काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा. शेखर कोइरालाबीच शुक्रबार चुनदेवीमा संवाद भएको छ।
दुईजना नेताहरूबीच करिब १ घण्टा लामो संवाद भएको छ। उक्त वार्तामा पार्टी एकताबारे दुई नेताहरूबीच छलफल भएको हो।
तर दुई नेताबीच छलफल हुँदै गर्दा देउवा र तत्कालीन उपसभापति पूर्णबहादुर खड्का कांग्रेसको पन्ध्रौँ महाधिवेशन रोक्न मागसहित शुक्रबार नै सर्वोच्च अदालत पुगेका छन् ।
देउवासँगको छलफलका क्रममा कोइरालाले सभापति गगन थापासँग संवाद भइरहेको खुलाए । तर देउवाले आफू नेपाल आएपछि कुनै ढंगले थापा पक्षले संवाद नै नगरेको बताए ।
गगनले आफूसँग स्वास्थ्य अवस्थाबारेमा पनि नसोधेको गुनासो कोइरालासमक्षा गरेका थिए । गत भदौ २४ गते जेन-जीका नाममा बूढानीलकण्ठस्थित निवासमै नराम्रोसँग कुटिँदा पनि गगनले एक शब्द नबोलेको गुनासो देउवाको छ । अहिले साउन २८ मा नेपाल फर्केपछि पनि गगनले स्वास्थ्यबारे कुनै सोधीखोजी नगरेको देउवाले बताएका छन् ।
दुई नेताहरूको भेटवार्तामा पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै अदालत गएको विषयमा पनि छलफल भएको छ।
सर्वोच्च अदालत जाने कुरामा शेखरले भने धारणा बनाइनसकेको जानकारी गराएका थिए। ‘अदालत जाने विषयमा मैले धारणा बनाइसकेको छैन। म त हिजो पनि कांग्रेस एक भएर जाऊँ भन्ने मान्छे हो, आज पनि त्यही भन्छु’, उनले भने, ‘कसरी हुन्छ समस्या समाधान गरेर जाऊँ । अदालतले विवाद सल्टाउनुअघि कांग्रेस एक भएर जाओस् भन्ने मेरो माग यथावत छ।’
देउवाले भने अहिलेसम्म गगनहरूले संवाद नै नगरेकाले उनीहरू आफ्नै दिशामा अगाडि बढ्न खोजेको उल्लेख गरेका थिए। ‘म नेपाल आएको एक साता बितिसकेको छ । अहिलेसम्म गगनहरू संवादका लागि तयार भएनन् । यति भएपछि उनीहरू एक्लै अगाडि बढ्न खोजिराखेका छन्’, देउवाले भनेका थिए, ‘मैले भेटौँ-भेटौँ भन्ने कुरा होइन। उनीहरू नेता भएका हिसाबले भेटौं भन्नुपर्ने हो ।’
दुई नेताहरूबीच गगन थापा पक्ष एक्लै अगाडि बढ्न खोजेको स्पष्ट भएको विश्लेषण पनि भएको छ। कोइरालाले अदालतको निर्णयपछि कसरी अगाडि बढ्ने भन्नेबारे आफ्नो धारणा आउने बताउँदा देउवाले १५ औँ महाधिवेशन रोक्न शुक्रबार नै सर्वोच्च जाने उल्लेख गरेका थिए ।
यता शेखरुका स्वकीय सचिव दिनेशचन्द्र थपलिया भने दुई नेताहरूबीच पार्टी एक बनाउने विषय र विकल्पमा विस्तृत छलफल भएको बताउँछन्।












प्रतिक्रिया