काठमाडौं- बेलायतमा सङ्गठित बाल यौन शोषणबारे निजी रूपमा आर्थिक सहयोग जुटाएर गरिएको एउटा संसदीय छानबिनले २१९ पानाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार विगत केही दशकयता कम्तीमा २ लाख ५० हजारभन्दा बढी बालिकाहरू सामूहिक बलात्कार, मानव बेचबिखन, यातना र जबरजस्ती गर्भधारणको सिकार भएका छन् ।
यस अपराधमा संलग्न मुख्य दोषीहरू पाकिस्तानी मुस्लिम मूलका रहेका र उनीहरूलाई बढावा दिन वा नियन्त्रण गर्न बेलायती राज्य संयन्त्रको कमजोरी जिम्मेवार रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ। ‘द रेप ग्याङ इन्क्वायरी’ नाम दिइएको यस छानबिन समितिको अध्यक्षता रिफर्म यूकेका सांसद रुपर्ट लोले गरेका थिए भने यसको सञ्चालन पीडित तथा अभियन्ता स्यामी वुडहाउसले गरेकी थिइन्।
यसका लागि २०,००० भन्दा बढी दाताहरूबाट करिब ८ लाख पाउन्ड (१० लाख डलरभन्दा बढी) रकम सङ्कलन गरिएको थियो। यस समितिसँग कानुनी अधिकार नभए पनि विभिन्न सार्वजनिक सुनुवाइमार्फत पीडित, सूचना दिने व्यक्ति, राजनीतिज्ञ र विज्ञहरूको गवाही संकलन गरी सन् २०२६ को जुनमा यो प्रतिवेदन प्रकाशित गरिएको हो ।
प्रतिवेदनका लेखकहरूका अनुसार राज्य र यसका संस्थाहरू दशकौँदेखि नराम्रोसँग असफल भएका कारण यो छानबिन सुरु गरिएको हो। प्रहरी, सामाजिक सेवा, विद्यालय, स्वास्थ्य सेवा र स्थानीय तथा राष्ट्रिय सरकारहरूले यस्ता पुरुषहरूको सङ्गठित सञ्जाललाई अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा काम गर्न दिएको आरोप प्रतिवेदनमा लगाइएको छ । प्रतिवेदनले बेलायतमा पाकिस्तानी समूहद्वारा गरिएको पहिलो सामूहिक बलात्कारको घटना सन् १९५५ मा दर्ता भएको उल्लेख गरेको छ, जुन ब्रिटिस राष्ट्रियता ऐन १९४८ पछि पूर्व-औपनिवेशिक नागरिकहरू ठूलो सङ्ख्यामा बेलायत प्रवेश गर्न योग्य भएलगत्तै भएको थियो ।
सन् १९९७ मा टोनी ब्लेयरको चुनावी विजय र त्यसपछिको ठूलो आप्रवासनपछि यो अपराधको मात्रा तीव्र रूपमा बढेको दाबी गरिएको छ। २ लाख ५० हजारको यो तथ्याङ्क सन् २०१९ मा हाउस अफ लर्ड्समा लर्ड पियर्सनद्वारा प्रस्तुत गरिएको अनुमानमा आधारित छ, जसलाई यस प्रतिवेदनले पनि न्यूनतम अनुमानको रूपमा स्विकारेको छ।
बेलायतका करिब ४० प्रतिशत स्थानीय प्रशासनिक क्षेत्रहरूमा यस्ता ग्याङहरू सक्रिय रहेको प्रमाण भेटिएको छ। छानबिनले उद्धृत गरेको अनुसन्धान अनुसार बाल यौन शोषणका मामिलामा दोषी ठहरिएकाहरूमध्ये करिब ८७ प्रतिशतको नाम मुस्लिम समुदायसँग मिल्दोजुब्दो रहेको पाइएको छ । सन् २०१७ को एक प्रतिवेदनले पनि २००५ देखि २०१७ को बीचमा दोषी ठहरिएका २६४ जनामध्ये ८४ प्रतिशत दक्षिण एसियाली र त्यसमा पनि अधिकांश पाकिस्तानी मुस्लिम रहेको देखाएको थियो।
अक्सफोर्ड इस्लामिक कङ्ग्रेगेसनका एक इमाम डा. ताज हार्गेले पनि यस्ता समूहका करिब ९५ प्रतिशत सदस्य मुस्लिम रहेको अनुमान गरेका छन्, जुन बेलायतमा रहेको कुल मुस्लिम जनसङ्ख्या (६.५ प्रतिशत) को तुलनामा अत्यधिक बढी हो। यसबाहेक सोमाली, इरानी, सिरियाली र टर्की मूलका मुस्लिम सञ्जालहरू पनि यसमा संलग्न रहेको पाइएको छ।
यी समूहहरूले बालिकाहरूलाई फसाउन एउटै तरिका अपनाउने गरेको प्रतिवेदनमा उल्लेख छ। ११ वर्षजति साना बालिकाहरूलाई सुरुमा मुस्लिम युवाहरूले साथी बनाउने, मदिरा र लागूऔषध दिने र पछि उनीहरूलाई विद्यालय वा संरक्षण गृहबाट ट्याक्सीमा राखेर विभिन्न घर, होटल वा रेस्टुरेन्टमा लगी सामूहिक बलात्कार गर्ने गरेको पाइयो।
धेरै बालिकाहरूलाई ब्ल्याकमेल गर्न भिडियो खिच्ने, कुटपिट गर्ने, गर्भवती बनाउने र कतिपयलाई पाकिस्तान पुर्याएर जबरजस्ती शरिया विवाह गराउने समेत गरिएको बयानमा खुलेको छ। पीडितहरूलाई उनीहरू गैर-मुस्लिम भएकाले सजायको हकदार भएको भन्दै अपमान गर्ने गरिएको थियो। प्रतिवेदनमा दर्जनौँ पीडितहरूको दर्दनाक कथा समेटिएको छ, जहाँ प्रहरी र सामाजिक कार्यकर्ताहरूले उनीहरूको उजुरीलाई बेवास्ता गरेको वा दोषीहरूलाई कानुनी कारबाही नगरी छोडिदिएको आरोप लगाइएको छ।












प्रतिक्रिया