केन्यामा हात्ती मर्न थालेपछि चिन्ता « Khabarhub

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा हात्ती मरेपछि वन्यजन्तु संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् । अधिकांश हात्तीमा आंशिक पक्षाघातसहित समान लक्षण देखिए पनि मृत्युको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन । किमाना क्षेत्रमा मङ्गलबार ११ वर्षीय भाले हात्ती ‘चङ्गेज खान’ पनि बिरामी अवस्थामा भेटिएको थियो ।

उठ्न नसक्ने र सास फेर्न कठिनाइ भइरहेको अवस्थामा पशुचिकित्सकले ग्लुकोजको इन्जेक्सन दिए पनि उसको मृत्यु भयो । केन्या वन्यजन्तु सेवा (केडब्लुएस) ले जुलाईको अन्त्यमा हात्तीका शवमा साइनाइडको उच्च मात्रा भेटिएको जनाएको थियो । त्यसका आधारमा नजिकका खेतमा प्रयोग हुने कीटनाशकबाट विषाक्तता भएको हुन सक्ने आशङ्का गरिएको थियो ।

तर स्थानीय अधिकारी र वन्यजन्तु विशेषज्ञले यसमा प्रश्न उठाएका छन् । उनीहरूका अनुसार विषाक्तता भएको भए हात्तीका शव खाने गिद्ध, हाइना र अन्य सफाइकर्ता जनावरमा पनि असर देखिनुपर्ने थियो । काजियाडो काउन्टीका अम्बोसेली इकोसिस्टम व्यवस्थापक जोएल न्यिकाले अन्य जनावर नमरेकाले रासायनिक विषाक्तताको सम्भावना कम रहेको बताए ।

स्थानीय मासाई किसानले पनि विषाक्तताको सम्भावना अस्वीकार गरेका छन् । अगस्ट ७ मा केडब्लुएसले हालसम्मका निष्कर्षले सङ्क्रामक रोगको सङ्केत नगरेको र पर्यटकले भ्रमण जारी राख्न सक्ने जनाएको थियो । तर किमाना रिजर्भमा एएफपीका पत्रकारले एकै दिनमा छवटा हात्तीका शव देखेका थिए ।

केही शव नयाँ थिए भने केही पुराना थिए र ती हात्तीमा पनि आंशिक पक्षाघात देखिएको रेन्जर्सले बताएका छन् । संरक्षणकर्मी तथा वाइल्डलाइफ डाइरेक्टकी प्रमुख पाउला काहुम्बुले कीटनाशक विषाक्तताको सिद्धान्तलाई समर्थन गर्ने पर्याप्त प्रमाण नरहेको बताइन् । केही वयस्क भाले हात्तीसमेत मरेको उनले उल्लेख गरिन् ।

ओल्गुलुलुई सामुदायिक भूमि सञ्चालन प्रमुख प्याट्रिक पापातितीले दोषारोपणभन्दा मृत्युको वास्तविक कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । उनले मृत्युको सङ्ख्या सार्वजनिक तथ्याङ्कभन्दा बढी हुन सक्ने र छिमेकी तान्जानियाका हात्तीमा समेत प्रभाव परेको हुन सक्ने आशङ्का गरे । “यसलाई रोक्नुअघि अझै कति हात्ती मर्नुपर्ने हो ?”, उनले प्रश्न गरे ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : २३ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका