एजेन्सी – इटालीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने तथा कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ।
प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार रोममा आयोजित ‘फेनिक्स’ नामक युवा कार्यक्रममा बोल्दै प्रस्तावित कानुनी व्यवस्था छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने बताइन् । प्रस्तावित व्यवस्थामा एकीकरणमा कठिनाइ देखिएका विदेशी विद्यार्थीका अभिभावकले इटालियन भाषा सिक्नुपर्ने प्रावधानसमेत राखिने उनले जानकारी दिइन् ।
इटालीमा भविष्य निर्माण गर्न आउने व्यक्तिले इटालियन भाषा र संस्कृतिका साथै देशका नियमको सम्मान गर्नुपर्नेमा जोड दिँदै मेलोनीले विद्यालयमा लैङ्गिक समानता र प्रभावकारी एकीकरणलाई प्राथमिकता दिनुपर्ने बताइन्।
विद्यालयमा अनुहार ढाक्ने पोसाक प्रतिबन्धको बचाउ गर्दै उनले कुनै पनि परम्पराका नाममा युवतीलाई आफ्नो अनुहार लुकाउन बाध्य पार्न नहुने बताए। ‘लैङ्गिक समानता गैरसम्झौतायोग्य छ’, उनले भनिन्।
अनुसन्धान संस्था फोन्डाजियोन आइएसएमयूका अनुसार इटालीका विद्यालयमा करिब नौ लाख ३० हजार गैरइटालियन नागरिक विद्यार्थी अध्ययनरत छन्। यो कुल विद्यार्थी सङ्ख्याको ११.६ प्रतिशत हो। सरकारले प्रत्येक कक्षामा विदेशी विद्यार्थीको अधिकतम सङ्ख्या भने अझै निर्धारण गरेको छैन।
प्रधानमन्त्री मेलोनीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा रहेको बहुविकल्पीय प्रश्न प्रणाली हटाइएको पनि जानकारी दिनुभयो। नयाँ व्यवस्थाले विश्वविद्यालयमा अध्ययनका अवसर विस्तार गर्ने उनको भनाइ थियो।













प्रतिक्रिया