केन्यामा हात्ती मर्न थालेपछि चिन्ता « Khabarhub

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा हात्ती मरेपछि वन्यजन्तु संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् । अधिकांश हात्तीमा आंशिक पक्षाघातसहित समान लक्षण देखिए पनि मृत्युको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन । किमाना क्षेत्रमा मङ्गलबार ११ वर्षीय भाले हात्ती ‘चङ्गेज खान’ पनि बिरामी अवस्थामा भेटिएको थियो ।

उठ्न नसक्ने र सास फेर्न कठिनाइ भइरहेको अवस्थामा पशुचिकित्सकले ग्लुकोजको इन्जेक्सन दिए पनि उसको मृत्यु भयो । केन्या वन्यजन्तु सेवा (केडब्लुएस) ले जुलाईको अन्त्यमा हात्तीका शवमा साइनाइडको उच्च मात्रा भेटिएको जनाएको थियो । त्यसका आधारमा नजिकका खेतमा प्रयोग हुने कीटनाशकबाट विषाक्तता भएको हुन सक्ने आशङ्का गरिएको थियो ।

तर स्थानीय अधिकारी र वन्यजन्तु विशेषज्ञले यसमा प्रश्न उठाएका छन् । उनीहरूका अनुसार विषाक्तता भएको भए हात्तीका शव खाने गिद्ध, हाइना र अन्य सफाइकर्ता जनावरमा पनि असर देखिनुपर्ने थियो । काजियाडो काउन्टीका अम्बोसेली इकोसिस्टम व्यवस्थापक जोएल न्यिकाले अन्य जनावर नमरेकाले रासायनिक विषाक्तताको सम्भावना कम रहेको बताए ।

स्थानीय मासाई किसानले पनि विषाक्तताको सम्भावना अस्वीकार गरेका छन् । अगस्ट ७ मा केडब्लुएसले हालसम्मका निष्कर्षले सङ्क्रामक रोगको सङ्केत नगरेको र पर्यटकले भ्रमण जारी राख्न सक्ने जनाएको थियो । तर किमाना रिजर्भमा एएफपीका पत्रकारले एकै दिनमा छवटा हात्तीका शव देखेका थिए ।

केही शव नयाँ थिए भने केही पुराना थिए र ती हात्तीमा पनि आंशिक पक्षाघात देखिएको रेन्जर्सले बताएका छन् । संरक्षणकर्मी तथा वाइल्डलाइफ डाइरेक्टकी प्रमुख पाउला काहुम्बुले कीटनाशक विषाक्तताको सिद्धान्तलाई समर्थन गर्ने पर्याप्त प्रमाण नरहेको बताइन् । केही वयस्क भाले हात्तीसमेत मरेको उनले उल्लेख गरिन् ।

ओल्गुलुलुई सामुदायिक भूमि सञ्चालन प्रमुख प्याट्रिक पापातितीले दोषारोपणभन्दा मृत्युको वास्तविक कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । उनले मृत्युको सङ्ख्या सार्वजनिक तथ्याङ्कभन्दा बढी हुन सक्ने र छिमेकी तान्जानियाका हात्तीमा समेत प्रभाव परेको हुन सक्ने आशङ्का गरे । “यसलाई रोक्नुअघि अझै कति हात्ती मर्नुपर्ने हो ?”, उनले प्रश्न गरे ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ५ : २३ बजे

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन

छठ मनाउन रास्वपा सभापति लामिछाने शनिबार जनकपुरधाम जाने : के छ कार्यक्रम ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन

अल नेपाल र्‍यापिड चेस सुरु, पहिलो दिन कमल र राधिका शीर्ष स्थानमा

काठमाडौँ – प्रथम काठमाडौँ २८ वडाध्यक्ष कप अल नेपाल फिडे