डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी « Khabarhub

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

वार्षिक १५ लाखसम्म आम्दानी


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् । बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उनले व्यावसायिक सागसब्जी खेती गर्दै आएकी छन् । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी र विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकी तुलसालाई बिहान ४ः०० बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन ।

‘आफ्नै माटोमा मेहनत गर्न सक्यो भने पैसा पनि यहीँ फल्दोरहेछ’, बुढाथोकी भन्छिन्, ‘ढङ्ग पुर्‍याएर मेहनत गर्ने हो भने सरकारी जागिरभन्दा तरकारी खेती निकै जाती ।’

उनको परिवारका अन्य सदस्य पनि खाली छैनन्। श्रीमान् सरकारी सेवामा छन् भने ससुरा पनि सरकारी सेवाबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुन्। खनालको परिवारले सागसब्जी खेतीसँगै करिब ८० रोपनी क्षेत्रफलमा धान खेती पनि गर्दै आएको छ । धानखेतीको जिम्मेवारी ससुराले सम्हाल्दै आएका छन् भने तुलसाले मुख्य रुपमा सागसब्जी खेतीको व्यवस्थापन गर्छिन्। श्रीमान् सरकारी सेवामा रहे पनि बिहान–बेलुका सागसब्जी खेतीमा सहयोग गर्छन् ।

सागसब्जी खेतीका लागि दुई जना गाउँकै महिलालाई स्थायी कामदारका रुपमा जिम्मेवारी दिइएको छ ।  उनीहरूलाई मासिक १८ हजार पारिश्रमिक दिने गरिएको छ । कामको चापअनुसार थप श्रमिक पनि बोलाउने गरिएको छ । 

त्यस्तै, बोलाइएका श्रमिकलाई कामको प्रकृतिअनुसार दैनिक ५०० देखि एक हजार ५०० सम्म दिने गरिएको तुलसा बताउँछिन्। बुढाथोकी परिवारले करिब १६ वर्षअघि १२–१५ वटा टनेलबाट व्यावसायिक सागसब्जी खेती सुरु गरेकी थिइन् । सृजनशील कृषि फर्म दर्ता गरी सञ्चालन गर्दे आएकी उनले विसं २०७६ मा प्रदेश सरकारबाट पाँच लाख अनुदान प्राप्त गरिन्। त्यसपछि थप टनेल विस्तार गरी ५० वटा पुर्‍याएको उनले बताइन्। 

‘सुरुमा डेढ–दुई लाख रुपैयाँबाट खेती थालेका थियौँ’, उनले भनिन्, ‘यहाँबाट भएको कमाईलाई फेरि यही व्यवसायमा थप्दै र लगानी गर्दै जाँदा अहिले करिब रु ८० लाख पुगेको छ ।’

हटियामा एक पटकमा १० हजारदेखि ४० हजारसम्मको सागसब्जी बिक्री हुने गरेको तुलसा बताउँछिन्। उनले हप्तामा दुई पटक सागसब्जी बजारमा बिक्रीका लागि लैजाने गर्छन्। 

विशेषगरी बेमौसमी सागसब्जीको बजार राम्रो रहेको उनको अनुभव छ । कामदारको पारिश्रमिक, मल, बीउलगायतका खर्च कटाएर वार्षिक करिब रु १५ लाख खुद नाफा हुने गरेको उनी बताउँछिन्। तुलसाका श्रीमान् यसअघि म्याङलुङ बजारमा साइबर सञ्चालन गर्थे। विसं २०६० तिर वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनी विदेशको दुःख र सङ्घर्ष देखेपछि स्वदेशमै केही गर्ने सोच बनाएर फर्किएका थिए । 

त्यसपछि श्रीमान्–श्रीमती मिलेर १०–१२ वटा टनेलमा सागसब्जी खेती सुरु गरेका थिए । विसं २०७० सालयता उनका श्रीमान्ले जिल्ला अस्पताल तेह्रथुममा करार सेवामा काम गर्न थाले भने तुलसाले सागसब्जी खेतीलाई थप विस्तार गर्दै व्यावसायिक रूपमा सञ्चालन गर्न थालिन्।

सागसब्जी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनाका साथै छोराछोरीको शिक्षामा पनि सहयोग पुगेको छ । म्याङलुङ बजार र इटहरीमा घर निर्माण गरिएको छ । छोरी स्नातक तह तेस्रो वर्षमा आइटी इन्जिनियरिङ अध्ययनरत छन् भने छोरा कक्षा १२ मा अध्ययनरत छन् । 

छोराछोरीको शैक्षिक खर्चमा मासिक रु ६०–७० हजारसम्म खर्च हुने तुलसा बताउँछिन्। 

“सागसब्जी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरायसी खर्चसम्म धान्न सहयोग पुगेको छ”, उनी भन्छिन्

म्याङलुङ बजारको टुँडिखेलमा लाग्ने मंगलबार र शुक्रबारको हटियाका लागि उनको टोलबाट मात्रै दुई वटा ट्याक्टरमा सागसब्जी जाने गरेको छ । विगतमा डोकोमा बोकेर बजार पुर्याउनुपर्ने भए पनि पछिल्ला पाँच–सात वर्षयता सडक विस्तार भएपछि सागसब्जी बजारसम्म पुर्‍याउन सहज भएको उनी बताउँछिन्।

बिहान ४ः०० बजे नै खेतमा पुगेर बोटबिरुवाको अवस्था हेर्ने, रोग–किरा हटाउने, उत्पादन टिप्ने र बजार व्यवस्थापन गर्ने तुलसाका लागि कृषि व्यवसाय अहिले आम्दानीको माध्यम मात्र नभएर परिवारको भविष्य निर्माण गर्ने आधार पनि बनेको छ । 

तुलसाको १६ वर्षे कृषि यात्राले रोजगारीका लागि विदेशिनैपर्छ वा सरकारी जागिरमै निर्भर हुनुपर्छ भन्ने होइन, आफ्नै ठाउँमा उपलब्ध माटो, श्रम, सीप र स्रोत–साधनको सदुपयोग गर्न सके अवसरका ढोका खोल्न सकिन्छ भन्ने देखाएको छ । 

उनको सफलताले गाउँमा बाझिँदै गएका जमिनलाई उत्पादनसँग जोड्न सके आम्दानीसँगै रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने सन्देश दिएको छ । 

‘आफ्नै गाउँको माटोमा मेहनत गर्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ’, खनाल भन्छन्, ‘आफ्नै ठाउँमा भएको स्रोत र सीपलाई सदुपयोग गर्न सके परिवारसँगै बसेर काम गर्न र कमाउन सकिन्छ ।’
 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : ३४ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको