काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पर्न सक्ने जोखिमबारे विश्वको ध्यानाकर्षण गराउन बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त समुद्री क्षेत्रमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासागरसम्बन्धी संरक्षकसमेत रहेका ५६ वर्षीय पुघले पौडी खेल्ने क्रममा नजिकै रहेको तेल ट्याङ्करमाथि आक्रमण भएको र विस्फोट भएको प्रत्यक्ष देखेका थिए ।
उनका अनुसार युद्धका क्रममा जहाजमाथि हुने आक्रमणबाट फैलिने तेल तथा रासायनिक प्रदूषणले समुद्री जीव, मुगा चट्टान र म्यान्ग्रोभ वनमा दीर्घकालीन असर पार्न सक्छ । यस्तो प्रदूषण नियन्त्रण र सफाइ गर्न कठिन हुने भएकाले यसको प्रभाव पुस्तौँसम्म रहन सक्ने उनले चेतावनी दिएका छन् ।
पुघले युद्धअघि ओमानी तटमा पौडी खेल्दा सयौँ समुद्री कछुवा देखेको स्मरण गर्दै यसपटकको पौडीका क्रममा डल्फिन र ओस्प्रे चरासमेत देखेको बताएका छन् । यसले हर्मुज जलघाँटी समुद्री जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण क्षेत्र रहेको पुष्टि गर्ने उनको भनाइ छ ।
इरान युद्धका क्रममा दर्जनौँ तेल ट्याङ्कर क्षतिग्रस्त भएका छन् । जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयासस्वरूप इरानले जहाजमाथि आक्रमण तीव्र बनाएको छ । युद्धअघि विश्वभर हुने कुल तेल व्यापारको करिब पाँच भागको एक भाग हर्मुज जलघाँटी हुँदै ओहोरदोहोर हुने गरेको थियो ।
समुद्री वातावरण संरक्षणका लागि चार दशकदेखि सक्रिय पुघले यसअघि उत्तरी ध्रुव, अन्टार्कटिका र विश्वका विभिन्न समुद्री क्षेत्रमा पौडी खेलेर वातावरणीय मुद्दामा ध्यानाकर्षण गराउँदै आएका छन् ।
यसपटकको अभियानमार्फत उनले युद्ध अन्त्य गर्न, हर्मुज जलघाँटी खुला राख्न र युद्धका कारण फैलिएको प्रदूषण सफा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।














प्रतिक्रिया