयार रहेको उनले बताए ।  रासस

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : १७ बजे

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक