उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न « Khabarhub

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रतर्फ प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा छ दिनअघि सम्पन्न गरेका छन् । अभ्यास अवधि घटाउनु तनाव कम गर्ने अमेरिकी प्रयासका रूपमा हेरिए पनि उत्तर कोरियाले यसलाई वार्तामा फर्किने पर्याप्त सङ्केत मानेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यासमा उल्लेख्य कटौती गर्न निर्देशन दिएका थिए ।

उनले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको राम्रो सम्बन्ध र इरानमा भएको युद्धमा दक्षिण कोरियाले अमेरिकालाई समर्थन नगरेको अवस्थालाई अभ्यास कटौतीको कारण बताएका थिए । तर किम जोङ–उनकी बहिनी किम यो जोङले अभ्यासको अवधि र आकार घटाउँदैमा त्यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ परिवर्तन नहुने बताएका थिए । त्यसको भोलिपल्ट उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो ।

अमेरिकी प्यासिफिक कमान्डले क्षेप्यास्त्र प्रहारबाट अमेरिकी भूभाग वा सहयोगीलाई तत्काल खतरा नपरेको जनाएको छ । यसबीच किम यो जोङको वक्तव्यले ट्रम्प र किम जोङ–उनबीच वार्ता पुनः सुरु हुने सम्भावनाबारे देखिएको आशा कमजोर बनाएको छ । सन् २०१९ मा आणविक वार्ता असफल भएपछि उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम आधुनिकीकरणलाई तीव्र बनाएको छ ।

साथै युक्रेन युद्धका क्रममा रुससँग सैन्य सहकार्य विस्तार गरेको छ । रुसलाई गोला–बारुद र सैनिक सहयोग दिएबापत प्योङयाङले आर्थिक तथा सैन्य सहयोग प्राप्त गरिरहेको विश्लेषण गरिएको छ । यद्यपि किम यो जोङले तुलनात्मक रूपमा संयमित भाषा प्रयोग गर्दै आफ्ना भाइ र ट्रम्पबीचको ‘उत्कृष्ट’ सम्बन्धको उल्लेख गरेका छन् । यसले उत्तर कोरियाले वार्ताको ढोका पूर्ण रूपमा बन्द नगरेको र भविष्यमा आणविक शक्तिका रूपमा मान्यता तथा प्रतिबन्ध राहतजस्ता अमेरिकी सहुलियत खोज्न सक्ने सङ्केत गरेको विश्लेषकहरूको भनाइ छ ।

सियोलस्थित इवा विश्वविद्यालयका प्राध्यापक लेइफ–एरिक इस्लेले उत्तर कोरियाले वर्तमान रणनीतिक अवस्थाको उपयोग गर्दै अमेरिकाबाट थप आर्थिक तथा प्रतिष्ठासम्बन्धी लाभ लिन खोज्न सक्ने बताए । उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राध्यापक किम डोङ–युबले भने व्यक्तिगत सम्बन्धले तत्काल अमेरिका–उत्तर कोरिया सम्बन्ध परिवर्तन गर्न नसक्ने प्योङयाङको धारणा देखिएको बताए ।

किम यो जोङले ट्रम्पले किम जोङ–उनसँग वार्ताका लागि गरेको आग्रहको जवाफ प्राप्त भएको दाबी अस्वीकार गर्नुभएको छ । यस वर्ष किम जोङ–उनसँग भेट गर्ने सम्भावनाबारे सोध्दा ट्रम्पले आफूले उनसँग भेट गर्ने बताएका थिए । उत्तर कोरियाली सम्भावित आक्रमणको सामना गर्ने तयारीका लागि अमेरिका र दक्षिण कोरियाले सञ्चालन गर्ने प्रमुख वार्षिक अभ्यासमध्ये ‘उल्ची फ्रिडम सिल्ड’ एक हो । यस पटक अभ्यास अवधि घटाइएकाले दुई देशको संयुक्त सैन्य तयारी र प्रतिरोध क्षमताबारे भने बहस बढेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ७ : ३७ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’