अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन « Khabarhub

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार अन्तरिक्षमा विभिन्न बाली उत्पादनसम्बन्धी प्रयोगले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा खाद्य बाली उत्पादन गर्ने आधार तयार गरेको छ।

चीनको अन्तरिक्षयात्री केन्द्रका अनुसार अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायत विभिन्न बाली हुर्काइँदै आएको छ। हालै उत्तरी चीनको थियानजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङसम्बन्धी सम्मेलनमा शेनझोउ–२१ अभियानका अन्तरिक्षयात्री झाङ होङझाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए।

चीनमा दीर्घकालीन मानव अन्तरिक्ष उडानको चरण सन् २०२१ को अक्टोबरदेखि सुरु भएको थियो। त्यस क्रममा शेनझोउ–१३ अभियानका अन्तरिक्षयात्री झाइ झिगाङ, वाङ यापिङ र ये गुआङफुले चीनको अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल ‘थियान्हे’ मा प्रवेश गरेका थिए।

चीनको अन्तरिक्षयात्री केन्द्रका विज्ञ बियान छियाङका अनुसार लामो समयसम्म अन्तरिक्षमा मानव बसोबास गराउन पृथ्वीबाट खाद्यान्न, पानी र अन्य आवश्यक सामग्रीको आपूर्तिमाथिको निर्भरता घटाउनु आवश्यक छ।

यसका लागि चीनले नियन्त्रित पारिस्थितिक जीवन–समर्थन प्रणाली विकास गरिरहेको छ। यस्तो प्रणालीमा बन्द तथा नियन्त्रित वातावरणभित्र हावा, पानी र खाद्य पदार्थको पुनर्चक्रण तथा पुनःउत्पादन गरिन्छ। यसको दीर्घकालीन उद्देश्य अन्तरिक्षमा मानिसका लागि आवश्यक जीवनोपयोगी स्रोतहरू सकेसम्म त्यहीँ उत्पादन गर्नु हो।

हाल अन्तरिक्ष केन्द्रमा वनस्पति हुर्काउन दुई प्रकारका प्रणाली सञ्चालनमा छन्। एउटा प्रणालीमा बिरुवा हुर्काउन विशेष माध्यम प्रयोग गरिन्छ भने अर्कोमा बिरुवाको जरासम्म पोषक तत्त्वयुक्त पानी वा घोल पुर्‍याउने हावामा आधारित प्रविधि प्रयोग भइरहेको छ।

यी प्रयोगबाट वैज्ञानिकहरूले अन्तरिक्षमा बिरुवा हुर्काउने, खाद्य बाली उत्पादन गर्ने तथा भविष्यमा मानिसको दीर्घकालीन बसोबासका लागि आवश्यक जीवन–समर्थन प्रणाली विकास गर्ने अनुभव प्राप्त गरिरहेका छन्।

सन् २०२५ मा अझ प्रभावकारी हावामा आधारित बिरुवा उत्पादन प्रणाली अन्तरिक्षमा पठाइएको थियो। त्यसपछि गहुँले पहिलोपटक अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको थियो। पहिलो उत्पादनबाट प्राप्त बीउ प्रयोग गरी दोस्रो चरणमा लगाइएको गहुँ पनि राम्रोसँग हुर्किरहेको र कटानीको नजिक पुगेको बियानले बताएका छन्।

अन्तरिक्षमा गहुँले पूर्ण वृद्धि चक्र पूरा गर्नु चीनको अन्तरिक्ष कृषि अनुसन्धानमा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसबाट भविष्यमा पृथ्वीबाट बीउ तथा खाद्यान्न निरन्तर पठाउनुपर्ने निर्भरता घटाउन सकिने सम्भावनाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई थप आधार मिलेको छ।

चीनले आफ्नो चन्द्र अन्वेषण कार्यक्रम अघि बढाउँदै भविष्यमा चन्द्रमामै ‘तरकारी बगैँचा’ स्थापना गर्ने योजनासमेत अघि सारेको छ। योजना सफल भएमा चन्द्रमामा लामो समयसम्म रहने अन्तरिक्षयात्रीका लागि केही ताजा खाद्य पदार्थ त्यहीँ उत्पादन गर्न सकिने सम्भावना हुनेछ।

‘स्वर्गीय दरबार’ अर्थ लाग्ने चीनको अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ अहिले दीर्घकालीन मानव बसोबासका लागि प्रयोग भइरहेको छ। चीनले अन्तरिक्षयात्रीलाई लामो अवधिसम्म अन्तरिक्षमा राख्ने योजनासमेत अघि बढाइरहेको छ।

यससँगै चीनले सन् २०३० मा मानवसहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेर चन्द्र अन्वेषण कार्यक्रम अघि बढाइरहेको छ। अन्तरिक्षमा बाली उत्पादनसम्बन्धी भइरहेका प्रयोग भविष्यमा चन्द्रमा तथा अन्य गहिरो अन्तरिक्ष अभियानमा खाद्य उत्पादन र जीवन–समर्थन प्रणाली विकासका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ०८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका