काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई महिनापछि पदाधिकारीमा नियुक्ति गरेका छन् । उनले केही जनसंगठन विभागका प्रमुख पनि तोकेका छन्।
रविले आफ्ना विश्वास पात्र प्रमोद न्यौपानेलाई पाखा लगाएर पार्टी प्रवक्ताको जिम्मेवारी पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई जिम्मेवारी दिएका छन्।जनसंगठन हाँक्ने जिम्मेवारी पाएका प्रमोद न्यौपाने सांसद छैनन् ।
रविले अर्का विश्वास पात्र दीपक बोहरालाई पनि पाखा लगाउँदै जगदीशलाई प्रवक्ताको जिम्मेवारी दिएको निर्णयले धेरैलाई चकित बनाएको छ।
असार ७ गतेदेखि चितवनमा भएको महाधिवेशनमा जगदीशले महामन्त्रीमा उठ्ने निर्णयका साथ उम्मेदवारी दिएका थिए । तर त्यसपछि लामिछानेसँगको संवादबाट उनी फिर्ता भए ।
विगतदेखि नै रवि र जगदीशको सम्बन्ध राम्रो थियो । त्यहीकारण जगदीशलाई पार्टीमा समेट्नुपर्ने आवाज उठेपछि जिम्मेवारी दिइएको हो। यसअगाडि उनी सञ्चारमन्त्री बन्ने चर्चा थियो । तर वालेन्द्र शाहले विक्रम तिमल्सिनालाई सञ्चारमन्त्री बनाए।
रविले उपसभापतिमा सोबिता गौतमसँग हारेकी तोसिमा कार्कीलाई जनस्वास्थ्य संगठनको प्रमुख जिम्मेवारी दिएका छन्। पूर्वकोषाध्यक्ष लिमा अधिकारीलाई अर्थ विभाग प्रमुखमा बनाउँदा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी पाएका छन् ।
समायोजनबाट आएका धेरै नेताहरू पदाधिकारीमा समेटिएनन् । तर तीनजना पदाधिकारी अझै पनि टुङ्गो लगेको छैन। जनसंगठन पनि पूर्ण नभएकको अवस्थामा रविले उनीहरूलाई समेट्न सक्ने सम्भावना छ ।
छ पदाधिकारी महाधिवेशनबाट
राष्ट्रिय स्वतन्त्र पार्टीको असार ७ देखि १२ गतेसम्म भएको प्रथम महाधिवेशनमा ६ जना पदाधिकारी निर्वाचन प्रक्रियाबाट निर्वाचित थिए। लामिछाने सभापतिमा निर्विरोध निर्वाचित हुँदा साउन १३ गते वालेन्द्रलाई वरिष्ठ नेतामा अनुमोदन गरिएको थियो।
महाधिवेशनबाट उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी थिइन्। अर्का उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भए । यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित हुँदा सह-ममन्त्रीमा निशा डाँगी, हरि ढकाल र वालेनका राजनीति सल्लाहकार अशिम शाह निर्वाचित भए ।
बालेनले दिएनन् नाम
रास्वपाका एक महामन्त्री र एक उपसभापति चयन प्रक्रिया अझै रोकिएको छ। प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन पक्षबाट नाम नपुगेकाले मनोनीत हुने काम रोकिएको हो।
रास्वपाको पदाधिकारी नियुक्ति गर्न अझै तीन पद खाली छ। एक महामन्त्री, एक उपसभापति र एक सह-ममन्त्रीको मनोनयन रोकिएको छ। बालेन पक्षबाट नाम नआएको र समायोजन प्रक्रिया टुंग्याउन नपाएकोले मनोनयन रोकिएको हो ।
बालेन पक्षलाई एक उपसभापति, एक महामन्त्री र एक सह-महामन्त्री दिने सम्भावना छ। अहिलेसम्म यो विषयमा दुवै पक्ष मौन छ। गत साउन २३ गते पनि सभापति लामिछानेले बालेनलाई भेटेर नाम पठाउन भनेका थिए ।
तर बालेनले नाम नपठाएपछि रविले आफूपक्षका नेताहरू समेटेका हुन् । पूर्वविवेकशील साझाका रञ्जु दर्शना र प्रकाशचन्द्र परियार लगायतलाई पनि पदाधिकारीमा समेट्ने चर्चा थियो तर समेटिएको देखिँदैन ।
सुरूमा बालेनका भित्रिया भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी थियो। तर अहिलेसम्म उनीबारे निर्णय भएको छैन। तर शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट उनी केन्द्रीय सदस्य मनोनीत भए।
यस्तै उपसभापतिमा सुनिल लम्सालको नाम थियो, उनी पनि केन्द्रीय सदस्य थिएनन् । बैठकले उनलाई पनि केन्द्रीय सदस्य बनाएको छ । तर उनले उपसभापतिको जिम्मेवारी दिएन । जेन-जी अभियान्ता पुरुषोत्तम यादवलाई सह-ममन्त्री बनाउँदा अझै एकजनालाई मनोनीत गर्न बाँकी छ।
नमिता यादव र सुरेन्द्र चौधरी सह-प्रवक्तामा मनोनित हुँदा पूर्वसहकोषाध्यक्ष बसुमाया तामाङ त्यसैमा दोहोरिएकी छन्। तामाङ २०७९ मा पार्टी दर्ता गर्दा २१ सदस्यत्र पर्थिन्।
बालेन पक्षका नेताहरूले नाम नपाठएको विषयमा अझै अलमल छ। ‘प्रधानमन्त्रीज्यूसँग सभापतिको कुरा भएको थियो, उहाँहरूले के गर्नुभयो, थाहा भएन। हामी पनि चकित परेका छौँ।’
गत साउन १३ गते बसेको केन्द्रीय कमिटी बैठकमै रविले पदाधिकारीसहित सचिवालय र केही केन्द्रीय सदस्य थप्ने प्रयत्न गरेका थिए। तर बालेन पक्षले एकैचोटि गरौँ भनेपछि रोकिएको थियो ।
बालेन मुस्ताङतिर
आफ्नो पक्षका नेताहरूको नाम नपठाई बालेन मुस्ताङतिर झरेका छन्। उनी अहिले पोखरामा पुगेका छन्। त्यहाँबाट उनी हेलिकप्टरमा मुस्ताङ जाँदैछन् । उनी यो बैठकमा सहभागी नभएपछि शंका-आशंका भएका छन्।
२०८२ पुस १३ गते रास्वपामा प्रवेश गरे पनि बालेनले पार्टीका गतिविधिमा सहभागी हुने चासो दिएका छैनन् । रविले पार्टीका काम अगाडि बढाउँदा उनलले सामाजिक सञ्जालमा एक्लिएको भन्दै प्रतिक्रिया दिने गरेका थिए ।
उनले यसबारे कस्तो प्रतिक्रिया लेख्छन्, हेर्न बाँकी छ। उनी शुक्रबार रास्वपाको बैठक छल्दै निजी भ्रमणका नाममा श्रीमती सविनासहित मुस्ताङतिर हिँडेका छन्।












प्रतिक्रिया